
६ फागुन २०६२
साँझ ५ बजे (पोखरीछाप, धुर्कोट, नवलपरासी)
‘ड्याङ ड्याङ ड्याङ’ हिजो साँझ रातको मौनतालाई भङ्ग गर्दै एकाएक यसरी विष्फोट भएपछि सतर्क बन्नै पथ्र्यो हामी । केही साथी निद्रामै घुरिरहेका थिए । कोही उठिरहेका थिए झट्पट् । त्यतिखेर साँझको साढेआठ बजेको थियो । हामी डेपुटी कार्यालयको आदेश बमोजिम जङ्गलमै बसेका थियौँ । ससाना बुट्यान र बनमारा झारको बीचमा कुखुराको गुँडजस्तै बनाई सुतेका थियौँ । अघिल्लो रातमा निकै अबेलासम्म हिँड्नुपर्ने भएकाले आँखामा निद्रा उठिरहेको थियो । ‘यति छिटो नसुत्ने’ भनेर सबैलाई भनिएको थियो तर सेन्ट्री र आ-आफ्ना कभर व्यवस्थित बनाइसकेपछि अँध्यारोमा बसेर मात्र पनि के गर्नु र ? साथीहरू स्लिपिङ व्यागभित्र घुसिसकेका थिए । सम्भवतः सबैको आँखा चिम्म भइसकेका थिए । कोही ठाडो, कोही तेर्सो, कोही कोल्टे परेका थिए ।
विष्फोटको आवाजपछि तुरुन्त फोन खोलेर रिपोर्ट बुझाएँ कार्यालयमा ।

‘हेलो, त्यो हाम्रो साथीहरूको मिस्टेक फायर रहेछ ।’ केही बेरपछि खबर आउँछ ।
‘हो र ! छैठौँकाले गर्नुभएछ कि’ मैले भने ।
‘हजुर मिस्टेक भयो, तपाइँहरू जहाँ बस्नुभएको छ त्यहाँबाट अगाडिको डाँडामा जान कति लाग्छ ?’ डेपुटी-कमान्डरले मलाई सोध्दैहुनुहुन्थ्यो ।
‘त्यस्तै हो १५-२० मिनेटजति लाग्छ होला ।’
‘त्यसो भए तपाइँहरू अगाडि बढ्नुस् र ती साथीहरूसँग जोडिनुस् । अनि तल उकालोको मुखैमा पोजिशन सेट गर्नुस् र दुश्मन अगाडि आएमा एक पाइला पनि बढ्न नदिनुस् तपाइँहरूले केहीबेर अड्याउनुभएमा यहाँबाट अर्को सपोर्ट ग्रुप आउनेछ तुरुन्त ।’ उहाँले हामीलाई यसरी फोनबाटै आदेश दिनुभएको थियो ।
भनिएको ठाउँमा पुग्न करिब आधाघण्टा पो लाग्यो । रातको अँध्यारोमा हिँड्ने बेला सोचिएको भन्दा बढी नै समय लाग्यो । बम पड्काउने साथीहरूसँग भेट भयो । कुरो के रहेछ भने मृग आएको रहेछ, साथीहरूले पासभाषा सोध्दा पनि केही जवाफ नआएपछि दुश्मन नै सम्झेर बम चार्ज गर्नुभएछ । यो कार्य अपरिपक्वपना हो, निश्चय पनि ।
हामी बाटो कुरेर बस्यौँ । आर्क बिभाजन गर्यौँ । फोर्स बिन्यास गर्यौँ । राती एक बजेसम्म हावा स्थिर थियो । त्यसपछि सालका पातहरू, ससाना बुट्यानका पात बतासले सिरिरि हल्लाइरह्यो । निकै लाग्यो जाडो । बिहान आउन पनि निकै लामो समय लागेजस्तो भयो ।
बाटोमा एम्बुश लगाएर रातभरि सेन्ट्री गर्यौँ । बिहान फोनबाट सबै स्थिति बुझ्यौँ । हामीले कार्यालयमा रिपोर्ट दियौँ । बिहानको खाना करिब साढेएघार बजे ल्याइपुर्याउनुभयो साथीहरूले । आज भोक असाध्यै लागेको थियो । यो समय पर्खिन पनि साह्रै कष्ट गर्नु पर्यो ।
आज पनि आकाशले तुँवालोको घुम्टो ओढेको ओढ्यै छ । घाम मधुरो छ । देखिन्न टाढाटाढा । आफै त घनाजङ्गलमा छौँ हामी । झन् मौसमले गर्दा सास फेर्नै गाह्रो पर्ला जस्तो । चराचुरुङ्गीको चिरबिरले बनमा अनौठो सङ्गीत सुनिएको थियो । यसले मनमा चञ्चलता पैदा भइरहन्छ ।
‘दुश्मन कता गएछ ?’ कमरेड आस्थाको ग्रुपमा सोध्यौँ ।
