काठमाडौं । सर्लाहीका कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जाहेरी दर्ता गरेर प्रहरीमा पठाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन जिल्ला इन्चार्ज पौडेलको प्रहरीबाट नियोजित हत्या भएको भन्दै जाहेरी दर्ता भएको हो । पौडेल मुठभेडमा मारिएको दाबी प्रहरीको भए पनि मृतकका परिवारले प्रहरीबाटै हत्या भएको बताउँदै आएको छ । पौडेलको ५ असार ०७६ मा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
मृतककी आमा दुर्गादेवीले लगत्तै जाहेरी दिए पनि प्रहरीले नमानेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले गत १२ असोजमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो ।
बुधबार जाहेरी दर्ता भएको र अनुसन्धानको पहिलो प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताएका छन् ।
प्रदेश २ का तत्कालीन प्रहरी प्रमुख हरि पाल, सर्लाहीका तत्कालीन सिडिओ कृष्णकुमार राउत, तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टर किरण न्यौपाने, सइ सूर्य कार्की तथा पोस्टमार्टम गर्ने चिकित्सक डा. वीरेन्द्रकुमार मण्डलविरुद्ध जाहेरी दर्ता भएको छ ।
त्यस्तै, गोली प्रहारमा प्रत्यक्ष संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह, हवल्दार सत्यनारायण मिश्र र विनोद साहविरुद्ध पनि जाहेरी दर्ता भएको छ । उनीहरू तीनैजनालाई कर्तव्य ज्यान मुद्दा चलाउन दुई वर्षअघि नै राष्ट्रिय मानव अधिकार आयोगले समेत सिफारिस गरिसकेको छ । घटनामा बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको समेत मिलेमतो भएको भन्दै उनीविरुद्ध समेत जाहेरी दिइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत पौडेलको इन्काउन्टर नभई हत्या भएको भन्दै त्यसमा प्रत्यक्ष संलग्न प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा तथा आदेश दिनेलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो । गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह तथा हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो । उनीहरूविरुद्ध कुनै कारबाही भएको छैन ।
स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानी हत्या गरिएको निष्कर्ष आयोगले निकालेको थियो । घटनामा दोहोरो मुठभेड नभएको र आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्थासमेत नरहेकोमा उनीहरूले पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानेर हत्या गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन महानिरीक्षक खनालले विशेष टोलीका रूपमा पठाएका प्रहरीले पौडेललाई गोली हानेका थिए । स्थानीय प्रहरीलाई समेत पछि मात्र त्यसबारे जानकारी दिइएकाले सो घटना थप विवादमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर