तिम्रो एकबित्ते उफ्राइले
राजतन्त्र ढलेकै होइन
तिम्रो भाषणले मात्र
राजतन्त्र ढल्थ्यो भने
छत्तीस सालमै ढल्थ्यो साथी
छयालीस सालमै गणतन्त्र आउँथ्यो साथी
दस बर्स
ठीक दस बर्स मैले परिवार र घरबास छोडें
अझै घर फर्केकै छैन
फर्कन्न साथी म फर्कंदै फर्कन्न
देश छोडेर
मेरो सहपाठी सहिदको सपना छोडेर

म अपाङ्ग हुने गरी लडाइँ लडेकै कारण
राजतन्त्रको अन्त्य भो
यदि तिम्रो दुई दिने जुलुसले मात्र
राजतन्त्र ढल्थ्यो भने
एक शताब्दी अघि ढल्थ्यो साथी
दस बर्स
ठीक दस बर्स झापादेखि हुम्लासम्म
कञ्चनपुरदेखि ताप्लेजुङसम्म
आपूm अपाङ्ग बन्ने गरी
मैले जसका विरुद्ध क्रान्ति गरेँ
राजतन्त्र ढले पनि
यो देशमा अझै
अहँ सामन्तवाद ढल्दै ढलेन साथी

मेरो डोल्पामा थोरै आलु फल्छ
मेरो हुम्लामा थोरै फापर र कोदो फल्छ
तिमी कालिकोट चिन्छौं भने
मैले चिताएको देश देऊ
तिमी यदि रुकुम चिन्छौ भने
रुक्मेलीले सोचेको शासन देऊ
म बर्दियाको थरुनी
रोल्पाको मगर साथी बनाएको छु
म दङ्गाली बाहुनी
सल्यानी कामीको चुलोमा रोटी पकाएको छु
म काठमाडौंको नेवार
जाजरकोटी दमाइसँग मित लाएको छु
यदि तिमी जाजरकोट चिन्छौ भने
मैले खोजेको असल संविधान देऊ

सपाङ्ग जिऊसँगै घर छोडेको मान्छे
अपाङ्ग जिऊ लिएर म घर फर्कदै फर्कन्न
अब देश छोडेर
मेरो सहपाठी सहिदको सपना छोडेर
यदि मेरो देशले चिताएको
तिमीले चिताउँदै चिताएनौ भने
फेरि एक पटक
क्रान्तिकी स्वास्नीमान्छे
म अपाङ्ग
उर्लदो भेल हुँदा
तिमी मुढा भएर बग्नेछौ
कतै बगरमा बेवारिसे
तिमी त्यतै त्यतै फ्याँकिनेछौ
तिमीले सोचेको म घर फर्किनेछु
प्रिय नेपालीहरू
अब देश छोडेर
रोल्पा र रुकुमतिर
म घर फर्कदै फर्कन्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार