
म भुइँमा बसेर सहिदको सपना देख्तै थिएँ
एउटा घुर्मेलो कागजमा जनयुद्धको कथा लेख्तै थिएँ
एउटा एउटा गरी शब्द शब्द जोर्दै थिएँ
नयाँ नेपालको एउटा खाका पनि कोर्दै थिएँ
मैले कम्तिमा राजनीतिको ‘र’ जानेको थिएँ
सहिदको सपनालाई आफ्नो सपना ठानेको थिएँ
मेरो शीर ठाडो थियो र मन रमाएको थियो
दाहिने हातले रातो कलम समाएको थियो
आँखामा जनयुद्धको तस्बिर झल्किएको थियो
नसामा रातो रगत छचल्किएको थियो
भावनामा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता बहेका थिए
चेतनामा नेपाल र नेपाली जनता रहेका थिए
मैले मूर्दाशान्ति होइन शान्ति चाहेको थिएँ
टाल्टुले परिवर्तन होइन क्रान्ति चाहेको थिएँ
‘भुइँमा होइन कुर्सीमा बस्न जाउँ’ मेरा मित्रले भने
‘अलिकता शीर निहुर्याउनुपर्छ’ विचित्रले भने
मित्रको निचोड झन् अजबको पो थियो
तर्क र सार अझ गजबको पो थियो
‘कुर्सीमा बसेर आफ्नै कविता लेख्न सकिन्छ,
सहिदका होइन आफ्नै सपना देख्न सकिन्छ’