बैतडीकी किशारी भट्टकाे हत्याकाे छानबिन गरी हत्यारालाई कठाेर सजाय दिन अनेमसंघ (क्रान्तिकारी) काे जाेडदार माग

बैतडीकी किशारी भट्टकाे हत्याकाे छानबिन गरी हत्यारालाई कठाेर सजाय दिन अनेमसंघ (क्रान्तिकारी) काे जाेडदार माग


काठमाडौं  । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बैतडीको दोगडा केदार गाउँपालिका-७, चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याकाे छानबिन गरि हत्याराहरुलाई कठाेरभन्दा कठाेर सजाय दिन जाेडदार माग गरेकाे छ । २४ माघमा एक वक्तव्य जारी गर्दै अनेमसंघ (क्रान्तिकारी)कि अध्यक्ष अम्बिका मुडभरीले यस्ताे माग गर्नु भएकाे हाे ।
वक्तव्यमा बलात्कारजस्ताे मानवता विरुद्धको जघन्य अपराधले नपुगेर किशाेरीकाे बाँच्न पाउने अधिकार समेत खाेसिएकाे भन्दै भट्टका हत्याराहरुलाई कठाेर सजाय दिन जाेडदार माग गरिएकाे छ ।
वक्तव्यमा महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाकाे विराेध गर्दै  यस्ता घटनाहरुकाे प्रतिराेधमा उत्रन अाव्हान समेत गरिएकाे छ ।
माघ २० गते विद्यालयबाट फर्कने क्रममा भट्ट बेपत्ता भएको र बिहीबार साँझ घर नजिकै लखलेक जंगलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या गरिएको घटना नसेलाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि चरम असंवेदशील र जवाफदेही नभएको पुष्टी भएकाे छ ।
मुलुकमा दिनानुदिन मानवताविरोधी यस्ता घटना भइरहनु सरकारको लापरबाही, असंवेदशीलता र मानवअधिकारको संरक्षण गर्न नसक्नुको पराकाष्ठाकाे हो भन्दै यतिखेर चाैतर्फी रुपमा किशाेरी भट्टकाे हत्याकाे विराेध र हत्यारामाथि हदैसम्मकाे कारबाहीकाे माग भइरहेकाे छ ।
यसैबीच, हरिकृष्ण गजुरेल नेतृत्वकाे अखिल (क्रान्तिकारी)ले पनि एक वक्तव्य जारी गरि कक्षा १२ मा अध्ययनरत छात्रा भागिरथी भट्टकाे हत्याकाे छानबिन गरि हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकाे छ ।