
कार्तिक ४ काठमान्डौ ।

विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ९२ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ, दर्जनौ घरहरु पुरिएका छन्, २७ जना नागरिक वेपत्ता भएकोे खबर छ, कैयांै घाइते भएका छन् । हजारौं हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भई किसानहरु बिचल्लीमा परेका छन् । यस्तो अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय प्रवक्ता प्रतीकव्दारा बाढी पहिरोका पिडीतहरुप्रति सरकारले यथाशिघ्र उचित र आवश्यक सहयोग गर्न सरकारसँग जोडदार माग गर्दै प्रेस–वक्तव्य प्रकाशित गरिएको छ । प्रेस–वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ :
प्रेस–वक्तव्य
गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण बाढी तथा पहिरोबाट देशभर जन धनको ठुलो क्षति हुन गएको छ । अहिलेसम्म ९२ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ, दर्जनौ घरहरु पुरिएका छन्, २७ जना नागरिक वेपत्ता भएकोे खबर छ, कैयांै घाइते भएका छन् । त्यसमाथि थन्क्याउने बेला भएको हजारौं हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भई किसानहरु बिचल्लीमा परेका छन् । यो बेमौसमी वर्षाले प्राय: देशैभरि विपत्तिको स्थिति पैदा गरेको छ ।
यो वर्षालाई रोक्न त सम्भव थिएन, तर त्यसबारे समयमै व्यापक प्रचार गरेर जनतालाई सचेत गराउन सकेको भए जन, धन र धानबालीको क्षतिलाई धेरै हदसम्म कमगर्न सकिन्थ्यो । इतिहासबाट शिक्षा नलिने र बेमौसमी वर्षाले निम्त्याउन सक्ने विपत्तिबारे समयमै सतर्क नहुने र नगराउने सरकारी कमजोरीका कारण यसपाली जनधनको क्षति धेरै हुन गएको हो । यस प्रकारको सरकारी रवैयाको हाम्रो पार्टी विरोध गर्दछ ।
यस स्थितिमा सर्वप्रथम हाम्रो पार्टी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्काल घाइतेहरुको निशुल्क उपचार गर्न, बेपत्ताहरुको खोजी गर्न, घरबास पहिरोमा परी विचल्लीमा परेकाहरुको अविलम्ब खानपिन तथा बसोबासको व्यवस्था गर्न र धानबाली नष्ट भएका आम किसानहरुलाई क्षतिपूर्ति दिलाउन सरकारसँग जोडदार माग गर्दछ । दीर्घकालीन रुपमा यस प्रकारका प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि राष्ट्रिय नीति निर्माण गरी तदनुरुप अगाडि बढ्न सरकार समक्ष विशेष माग गर्दछ । साथै, बाढी, पहिरो र डुवानका कारण विचल्लीमा परेका आम जनतालाई आवश्यक सहयोग पुर्याउन सम्पूर्ण पार्टी सदस्यहरुलाई विशेष अनुरोध गर्दछ ।
मिति : कार्तिक ४, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)