आस्विन १९ काठमान्डौ ।
केही दिन अघि नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणले हो टेलिभिजनलाई दिनुभएको थियो । उक्त अन्तर्वार्तातर्फ लक्षित गरी कतिपय सञ्चार माध्यमहरुले नेकपा (क्रान्तिकारी माओवादी) राजतन्त्र व्युँताउन लागि परेको भन्ने सम्मका लाञ्छना लगाएको पाइएकोले त्यसप्रति पार्टी प्रवक्ता प्रतिकद्धारा एक विज्ञप्तिमार्फत त्यस्तो भ्रामक प्रचारवाजीको पूर्ण खण्डन गर्दै आम सञ्चार माध्यमलाई देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर समाचार संप्रेषण गर्न विशेष अनुरोध गर्नु भएको छ । विज्ञप्तिको पूर्णपाठ तल दिइएको छ :

यही असोज १५ गते हाम्रो पार्टीका महासचिव कमरेड किरणले यो हो टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तातर्फ लक्षित गरी कतिपय सञ्चार माध्यमहरुले नेकपा (क्रान्तिकारी माओवादी) राजतन्त्र व्युँताउन लागि परेको भन्ने सम्मका लाञ्छना लगाएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो लाञ्छना एमसीसीको विरोध, भारतीय विस्तारवादी शासकवर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही हाम्रो पार्टीले नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरुको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति हो । हाम्रो पार्टी दलालहरुको अभीष्ट पुरागर्ने उद्देश्यले गरिएको यस्तो भ्रामक प्रचारवाजीको पूर्ण खण्डन गर्दछ र आम सञ्चार माध्यमलाई देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर समाचार संप्रेषण गर्न विशेष अनुरोध गर्दछ । साथै, यस सन्दर्भमा निहित उद्देश्यबाट प्रेरित भएर प्रचारप्रसार गरिएका गलत समाचारबाट होइन उक्त टिभी अन्तवार्ता प्रत्यक्ष रुपमा सुनी–बुझी हाम्रो पार्टी र महासचिव कमरेड किरणप्रति धारणा बनाउन समेत हामी आम नेपाली जनतालाई विशेष अनुरोध गर्दछौं ।
मिति : असोज १९, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)