
मैले ‘रातो सिपाही’ पढेँ । ‘रातो सिपाही’ जनमुक्ति सेनाको एकजना होनहार योद्धा हो । ऊ निडर, साहसी एवं कुशल र सक्षम लडाकू हो । रातो सिपाही पढेपछि मलाई दसवर्षे भीषण लडाईको जीवन्त अनुभूति भयो । मलाई अहिले पनि कुनै युद्धमोर्चाको प्रत्यक्ष दृश्यावलोकन गरिरहेको छ भन्ने अनुभूति ‘रातो सिपाही’ले गरायो । त्यसैले ‘रातो सिपाही’ जनयुद्धको सजीव चित्रको रुपमा प्रस्तुत भएको छ । ‘रातो सिपाही’ पढेपछि एकपटक सबैलाई भावुक बनाउनेछ, द्रविभूत बनाउनेछ र लडाइँका मोर्चाहरुको घटनाप्रति सम्वेदित बनाउनेछ । साथै यसले युद्धका बेला खाएका बाचा, कबोल र प्रतिवद्धताहरुप्रति एकपटक सोच्न घच्घच्याउने छ ।
‘रातो सिपाही’का लेखक खगेश्वर भण्डारी एक उदाउँदा युवा प्रतिभा हुन् । विद्यार्थी जीवनदेखि नै फुटकर कविता लेख्नमा उत्रिएका खगेश्वर भण्डारी नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका योद्धा पनि हुन् । उनका फुटकर रचनाहरुमा विशेषतः वर्तमान यथार्थताको व्यङ्ग्यपूर्ण अभिव्यक्ति पाइन्छ । सामाजिक परिवेश, सत्ताधारी वर्गका लुट, खसोट, हत्या, आतंक एवम् वर्गीय उत्पीडनलाई व्यङ्ग्यकलाका माध्यमबाट पर्दाफास गर्नु र जीवनको सार्थकता पस्कनु उनका फुटकर कविताका विशेषता हुन् । तर यतिखेर युवा स्रष्टा खगेश्वर भण्डारी फरक विषय, भाव र शैलीमा प्रस्तुत भएका छन् ‘रातो सिपाही’ मार्फत । एउटा गाउँले परिवेशको युवा जनमुक्ति सेनामा भर्ती भएर सर्वहारा वर्गीय मुक्ति आन्दोलनमा समर्पित भएर युद्धमोर्चामा लड्दा लड्दै वीरगति प्राप्त गरेको कथावस्तुलाई खण्डकाव्यका रुपमा रातो सिपाहीलाई प्रस्तुत गरेका छन्, कवि भण्डारीले । तथापी कवि खगेश्वर भण्डारीले रातो सिपाहीमार्फत् खण्डकाव्य रचना गरेर युद्ध साहित्यमा एउटा इँटा थप्न सफल भएका छन् ।

प्रस्तुत कृति ‘रातो सिपाही’ खण्डकाव्य जनयुद्धको क्रममा अग्रभागमा रहेर निर्णायक भूमिका खेलेको जनमुक्ति सेनाको जीवनमा आधारित छ । खण्डकाव्य हुनका लागि एउटा निश्चित चरित्र र परिवेशको आवश्यकता पर्दछ । सीमित कालखण्डमा घटित घटनालाई सिलसिलेबार कथानकरुपमा प्रस्तुत गर्न सकेमा मात्र खण्डकाव्य बन्न सक्छ । ‘रातो सिपाही’ मार्फत् कविले महान् जनयुद्धमा समर्पित योद्धाको जीवनवृत्तलाई सुन्दर ढंगले काव्यका माध्यमबाट पस्कन सफल भएका छन् । जब जनयुद्धले उच्चता प्राप्त गर्दै जान्छ र गाउँ वस्तीहरुमा प्रभाव पार्छ विकासवान् गतिमा अघि बढ्छ तब जनमुक्ति सेनाले विशाल आकार ग्रहण गर्न पुग्छ । यस्तैमा जनमुक्ति सेनाको एउटा पल्टन ग्रामीण वस्तीमा पुग्छ त्यसले गाउँका युवाहरुलाई आकर्षित गर्छ । गाउँमा जनमुक्ति सेनाको लस्कर पसेपछि भयभित हुने एउटा पंत्तिः पनि हुन्छ भने जनमुक्ति सेना गाउँमा आएका कारण शाही सेना आउँछ र भिडन्त हुन्छ भन्ने त्रास पनि गाउँलेहरुमा पर्छ, तर यो कुरा अव्यक्त शैलीमा प्रस्तुत गर्न कवि सफल भएका छन् । जनमुक्ति सेना गाउँ पसेपछि गाउँको एक युवा जनमुक्ति सेनासँगको सम्वादमा आकर्षित हुन्छ । त्यसपछि उसले पनि जनमुक्ति सेनामा भर्ती भएर मुक्तियुद्धमा समर्पित हुन्छ । जनमुक्ति सेना गाउँमा आउँदा सुरक्षित महसुस गर्ने आफ्नो भरोसा, ठान्ने र सुखद् अनुभूति लिने जनताको पङ्क्ति पनि हुन्छ । जनमुक्ति सेनाले जनताको मन कसरी जितेको छ भन्ने कुरा पनि यस खण्डकाव्यमा प्रस्तुत गर्न कवि सफल भएका छन् ।
नौ सर्गमा विभाजित खण्डकाव्यमा जनमुक्ति सेनामा संलग्न एक युवक जगतको जीवनवृत्तलाई राम्रोसँग उल्लेख गरेका छन् । जनमुक्ति सेनाले युद्धमा लाग्नुपर्दाको कारण स्पष्ट गर्दै टीम कमाण्डरले सेनाको जीवनबारे भन्छन्–
नेपाली चुचुरा पहाडि बुकुरा हेर्दै मजाको पुर,
लाल्सेना भनि चिन्दछन् सब मिली घुम्छौं गरीव्का घर ।
वनजंगल् हरिया नदी र छहरा हिम्का चुली घुम्दछौं,
बम् गोला सित खेल्दछौं पिडितका हात्पाखुरा चुम्दछौं ।।
यसरी जनमुक्ति सेनाले लडाइँको औचित्य पुष्टि गरेपछि जनतामा ठूलो उत्साह पैदा हुन्छ । युवाहरु जनमुक्ति सेनामा जाने निश्चय गरेपछि आफ्नो बाबा–आमाबाट विदा माग्दै भन्दछन्–
यो आधा धरती भरी भुवनमा आमाहरु बस्दछौं,
जन्मन्छौं जब है सबै पुरुषले तीम्रो दया चुम्दछौं ।
आमाकै दुधले जवान म भएँ पाप् लाग्छ यो विर्सिए,
छोराको मतलव् विशिष्ट हुन पो रातो सिपाही बने ।।
यसरी जगतले रातो सिपाही हुनुको अर्थ प्रष्ट्याउँछ । यस्ता हजारौं र लाखौं युवाहरु जनयुद्धमा सामेल भए । कोही पार्टी सङ्गठनमा काम गरे भने कोही जनमुत्तिः सेनाका साङ्गठनिक भए । अन्तमा सशस्त्र युद्धमा सेनाकै प्रमुख भूमिका हुने कुरा स्वाभाविक भयो । त्यसैले यस खण्डकाव्यमा जनमुत्तिः सेनाकै भूमिकालाई सजीवरुपमा चित्रण गर्न कवि खगेश्वर भण्डारी सफल भएका छन् ।
जव जगत जनमुक्ति सेनामा सामेल हुन्छ तब उसले आफ्नो कर्तव्य दृढतापूर्वक लागू गर्छ । उसले आफूलाई जस्तोसुकै कठिनाईको पनि सामना गर्ने र बलिदानी हुन पनि तयार पारेर एउटा क्रान्तिकारीको उच्च र फलामे अनुशासनलाई प्रदर्शन गर्दछ । युद्धमोर्चामा सामेल भएपछि दुश्मनको घेरामा पर्दा पनि बहादुरीपूर्वक लडेर सहयोद्धाहरुलाई बचाएको, दुश्मनको घेरामा पर्दा पनि लासको अभिनय गरेर उम्कन सफल भएको घटनाक्रम देखाएर कविले प्रत्यक्ष युद्धमोर्चाको सजीवता देखाएका छन् । दुश्मनको क्याम्पबाट बचेर गाउँमा आउँदा जनताले जगतलाई गरेको आशंका र पार्टीप्रतिको बफादारिता एवम् जगतले जनतासँग गरेको व्यवहार र पछि पार्टी सम्पर्कसम्म पुग्दाका दृष्टान्तलाई अत्यन्तै सजीव र जिवन्तढंगले कलात्मक रुपमा राखेर खण्डकाव्यलाई ऐतिहासिकता दिन सक्नु कविताको सवल पक्ष हो । जगतले भोगेका र जनताले गरेको व्यवहारजस्ता दृष्टान्तहरु युद्धकलामा दर्जनौं भएका छन् । अपरिचित मान्छे गाउँमा पसेर माओवादी योद्धाहरुका विरुद्ध सिआइडी गरेको र ठूलठूला क्षेति भएका थुप्रै घटनाहरु युद्धकालमा पार्टी र जनताले व्यहोर्नु परेको छ । त्यसैले जनताले अपरिचित व्यक्तिलाई गर्ने व्यवहार पनि यस खण्डकाव्यमा सजीव ढंगबाट प्रस्तुत गरिएको छ । तर सचेत जनताको भूमिकालाई पनि असाध्य सुक्ष्म, मार्मिक र सचेततापूर्वक कविले काव्यमा प्रस्तुत गरेका छन् ।
गाउँमा विभिन्न किसिमले जगतलाई शंका, विश्वास आदि गरे तापनि सचेततापूर्वक उसलाई गाउँलेहरुले पार्टी सम्पर्कमा पु¥याउँछन् । पार्टी सम्पर्कमा पुगेपछि जगतले घटनाको सम्पूर्ण वृतान्त सुनाउँदा पनि कमाण्डरको संकीर्णताको बुझाइले गर्दा जगतमाथि आरोप लगाइन्छ । अन्तमा आफू निर्दोष सावित गर्न जगतको सहीद बनेर भए पनि युद्धमा होमिने वाचा गर्छ । नभन्दै गाउँमा कार्यक्रम चल्दै गर्दा दुश्मनले घेरा हाल्न आइपुग्छ । त्यतिबेला जगतले अत्यन्तै कुशलतापूर्वक युद्ध रणनीति तयार गर्छ र आफू घाइते भएर पनि युद्धकला प्रदर्शन गरेर दुश्मनको आधुनिक हतियार खोस्न सफल भई दर्जनौं दुश्मन सेनालाई सोत्तर पार्छ र आफू पनि गम्भीर घाइते हुन्छ । अन्तमा पार्टीलाई बचाई आफू सहीद बन्छ । घाइते अवस्थामा पनि पार्टी र क्रान्तिकै चिन्ता गर्दै भन्दछ–
यो देश्मा खुन चाहियो यदि भने कम्ती नहोस् क्वै यहाँ,
छोराको वलि चाहियो पनि भने हाँस्दै चढून् शूलिमा ।
क्वै छोरा पनि देशको अपशकुन् सोच्दै नसोचून् यहाँ,
धर्तीमा खुन दानको कमि नहोस् यै भन्छु मैले यहाँ ।।
यसरी मृत्युशैयामा छटपटिदा पनि पार्टी युद्धप्रति जुन आस्था प्रकट गर्दछ, त्यसले क्रान्तिकारीहरुलाई गम्भीर बनाउँछ । यो खण्डकाव्य पढ्दैगर्दा जगतको त्याग र समर्पण एवम् क्रान्तिप्रति सचेत चिन्ताभाव देख्दा रोल्पा लिस्ने गामको भिडन्तमा कम्पनी कमाण्डर रोषणले आफूलाई गोली लागि मृत्युसँग सङ्घर्ष गरिरहेको बेला आफ्ना सहयोद्धाहरुलाई अघि बढ्न कासन गर्दै गरेको दृश्य आँखामा झलझल्ती नाचिरहन्छ । अन्तमा कासन गर्दागर्दै रोषणको सहादत भएको थियो र जगतले जस्तै जनयुद्ध जिन्दावाद भनेर नारा लगाउँदै शहादत प्राप्त गरेका थिए ।
अन्तमा, प्रस्तुत खण्डकाव्य पढेपछि जनयुद्धको ताजा र जीवन्त अनुभूति हुन्छ यहाँ कविले सचेततापूर्वक जनयुद्धको घटनाक्रमलाई काव्यका माध्यमबाट पस्केका छन् । जनयुद्धको शुरुवातको क्रममा जनमुक्ति सेनाको निर्माण र त्यसको महिमा, जनतामा पारेको प्रभाव, लडाइँका मोर्चाहरु, दुश्मनको घेराबन्दी र प्रतिरोध, जनमुत्तिः सेनाभित्रको दिनचर्या, सेनाको जीवनभित्र गरिने युवा युवतीहरुको प्रेमसम्बन्ध जस्ता कुरालाई अत्यन्तै सजीव ढंगबाट प्रस्तुत गरिएको छ । त्यसैले कवि माक्र्सवादी विचारप्रति सचेत त छँदै थिए सैन्यकलामा पनि कुशलतापूर्वक आफूलाई प्रस्तुत गर्न सफल भएका छन् । त्यसैले प्रस्तुत खण्डकाव्य जनयुद्धको जीवन्त कथा हो । जनमुक्ति सेनाको जिउँदो इतिहास हो । र, जनयुद्ध सिर्जित नवीन यथार्थवादी धाराको एउटा नौलो र सुन्दर कृति हो यो ‘रातो सिपाही’ खण्डकाव्य । सबैले एकपटक पढ्नैपर्ने कृतिको रुपमा यसलाई लिएको छु मैले । कवि खगेश्वर भण्डारी यस मानेमा धन्यवादका पात्र बनेका छन् । म उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र आगामी दिनमा अझ सवल कृति जन्माउन सकून भन्ने अग्रीम शुभकामना पनि दिन चाहन्छ ।
(खगेश्वर भण्डारीकाे राताे सिपाही खण्डकाव्यकाे भूमिकाबाट)