‘कता गएछ थाहै भएन आइएनटीले रिपोर्ट पठाएको छैन, पठाएमा खबर गर्नेछौँ’ भनेर जबाफ दिनुभयो । एकदुई बजेतिर सर्दिबास नजिकमा जीपीएमजीको फायर आएपछि थाहा भयो दुश्मन अब तलतिर झरेछ । हामी बसेको भन्दा पश्चिमतिर एक राउण्ड बम पड्केको आवाज आयो । फोनबाटै सोधेँ । साथीहरूकै एक्सिडेन्ट फायर रहेछ त्यो । सैनिक जीवनको सबैभन्दा दुःखद पक्ष हो यो । कम तालिम र व्यक्तिगत असावधानीका कारण यस्ता घटनाहरू भइरहन्छन् ।
धुर्कोटतिर दुश्मन चढेको र अर्को ग्रुप जीपीएमजी पड्केको दिसा दुम्कीबास जाने बाटोतिर झरेछ । आज दिनभरि पोजिशन सेटमै बसाल्यौँ । पालैपालो सेन्ट्री बदलिरहेका थिए साथीहरूले । आइएनटी परिचालन गरेका छौँ नजिकैको क्षेत्रमा । रातको अप्ठ्यारोपनालाई दिउँसो आरामले सुतेर साटो फेर्यौँ ।
साँझ पाँच बजे खाना ल्याइपुर्याउनुभएपछि सबैले खायौँ । बिहान अबेला खाएको कारण खान पनि रुचेन । पानी छैन । टाढा, निकै टाढा छ । दस लिटरको जर्किनको पनीले बाइसजनालाई पुर्याउन निकै अप्ठ्यारो पो भयो । फागुन महिनाको यो सुख्खा याममा पिउन पानी नै पुगेन । भात खाइसकेपछि पातले हात र थाली पुछ्यौँ र थाल झोलामा कोच्यौँ । यो पनि भन्नुपर्छ कि हामी गण्डक क्षेत्र छिरेपछि प्रत्येकले एकेकवटा थाली, गिलास, चम्चा र एक लिटरको जर्किन बोकेका छौँ । सामान्य अवस्थामा एक सेल्टरबाट अर्को सेल्टरमा सर्दा चामल बोक्छौँ । चारपाँच माना अनिवार्य बोक्छौँ । लडाईंंको बेला त्यो सम्भव हुन्न, भोकभोकै हिँड्नु पर्छ, न चामल न पानी । पकाउनको लागि ठूलो भाँडो पनि हाम्रो साथमै रहन्छ । नास्ता, रासन र आवश्यक सामान बोक्न भनी प्रत्येकसँग एकेकवटा कट्टा छ । लडाइँमा आवश्यक परे माटो भरेर गोली छल्ने कभरको रूपमा पनि प्रयोग गर्छौं ।
नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवा जेलबाट मुक्त भएपछि सबभन्दा पहिले अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीसँग भेटघाट गरेका थिए । आज देउवाले माओवादी र दलबीचको १२ बुँदे सहमतिबारे केही बुँदाहरूमा आफ्नो असहमति रहेको कुरा बताएका छन् । देउवा पहिले काङ्ग्रेसभित्रको उदारवादी नेताको रूपमा मानिन्थे । जुनबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए र पार्टी सभापति पनि । त्यसबेला गिरिजा अत्यन्तै फासीवादीका रूपमा अघि सरेका थिए । २०४८ सालको चुनावपछि बहुमतको एक्लौटी सरकार बनायो नेपाली काङ्ग्रेसले । त्यसपछि विशेषगरी ग्रामिण इलाकामा सामन्ती फटाहाको सुरक्षामा पुलिस दमन गरेर निकै ठूलो कदम चालेका थिए । २०५५ सालपछि किलो शेरा टु अभियान लिएर नरसंहार मच्चाएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले ठूलो पार्टी बन्यो र अल्पमतको सरकार बनायो । नौ महिनापछि एमालेको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सत्ताबाट गल्हत्याएपछि देउवा प्रधानमन्त्री बनेका थिए । स्मरणयोग्य यो छ कि ठीक त्यसैबेला प्रधानमन्त्री मनमोहन अधिकारि हेलिकप्टर दुर्घटनामा परी अस्पतालको शै®याबाटै संसदलाई सम्बोधन गरेका थिए । देउवा यस्तो प्रधानमन्त्री भए, जसको पालामा माओवादी आन्दोलनको बिशिष्ट मोड र राष्ट्रिय स्थितिमा विशेष महङ्खव राख्ने घटना घटेका छन् । २०५२ सालमा उनैको पालामा माओवादीको बैधानिक मञ्च संयुक्त जनमोर्चा नेपालको तर्फबाट ४० सुत्रीय माग पेश गरिएको थियो । त्यसको कुनै सुनुवाई नभएपछि सशस्त्र जनयुद्धको शुरुवात भएको थियो । अचम्मको कुरा, उनैको गृहमन्त्री खुमबहादुर खड्काले माओवादी जनयुद्धलाई तीन महिनामै सखाप पार्ने घोषणा गरेका थिए । २०५८ सालमा राजा वीरेन्द्रको बंशनाश हुनेगरी रचिएको दरबार हत्याकाण्डपछिको स्थितिमा देउवा फेरि प्रधानमन्त्री बने र उनैको पालामा माओवादी र सरकारसँग पहिलो औपचारिक वार्ता भयो । वार्ता भङ्ग र सेनामाथिको पहिलो आक्रमण पनि उनैको पालामा भयो । सरकारको सेना परिचालन र सङ्कटकाल पनि उनैको पालामा । राजा ज्ञानेन्द्रको शाही कदमको २०५९ असोज १८ र २०६१ माघ १९ को घटना पनि उनैको पालामा भएको हो । नेपालको बहुदलीय इतिहासमा पालैपालो प्रधानमन्त्री फेरिँदै जाने क्रममा उनको रोल नम्बरमा यस्ता घटना घटे ।
पुँजीवादी विचारधाराका उदारवादी नेता कुनैबेला निकै संयम र सहिष्णु देखिए पनि परिस्थितिको मोडमा निकै असंयमित र असहिष्णुमात्र होइन क्रुर र बर्बर पनि हुन्छन् भन्ने उदाहरण सभापति देउवा नै हुन् । उनी सत्तालिप्तताको खेलमा सामन्तीका गोटी बनेर आफ्नै पार्टी पनि फुटाए । जेहोस् उनको राजनीतिक अडान स्थिर नहुनाले शक्तिमा भक्ति गर्छन् । उनी बिस्तारवादका साँठगाँठमा सरिक हुन्छन् कहिले भने कहिले साम्राज्यवादका डिजाइनमा । अहिले उनी अमेरिकाको रोडम्यापअनुसार अगाडि बढ्न खोजेजस्तो लाग्छ उनको प्रतिक्रिया सुन्दा । १२बुँदे सहमतिप्रति देउवाको प्रतिक्रिया बाहिर आएपछि एमाले नेता झलनाथ खनालको प्रतिक्रिया पनि बाहिर आएको छ, उनले १२बुँदे सहमतिमा शेरबहादुर देउवालाई सशङ्कित नबन्न आग्रह गरेका छन् ।
गत माघमा धनकुटाको सदरमुकामबाट हाम्रो कब्जामा परेका पन्ध्रजना मध्ये एघार जनालाई मुक्त गरिएको छ । दुःखद कुरा, बाँकीरहेका मध्ये क्षेत्रीय सहायक प्रशासक प्रेमप्रसाद सापकोटाको हृदयघातबाट मृत्यु भएको समाचार आएको छ । रेडक्रस र मानवअधिकार सङ्गठनको जिम्मा लगाइएको छ । निश्चय नै यो दुःखद कुरा हो । हाम्रा विरोधीका लागि ‘के निहुँ पाउँ कनिका बुकाउँ’ चाहिँ अवश्य हुनेछ । मानवतावादी खोलमा उनीहरूको कुत्सित स्वार्थ लुकेको हुन्छ ।
आम्मै ! मनमा उठेका भावनाका छालहरूमा तरङ्गित हुँदाहुँदै डायरीका धेरै पाना पो भरिएछ नि । समयले डाँडो काटेछ । मैले अस्ति नै भनिसकेछु कि सबै कुराको फेरो मार्न असम्भव छ । र, पनि केही कुराको सेरोफेरोमा भूमिका बाँध्नु अनिवार्य हुँदोरहेछ ।
आज मैले एउटा कविता पनि लेखेको छु । यो बार्षिकोत्सवको समयमा हामी युद्धमोर्चाको जस्तै यो घना जङ्गलमा बसेको बेला बहिनीको सम्झनामा लेखेको यो कविताको केही वाक्यांश यस्तो छ-
प्रिय बहिनी !
शुभकामना, मधुर सम्झना
अक्षरको माध्यमबाट पठाइरहेछु म
लालसलाम/अभिवादन
शब्दको माध्यमबाट टत्र्mयाइरहेछु म
सुनौलो दिनको यो उपलक्ष्यमा
ऐतिहासिक क्षणको यो परिप्रेक्ष्यमा
टाढा, धेरै टाढाबाट पठाइरहेछु
हो बहिनी, तिमीलाई नै टत्र्mयाइरहेछु ।