कार्यगत एकता : आजको आवश्यकता

प्रकाशित मिति : २०७७ आश्विन ११

- सीपी गजुरेल


कम्युनिष्ट पार्टीको ब्यानरलाई नकाबको रुपमा प्रयोग गर्दै राष्ट्रको आर्थिक, राजनीतिक, सामाजीक, साँस्कृतिक आदि सबै क्षेत्र तहश नहश पार्दै गएको केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार प्रति असन्तोष र आक्रोस चुलिँदो छ । “कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादको तयारी” भन्ने ढाँट, छलबाट सत्तामा आएका यिनीहरुले नेपालको वामपन्थी खेमाका केही मानिसहरु र सर्व साधारण ठुलो भ्रममा पारेका थिए ।

तर, वास्तविकता त उजागर हुनु नै थियो, भयो पनि । यो कथित “कम्युनिष्ट पार्टी” र तिनीहरुले भट्याउने गरेको “समाजवाद”को असली चरित्र पर्दाफास हुन दुई अढाई वर्ष लाग्यो । यतिखेर आइपुग्दा यो सरकार, यसको नेतृत्व गरिरहेको पार्टीका विरुद्ध सर्वत्र आक्रोस छ । सर्बत्र विकल्पको चर्चा चल्न थालेको छ । तर, वास्तविक विकल्प के हुनु पर्छ भन्ने विषयमा अल्मल छ । क्रान्तिकारी शक्तिहरुको आफ्नै सीमाका कारण यो विकल्पको विषयमा सम्पूर्ण जनतालाई बुझाउन सकिरहेका छैनन् ।

वास्तविक क्रान्तिकारी र वामपन्थी शक्तिहरु विभाजित छन् । त्यसैले क्रान्तिको आत्मगत शक्ति कमजोर भएको छ । कुनै एउटा पार्टीले विश्वास जितेर नेतृत्व लिइ हाल्न सक्ने अवस्था पनि देखिएको छैन । यो समस्याको समाधानका लागि “सबै वामपन्थीहरु मिल्नु पर्छ । एकता कायम गर्नु पर्छ” भन्ने आवाज व्यापकरुपमा उठिरहेको छ । ‘पार्टी एकता’, ’संयुक्त मोर्चा’, ‘कार्यगत एकता’का विषय उठिरहेका छन् ।

धेरै कारणहरुले गर्दा कम्युनिष्ट र वामपन्थी शक्ति विभाजित भएको छ । त्यसको बारेमा यो सानो आलेखमा छ्वास्स कुरा उठाउनु भनेको मौरीको गोलामा ढुंगा हान्नु जस्तो मात्र हुने खतरा हुन्छ । त्यसकारण, यहाँ कार्यगत एकताका विषयमा मात्र संक्षिप्तमा केही चर्चा गरिने छ ।

कार्यगत एकताको विषय
कार्यगत एकता सिद्धान्ततः, तत्कालै मिल्न सक्ने विषयमा केन्द्रीत रहेर गरिने एउटा अस्थायी प्रकारको संयुक्त गतिविधि हो । यसमा सबै विषयहरु मिल्नै पर्छ भन्ने शर्त राख्नु हुँदैन । धेरै विषयहरु, नीतिहरु मिल्ने सँग अपेक्षाकृत लामो समय सम्म कार्यगत एकतालाई निरन्तरता दिन सकिन्छ । केही विषयमा मात्र मिल्नेहरुका वीचमा कार्यगत एकता गर्दा त्यो विषय टुङ्गिए पछि, त्यो कार्यगत एकता पनि टुंगिन्छ । यो कुरा हामी धेरैले बुझेका छौं । तर, कार्यगत एकता गर्ने बेलामा, यसलाई व्यवहारमा उतार्ने बेलामा हामीले लागु गर्न सकिरहेका हुँदैनौ । हामीले यसलाई लागु गर्ने प्रयत्न भने गरिरहेका छौं ।

विगतको अनुभव
पहिलो संविधान सभा विघटन गराएर पश्चगामी संविधान बनाउने तिर तत्कालिन एनेकपा लगायतका “मूल प्रवाह”का दलहरु गैसकेपछि हामीले कार्यगत एकताको ढोका खुला गरेका थियौं । ३३ दलबाट सुरु गरेको कार्यगत एकतामा एक पटक लगभग ६५ दलहरुले नाम लेखाए । हामीले संघर्षका कार्यक्रमहरु संचालन गर्ने प्रयास ग¥यौं । तत्कालिन प्रधान मन्त्री सुशिल कोइरालाले संविधान सभाको दोस्रो संस्करणको निर्वाचनका सन्दर्भमा सर्वदलीय बैठक बोलाए, जसमा हामीलाई पनि आमन्त्रित गरिएको थियो । बैठक सुरु भयो । हाम्रो प्रतीक्षा गरेर केही घण्टा बसेको कुरा टि भीहरुले प्रसारण पनि गरेका थिए । त्यहाँ हाम्रो माग सुनवाई नहुने केवल हामीलाई सहिछाप लगाउनका लागि मात्र बोलाइएको भन्ने प्रष्ट भए पछि हामी भाग लिन गएनौं । हामीले कथित दोस्रो संविधान सभाको निर्वाचनलाई वहिष्कार गर्ने निर्णय ग¥यौं । त्यसपछि त धेरै जसो दलका साथीहरुको नामो निशान देखिएन । एउटा दलका प्रमुखले त यति सम्म गरे कि उनले ‘३३ दलीय मोर्चा’को नाममा निर्वाचन आयोगमा दल दर्ता गराएछन् । त्यसपछि जो रहेका थियौं हामीले दोस्रो संविधान सभाको वहिष्कार ग¥यौं । विगतको यो अनुभवले हामीलाई अहिले कसरी अघि बढ्ने भन्ने विषयमा केही मदत पुग्ला भन्ने लाग्दछ ।

आजको स्थिति
तत्कालिन माके एमालेमा विलय भएर डबल नेकपा बन्यो । त्यसले संसदमा बहुमत ल्याएर सरकार बनाइ सकेपछिको अवस्थामा यो सरकारले गरेका जनघात र राष्ट्रघातका विरोधमा संघर्ष गर्ने संदर्भमा फेरी हामीले केही लामो समय सम्म चल्ने गरी कार्यगत एकताको अभ्यास सुरु ग¥यौं । ९ दलका वीचबाट सुरु भएको यो कार्यगत एकता १० दल हुँदै ११ दलको एकतामा पुगेको छ । यसको भर्खरै सम्पन्न बैठकले अन्य तीन संगठनलाई समावेस गर्ने निर्णय भएको छ । त्यसपछि पनि चलेका छलफलबाट अन्य तीन संगठन पनि जोडिने निष्कर्षमा हामी पुगेका छौं । यस प्रकार यो कार्यगत एकता अब १७ दलको एकतामा पुगेको छ । यो कार्यगत एकता केवल एक दुई वटा विषयमा नितान्त अल्प समयका लागि भएको एकता नभएर तुलनात्मक किसिमले लामो समय सम्म जाने प्रकृतिको छ । यसमा सामेल संगठन वामपन्थी प्रकृतीका भएका हुनाले यसको स्तरलाई अझ माथि उठाउने भन्ने वहश पनि चलिरहेको छ । आन्दोलनको कार्यभार पाएको यो कार्यगत एकता प्रति जनताले नियालेर हेरिरहेका छन् । आन्दोलनलाई अघि बढाउने आवश्यकता पुरा गर्न यसले आफुलाई तयार पार्नु आवश्यक छ ।
२०७७ । ६ । ११