महान जनयुद्धलाई फर्केर हेर्दा

प्रकाशित मिति : २०७६ फाल्गुन ५

- वसन्त

विषयको प्रस्तुती
“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंंश गर्दै नयाँ जनवादी राज्यसत्ता निर्माण गर्न जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नाराका आधारमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ०५२ फागुन १का दिन दीर्घकालीन जनयुद्धको थालनी गरेको थियो । आन्तरिक रुपमा सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवादको शोषण एवम् उत्पीडन र बाह्य रुपमा साम्राज्यवाद तथा विस्तारवादको हस्तक्षेपको अन्तगर्नका लागि राजतन्त्रात्मक संसदीय व्यवस्थाका ठाउँमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य सहित सुरु गरिएको महान जनयुद्धले २४वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । नेपालीे कम्युनिस्ट आन्दोलनको ७० वर्षको इतिहासमा यो अवधि क्रान्ति र प्रतिक्रान्ति दुवैका दृष्टिले निकै उत्कर्षको अवधि हुन गयो । यस कालखण्डमा घटेका सम्पूर्ण राजनीतिक घटनाक्रमको समग्र समीक्षा गर्न यो सङ्क्षिप्त लेखमा संभव छैन र यसको उद्देश्य पनि होइन । यहाँ जनयुद्धको थालनीका लागि वैचारिक पूर्वाधारको निर्माण, पार्टीको प्रतिवद्धता र जनयुद्धको ऐतिहासिक थालनी, जनयुद्धको प्रक्रियामा प्राप्त भएका राजनीतिक उपलव्धिहरु, मूल नेतृत्वको वैचारिक विचलन, गद्दारी तथा प्रतिक्रान्ति र प्रतिक्रान्तिको यो समग्र प्रक्रियाबाट क्रान्तिकारीहरुले आउने दिनमा लिनुपर्ने शिक्षा जस्ता विषयमा केन्द्रित रहने छ ।

जनयुद्धको वैचारिक आधार
नेपालमा जनयुद्धको थालनीका लागि पार्टीको वैचारिक आधार सामान्यतः नेकपा (मशाल)को गठन पछि र विशेषतः एकता केन्द्रको निर्माणदेखि तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा तयार भएको हो । जनयुद्धको थालनी, निरन्तरता र विकासका निमित्त विचार निर्माणका दृष्टिले यो अवधि अत्यन्त महत्वपूर्ण रहेको छ । नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही नेकपा (मसाल)का बीचको एकता पछि बनेको पार्टी नेकपा (एकता केन्द्र)मा चलेको भीषण दुई–लाइन सङ्घर्षको प्रक्रियामा जुन गहन सैद्धान्तिक बहस भयो त्यसले पार्टीभित्र क्रान्तिकारीहरुको वैचारिक धरातललाई निकै माथि उठायो । २०४८ सालमा सम्पन्न एकता महाधिवेशनका क्रममा मूख्यतः माओवाद र माओ विचारधाराका बीचको सैद्धान्तिक बहस र दुईथरी सैन्य कार्यदिशा (दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोह)का बीचको पेचिलो दुई–लाइन सङ्घर्षले विचार निर्माण क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको थियो । त्यो सङ्घर्षले क्रान्तिकारीका बीचमा मूख्यतः माओवाद तथा जनयुद्धलाई बुझ्ने सन्दर्भमा एकरुपता कायम गराई क्रान्तिकारी ध्रुवीकरण गरायो र तिनको वैचारिक एकतालाई थप सुदृढ बनायो । एकता महाधिवेशनसम्म आइपुग्दा एकता–सङ्घर्ष–रुपान्तरणका कारण पुरानो एकता भङ्ग भएर नयाँ आधारमा नयाँ एकता निर्माण हुन गयो । यो वैचारिक सङ्घर्षको क्रममा क्रान्तिको गफ हाँक्ने तर संसदीय बाटोको अवलम्बन गरिरहने दक्षिणपंथी विसर्जनवादीहरु नङ्गेझार हुँदै गए । एउटा वाक्यमा भन्नुपर्दा त्यो वैचारिक सङ्घर्षको प्रक्रियामा सच्चा क्रान्तिकारीहरु एकतावद्ध र सुदृढ बन्न गए भने दक्षिणपंथीहरु विखण्डित र थप कमजोर बने ।

