नौ दलको जनसंवाद कार्यक्रममा जनसर्वसाधारणको सुझाव :  ‘संघर्षलाई सशक्त पार्नुस्, साथ दिन तयार छौं’

प्रकाशित मिति : २०७६ फाल्गुन ५

- अनु निरौला

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमण र राष्ट्रघाती एमसीसी विरुद्ध संघर्ष गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) लगायत नौ राजनीतिक दल तथा संगठनले सोमबार लगनखेलमा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सर्वसाधारण र नौ दलका शीर्ष नेताहरुबीच एमसीसी र सीमा अतिक्रमणबारे दोहोरो संवाद गरिएको थियो । सम्वादमा नेताहरुलाई विभिन्न प्रश्न सोधिएको थियो भने शीर्ष नेताहरुले त्यसको जवाफ दिएका थिए ।

कार्यक्रममा जनसर्वसाधारणहरु जगत रेग्मी, मधु क्षेत्री, शिवहरि खनाल, केदार गिरि, लक्ष्मी अधिकारी, राजकुमार विक, अर्जुन राई, तिकल थापा लगायतले सीमा अतिक्रमण एमसीसीलगायत विषयमा जारी संघर्षलाई अझ व्यवस्थित र सशक्त रुपमा अगाडि बढाउन आग्रह गर्दै साथ दिन तयार रहेको बताएका थिए । यस्तै, एमसीसी सम्झौता खारेजीको आन्दोलनलाई व्यापक प्रचार प्रसार गर्नुपर्ने पनि सुझाव दिएका थिए ।


कार्यकर्ता तथा सर्वसधारणले नौ दलीय गठबन्धनको मोर्चाले पार्टी एकता गरेर अगाडि बढ्न सक्छ कि सक्दैन ? भन्ने जस्ता प्रश्न समेत गरेका थिए । जवाफमा नेताहरुले आफ्नो एजेन्डा अहिले पार्टी एकताको विषय नभएर राष्ट्रियता रक्षाको विषय भएकोले राष्ट्रियताको सवालमा एकजुट भएको स्पष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माले)का स्थायी कमिटि सदस्य सुरेन्द्र ढकाल, नेकपाका सहसयोजक लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तिलक थापा, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभाषराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का सचिव हेमन्त सेडाइले सम्बोधन सम्बोधन गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्माको अध्यक्षतामा सम्पन्न जनसंवाद कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले गरेका थिए ।

यसैबीच, नौ दलले फागुन ८ गते नयाँ बानेश्वरमा विरोध सभाको आयोजना गरेका छन् । माइतीघर मण्डलाबाट जुलुशसहित बानेश्वर पुगेर विरोध सभा गर्ने तयारी गरिएको क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् ।