पार्टीले महाधिवेशनद्वारा पारित दीर्घकालीन जनयुद्धको कार्यदिशालाई लागु गर्नका लागि वर्ग सङ्घर्षका योजना निर्माण गर्ने प्रक्रियामा पार्टी भित्रको दुईलाइन सङ्घर्षले जनवादी केन्द्रीयताको सीमा नाघेर दुश्मनीपूर्ण रुप लिन थाल्यो । पार्टीको योजना कार्यान्वयनमा बाधा हाल्ने र पार्टीलाई अगाडि बढ्न नदिने स्थिति पैदा भए पछि पार्टीले दक्षिणपंथी विसर्जनवादीहरुलाई पार्टीबाट हटाउनुको विकल्प रहेन । २०५२को पूर्वार्धमा आयोजना गरिएको तेस्रो विस्तारित बैठकले तिनलाई पार्टीबाट हटापछि पार्टीको नाम नेकपा (माओवादी) राखियो र त्यसपछि बसेको के.स.को बैठकले नपाली जनयुद्धको पहिलो योजना निर्माण ग¥यो । यसले नेपाली विशेषताका आधारमा सङ्गठन र सङघर्षका समग्र कामलाई प्रधान र सहायकमा छुट्याई नेपाली जनयुद्ध समग्र युद्धका रुपमा अगाडि बढ्ने कुरा औंल्यायो । मूख्यतः एकता केन्द्र निर्माण भएपछि करीव ५ वर्षको घनिभूत वैचारिक, राजनीतिक, साङ्गठनिक र सङघर्षसम्बन्धीे तयारीको प्रक्रियाबाट गुज्रेर मात्र तात्कालीन नेकपा (माओवादी) जनयुद्धको उद्घोष गर्ने स्थितिमा पुगेको हो । हामीले महान जनयुद्धको विगतलाई फर्केर हेर्दा विचार निर्माण र तयारीको यो कष्टशाध्य अवधिलाई कहिल्यै भुल्न सक्दैनौ र भुल्नु हुँदैन ।

चार तयारीका काम पुरा गरिसकेपछि केन्द्रीय समितिले जनयुद्धको थालनीका लागि मूर्त योजना निर्माण ग¥यो । नेपाली विशेषताका आधारमा देशलाई मूख्य, सहायक र प्रचारात्मक गरी तीन भागमा बाँडेर आक्रमणका निशानाहरुको छनोट भयो । प्र्रहरी चौकी, सुदखोर, कोकाकोला कारखाना र साना किसान परियोजनाका कार्यालयलाई आक्रमणका मुख्य निशाना बनाइए । निशानाको यो छनोटले नेपाली नयाँ जनवादी क्रान्ति क्रमशः प्रतिक्रियावादी राज्यसत्ता, सामन्तवाद, नोकरशाही पुँजीवाद र दलाल पुँजीवादका विरुद्ध लक्षित छ भन्ने कुराको सन्देश दिन्थ्यो ।


प्रतिवद्धता, थालनी र निरन्तरता
जनयुद्ध थालनीको ठीक पहिले पार्टीले सात बुँदे प्रतिवद्धता पारित गरेको थियो । यसले युगान्तकारी महत्व राख्दछ । उक्त प्रविद्धताको पहिलो बुँदामा क्रान्तिकारी हिंसा माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुने र पार्टी जनयुद्धको सिद्धान्तप्रति प्रतिवद्ध रहने प्रतिज्ञा गरिएको छ । दोस्रो बुँदामा राज्यसत्ताबाहेक अरु सबै भ्रम हो भन्ने कुरामा जोड दिइएको छ । तेस्रो बुँदामा नयाँ जनवादी क्रान्तिका लागि सामन्तवाद र साम्राज्यवादका विरुद्ध उठेको हतियार वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्नु भन्दा पहिल्यै विसाउनु सर्वहारा वर्ग र आम जनताप्रति अपराध हुने कुरा गरिएको छ । चौथो बुँदामा पार्टीको समग्र योजना सर्वहारा अन्तर्राष्ट्रियतावादको सिद्धान्तमा आधारित हुने र नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढ्ने कुरा गरिएको छ । पाचौं बुँदामा अन्तर–पार्टी सङ्घर्षलाई द्वन्द्वात्मक भौतिकवादी मान्यताका आधारमा सञ्चालन गर्ने र जनदिशा अवलम्बन गर्ने कुरामा जोड दिइएको छ । छैटौं बुँदामा पार्टी सर्वहारा वर्गको स्वतन्त्र निर्णयको आधारमा चल्ने र कहिल्यै देशी एवम् विदेशी प्रतिक्रियावादी गुटको दवाव, धम्की र प्रलोभनमा नपर्ने कुरा गरिएको छ । र अन्तिम बुँदामा जनयुद्ध जीत र हार, उपलव्धि र क्षतिका चक्रहरु पार गर्दै विजयी बन्ने कुरा गरिएको छ । यो प्रतिवद्धता वस्तुतः माक्र्सवाद–लेनिनवाद–माओवाद, विश्व सर्वहारा वर्ग तथा आम उत्पीडित जनसमुदाय र विश्व सर्वहारा क्रान्ति प्रतिको अगाध विश्वास, त्यसलाई प्राप्त गर्ने दृढ सङ्कल्प र पार्टीको वलिदानी भावलाई व्यक्त गर्ने ऐतिहासिक दस्तावेज थियो ।

उपरोक्त प्रतिवद्धता सहित पार्टीले निर्धारण गरेका निशानाहरुमाथि गरिएको भौतिक आक्रमण र देशैभरी पर्चा, पम्प्लेट, भित्तेलेखन लगायत विविध प्रकारका प्रचार मार्फत् थालनी गरिएको नेपाली जनयुद्ध आफैमा विद्रोहात्मक प्रकारको रहन गयो । जनयुद्धको थालनीले सिङ्गो देशलाई मात्र झकझक्याएन यसले विश्वको समेत ध्यानाकर्षण ग¥यो । वाङ्लादेशका एकजना कमरेडले ०५२ फागुन १ गते जन्मिएकी आफ्नी छोरीको नाम सुचना राखे । बङ्गाली भाषामा सुचनाको अर्थ सुरुआत अर्थात् थालनी भन्ने हुन्छ । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन रिमले नेपाली सर्वहारा वर्ग र उत्पीडित जनताले आफ्नो भाग्यको फैसला आफै गर्न थालनी गरेको जनयुद्धलाई लालसलाम गर्दै बधाई तथा शुभकामना सन्देश पठायो । विश्वभरीका क्रान्तिकारीहरुको तर्फबाट समर्थन र शुभकामना ओइरिन थाले । साम्राज्यवादी तथा विस्तारवादी शासकहरुले कान ठाडा पारे । सङ्क्षिप्तमा भन्नु पर्दा, विश्व कम्युनिस्ट आन्दोलन निकै कमजोर रहेको त्यो अवस्थामा नेपाली जनयुद्धको थालनी वस्तुतः विश्व सर्वहारा क्रान्तिकै उद्घोष जस्तो बन्न गएको थियो । यसमा क्रान्तिकारीहरुले गर्व गनु पर्दछ ।


नेपाली जनयुद्ध जनताको अभूतपूर्व समर्थन, त्याग र वलिदानका कीर्तिमानहरु खडागर्दै अगाडि बढ्यो । थुपै नेपाली छोरा–छोरीहरु सहिद भए । मात्र ७÷८ वर्षको छोटो अवधिमै ६ डिभिजन जनमुक्ति सेनाको गठन र तिनै जनमुक्ति सेना सहित लाखौंको सङ्ख्यामा सङ्गठित भएका जनमिलिसियाको संरक्षणमा देशैभरी अस्थायी जनसत्ताहरुको स्थापना भयो । जनताले आफ्नै सत्ताको प्रत्यक्ष अनुभुति गरे । यो जनयुद्धको सामान्य उपलव्धि थिएन । घरेलु प्रतिक्रियावादी सत्ताको उपस्थिति सदरमुकाममा मात्र सीमित हुन पुगेको थियो । देशको ८० प्रतिशत ग्रामीण भूभागमा माओवादीको नियन्त्रण रहेको छ भन्ने कुरा साम्राज्यवादीहरुले नै स्वीकार गरेका थिए ।

रिमको वैचारिक मूखपत्रका रुपमा स्थापित अङ्ग्रेजी जर्नल “अ वोल्र्ड टु विन”को २९औं अङ्कको “नेपाली क्रान्तिले नयाँ संसारको जन्म दिंदैछ” भन्ने शीर्षकको लेखमा “कुनै समय विदेशी सेनाका लागि भाडाका सिपाही जन्माउने देश भनेर चिनिने नेपाल अहिले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका लाल सेनाहरुलाई जन्मदिने भूमिमा बदलिएको छ” भन्ने सन्देश प्रशारण ग¥यो । यो नेपाली सर्वहारा वर्ग र आम उत्पीडित जनताका लागि गौरवको विषय हो । यसरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र त्यसको नेतृत्वमा सञ्चालित महान जनयुद्ध विश्व सर्वहारा वर्ग तथा आम उत्पीडित जनताका लागि आशा एवम् भरोशाको केन्द्र र सबैखाले संशोधनवादीहरु सहित साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादी शासकहरुका लागि मृत्युको घण्टी बनेर अगाडि बढिरहेका थिए । यो स्थितिले नेपाली महान जनयुद्ध सफलताका प्रचूर संभावनाहरु बोकेर गंभीर चुनौतिहरुको सामना गर्दै अगाडि बढिरहेको थियो । साच्चिकै नेपाल नयाँ जनवादी क्रान्तिको थलो र सर्वहारा क्रान्तिको सन्देश बाहक भूमि बनेको थियो ।

विचलन, गद्दारी र प्रतिक्रान्ति
क्रान्तिको विजयको संभावना बढ्दै र क्रान्तिका चुनौतिहरु थपिंदै जाँदा सामान्यत सिङ्गो पार्टी र विशेषतः पार्टीको मूल नेतृत्व प्रचण्डमा थप दवाव पर्नुृ अस्वाभाविक थिएन । उनको सारसंग्रहवादी चिन्तन, अस्थीर स्वभाव र शिघ्र विजयको मानसिकताका कारण उनले त्यो चुनौतिलाई थेग्न सकेनन् र उनीमा वैचारिक विचलन पैदा भयो । प्रचण्डको कमजोरी बुझेका पार्टी भित्रका दक्षिणपंथीहरु र भारतीय शासकवर्गले उनलाई क्रान्तिकारीहरुसंगको सहकार्यबाट अलग्याउने र दक्षिणपन्थीको प्रभावमा पारी उनलाई घेराहाल्ने योजना बनाए । दिल्लीमा बस्ने प्रचण्डलाई नदेख्ने तर सिलीगुडीमा बस्ने क. किरणलाई अस्पतालबाट गिरफ्तार गर्ने र फर्जी पासपोर्टको सामान्य मुद्दामा क. गौरवलाई वर्षौसम्म थुनामा राख्ने काम भारतीय शासकहरुले किन गरे यसका पछाडिको रहस्य प्राय सबै सचेत नेपालीले बुझेका छन् । यसमा स्वयम् प्रचण्डको भूमिका छ कि छैन र भने कति छ भन्ने कुरा भने अध्ययनको विषय हो । परिस्थितिको दवावमा नेपाली र विश्व सर्वहारा वर्ग तथा आम उत्पीडित जनसमुदायमा भरगरेर नेपालमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन नसकिने निष्कर्षमा पुगेपछि उनले सामन्तवाद तथा साम्राज्यवाद दुवैको अन्त गर्नका लागि लड्ने तिर होइन साम्राज्यवाद र मूख्यतः भारतीय विस्तारवादको ढाडमा टेकेर लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति राजतन्त्रको टाउकोमा हान्ने निर्णयमा पुगे । यो उनको वैचारिक विचलनको स्वाभाविक र अनिवार्य परिणाम थियो ।

यसपछि पार्टीबाट जनता तथा राष्ट्रप्रति विश्वासघात र प्रतिक्रान्तिका जे जति निर्णयहरु उनको नेतृत्वमा भए ती सबै यही वैचारिक विचलनका कारण पैदा भएका परिणाम मात्र हुन् । यद्यपि प्रतिक्रान्तिको जरो ०६० सालमा पारित २१औ शताव्दीको जनवादसम्म पुगेको देखिन्छ, तर औपचारिक रुपमा यसबारे निर्णय लिने सबैभन्दा पहिलो थलो भने कन्द्रीय समितिको चुनवाङ्ग बैठक नै हो । यस बैठकमा विश्व परिस्थिति बदलिएको छ भन्ने नाममा साम्राज्यवाद लेनिन र माओको जमानाको जस्तो नरहेको गलत विश्लेषण, भारत समेत सबै उत्पीडित मुलुकलाई एकल ध्रुवीय अमेरिकी साम्राज्यवादले एउटै हाँडीमा राखेर भुटेको मनोगत व्याख्या गरी भारतीय विस्तारवाद अब हाम्रो प्रधान दुश्मन रहेन भन्ने आशयको विश्लेषण, कार्यनीतिका नाममा लोकतान्त्रिक गणतन्त्रलाई घुमाउरो तरिकाले राजनीतिक रणनीति बनाउने काम, लोकतान्त्रिक गणतन्त्रका लागि प्रत्याक्रमणको सैन्य योजनाको विकासगर्ने लगायतका जुन निर्णयहरु लिइए ती सबै यही वैचारिक विचलनको परिणाम थियो । वस्तुतः चुनवाङ्ग वैठकका यी निर्णयहरु नै नेपाली नयाँ जनवादी क्रान्तिप्रतिको गद्दारी र प्रतिक्रान्तिका लागि वैचारिक तथा राजनीतिक आधारहरु हुन् ।

चुनवाङ्ग बैठकले ग्रहण गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अनुरुप भारतीय शाषक वर्गकोे प्रत्यक्ष संलग्नतामा गरिएको १२ बुँदे सम्झौता, जनयुद्ध अन्तको घोषणा, जनसत्ताहरुको विघटन, ठूलो सङ्ख्यामा रहेको जनमुक्ति सेनाका कमरेडहरुलाई अयोग्यको विल्ला, समायोजनको नाममा जनमुक्ति सेनाको प्रतिक्रियावादी सेनामा विलय, प्रतिक्रियावादी पार्टीहरुलाई एकलौटी रुपमा संविधान पारित गर्न नदिने पहिलो संविधान सभाको विघटन, दोस्रो संविधान सभाबाट प्रतिक्रियावादी संविधानको घोषणा जस्ता परिघटनाहरु प्रतिक्रान्तिको प्रक्रियालाई पूर्णता दिने एकपछिका अर्का कदमहरु थिए । आज यहाँसम्म आइपुग्दा जनयुद्धको थालनीको बेला आफैले प्रतिक्रियावादी करार गरेको पार्टी नेकपा (एमाले)मा आफैले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)लाई विलय गराएर प्रचण्डले प्रतिक्रान्तिका सबै अध्यायहरु पुरा गरेका छन् । साम्राज्यवादी, विस्तारवादी र विश्वभरिका प्रतिक्रियावादी शासकहरुसंग उनको अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध स्थापित भइसकेको छ । अब उनको मुखबाट जनयुद्ध गर्नु गल्ति थियो भनेको सुन्नमात्र बाँकी छ । त्यसका लागि पनि धेरै दिन पर्खिनु पर्छ जस्तो लाग्दैन ।

क्रान्तिकारीहरुको कमजोरी र शिक्षा
विजयको सन्निकट पुगेको नेपाली नयाँ जनवादी क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । यसका लागि पार्टीको मूल नेतृत्व मूख्य जिम्मेवार हो । यसमा कुनै प्रश्न छैन । तर यहाँ क्रान्तिकारीका पनि गंभीर कमजोरीहरु रहेका छन् र सोपानक्रम अनुसार सबैले त्यसको जिम्मा लिनुपर्दछ । एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी ०६९मा आयोजित राष्ट्रिय भेलाले यसको प्रारम्भिक समीक्षा गरेको थियो । त्यसमा पार्टीको नीति र कार्यदिशा निर्माणगर्ने देखि नेतृत्वको केन्द्रिकरण र प्रचण्डपथ नामाङ्कन गर्ने सन्दर्भमा थुप्रै कमजोरी भएको र ती कमजोरी हुनुका पछाडि अभिधूतवाद, श्रद्धावाद र उदारवादले काम गरेको कुरा स्वीकार गरिएको छ । यो राम्रो कुरा हो, तर यतिमात्र पर्याप्त छैन । वैचारिक समस्या एक पटक समीक्षा गर्दैमा सधैका लागि हल हुने विषय होइन । हामी सबैले बारम्बार आफ्नो आत्मसमीक्षा गरी आफैलाई रुपान्तरण गर्न आत्मसङ्घर्ष गरिराख्नु पर्दछ । वैचारिक सङ्घर्ष मार्फत रुपान्तरण नहुँदै निर्णयलाई एकमत बनाउने हतारो कहिल्यै गर्नु हुदैन । पार्टीभित्र खुला र स्पष्ट रुपमा छलफल गर्ने वातावरण निर्माण गरी आलोचना र आत्मालोचनालाई अनिवार्य गर्नु पर्दछ । कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोध हल गर्ने विधि यही हो । यो बाहेक अर्को विधि अहिले सम्म विकास भएको छैन ।

पार्टी भनेको विपरीतहरुको एकत्व हो । एकता–सङ्घर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकता क्रान्तिकारी पार्टी निर्माण सम्बन्धीे मालेमावादी पद्धति हो । प्रचण्डले प्राय सबै बैठकमा जोड र कोणको फरक हो भनेर भिन्न विचारलाई सामान्यीकरण गर्ने र एकमतले निर्णय लिइयो भन्ने बनाउन छलफल र बहस पछि रुपान्तरण तिर होइन संझौताका लागि बढी जोड लगाउने गर्दथे । यो प्रचण्डमा विद्यमान सारसंग्रहवादको परिणाम थियो । उनी द्वन्द्ववादको कुरा गरेर कहिल्यै थाक्दैनथे तर आफैले अधिभूतवादको अभ्यास गर्दथे । हामी क्रान्तिकारीले पार्टीको दुईलाइन सङ्घर्ष र जनवादी केन्द्रीयतालाई द्वन्द्ववादी ढङ्गले प्रयोग गरेर सधैं एकमतको खोजी गर्ने अधिभूतवादी गल्तीबाट बच्न सतर्क रहनु पर्दछ ।

निष्कर्ष
क्रान्ति र प्रतिक्रान्ति विपरीतहरुको एकत्व हो । प्रतिक्रान्ति हुने भएर नै क्रान्ति आवश्यक भएको हो । प्रतिक्रान्तिलाई परास्त नगरी क्रान्ति सम्पन्न हुनै सक्दैन । क्रान्तिको बाटो सिधा हुँदैन, सर्वहारा वर्ग क्रान्ति र प्रतिक्रान्तिका थुप्रै शृङ्खलाहरु पार गरेर मात्र वैज्ञानिक समाजवाद हुँदै अन्तिम गन्तव्य साम्यवादसम्म पुग्न सक्दछ । सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादको लामो अभ्यास गरेका देश रुस र चीनमा पनि क्रान्ति प्रतिक्रान्तिमा बदलियो । यो पनि विज्ञानको नियम भन्दा बाहिर पर्दैन ।

प्रचण्डको नेतृत्वमा अगाडि बढेको क्रान्ति उनकै नेतृत्वमा प्रतिक्रान्तिमा बदलियो । तर, एक पटक प्रतिक्रान्ति हुँदैमा क्रान्तिको प्रक्रिया सधैका लागि रोकिंदैन । सामाजिक अन्तर्विरोध समाधान गर्नकै लागि क्रान्तिको आवश्यकता भएको हो । समाजमा वर्ग सङ्घर्ष रहुञ्जेल क्रान्ति अपरिहार्य हुन्छ । हामी क्रान्तिकारीहरुले दश वर्षको महान नेपाली जनयुद्ध र विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर अगाडि बढ्नु पर्दछ । हामीले प्रतिक्रान्ति भयो भनेर चिन्ता गर्ने होइन, क्रान्ति किन भएन भनेर चिन्ता गर्ने हो । यसरी मात्र हामी सच्चा कम्युनिस्ट बन्न सक्दछौं र नेपालमा क्रान्तिको मार्ग प्रसस्त हुन्छ ।
फागुन ४, २०७६