२०७४ फागुन ४ गते विधिवत् रुपमा तात्कालीन ४ नं प्रदेशले आफ्नो नामाकरण गण्डकी प्रदेश राख्यो । उक्त नामाकरणप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विमति राख्यो । हामीले तत्कालीन अवस्थादेखि नै सङ्घर्ष र विरोध गर्दै आइरहेका छौँ । तथाकथित गण्डकी प्रदेश कुनै पनि तथ्य, प्रमाण र ऐतिहासिक तर्कहरुले गण्डकी प्रदेश नामाकरण गर्न सुहाउँदैन । यो प्रदेशभित्र कम्तिमा ३ वटा ऐतिहासिक भूगोलहरु छन् । गोरखा, लमजुङ्, मनाङ्, कास्की, पर्वत र मुस्ताङ् तमुवान भूमिमा पर्दछ । तनहँु, स्याङ्जा नवलपुरको पहाडी क्षेत्र, वाग्लङ र म्याग्दी मगराँत भुमिमा पर्दछ । नवलपुरसम्मको भाग अवध भुमिमा पर्दछ ।

हार्दिक शुभकामना !

ऐतिहासिक पहिचानको आधारमा आत्मनिर्णयको सिद्धान्तलाई स्वीकार गरिसकेपछि जस्तो भौगोलिक ढाँचा आउँछ सो अनुसार सङ्घीय संरचना निर्माण गर्ने जनयुद्धको मूल मान्यता मध्ये एक हो । एकप्रतिशत वा सो भन्दा बढि जनसङ्ख्या भएका जातिहरुको ऐतिहासिक भुगोलहरुलाई समेटेर प्रदेश निर्माण गर्ने जनयुद्धको म्याण्डेट हो । हाम्रो पार्टी आजसम्म सो नीति र सिद्धान्तमा दृढ छ । क्रान्तिपछि हामी हाम्रो नीति अनुसार नै राज्यलाई ऐतिहासिक पहिचानको आधारमा सङ्घीय ढाँचामा जान्छौँ । यसरी जाँदा हाम्रो सिङ्गो देसलाई १४ प्रदेशमा नक्साङ्कन गर्नुपर्ने देखिन्छ तर यो सबै काम क्रान्तिपछि नै हुने हो ।
वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संविधानले हाम्रो विरोध र सङ्घर्षका बाबजुद गण्डकी प्रदेश नामाकरण गरि छोड्यो । हामी बस्ने त यहिँ हो । यहिँ बसेर सङ्घर्ष गर्ने हो । हाम्रा पुर्खाहरुले राणा शासनमा यहिँ बसेर सङ्घर्ष गरे । पञ्चायतकालमा पनि हामी यहिँ बसेर सङ्घर्ष गर्यौँ । राजाहरुको सबै निरङ्कुश राजतन्त्रकालमा हामीले यहि भुमिमा बसेर यहिँ सङ्घर्ष गर्यौँ । विगतको महान् जनयुद्धसमेत यहि भुमिमा लडिएको थियो । त्यसकारण यहिँ बस्ने हो र अधिकारका लागि यही व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने हो ।

यसरी हेर्दा हाम्रो सङ्घर्ष कहिँ कसैगरि रोकिनेवाला छैन । प्रतिक्रियावादीहरुले कामकाजको रुपमा प्रयोग गर्दै आएको गण्डकी प्रदेश हिजोको श्री ५ को सरकार एकात्मक राज्यजस्तै काम नलाग्ने बस्तु हो तर यतिबेला क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारी शक्ति कमजोर छ । यस्तो बेलामा क्रान्तिको कार्यक्रम– सिद्धान्तमा दृढता र व्यवाहारमा लचकताको सिद्धान्त अनुसार हुुनुपर्दछ । सिद्धान्तमा दृढ र व्यवहारमा लचक हनुपर्ने र परिस्थिति अनुसार क्रान्तिको तयारी गर्नुपर्ने बाध्यता र आवश्यकताले गर्दा हाम्रो पार्टीको सङ्गठनात्मक संरचना गण्डकी प्रदेशको भुगोलसमेटेर निर्माण गर्नु नै उपयुक्त हुन आउँछ । त्यसकारण अब हामीले यहाँको पार्टी समितिलाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेश समिति, नेपाल भन्ने निर्णय गरेका छौं । मंसिर १८ र १९ मा भएको प्रदेश अधिवेशनले गरेको महत्वपूर्ण निर्णयमध्ये यो पनि एक हो । सर्वविदितै भएको कुरा के पनि हो भने हाम्रो पार्टी यसभन्दा अगाडि धेरै पटक विभाजन हुने, एकता हुने हुँदै असाध्यै आरोह–अवरोहको बक्र बाटोबाट अगाडि बढिरहेको छ । यसभन्दा अगाडि हामीले पार्टीको सङ्गठनात्मक संरचनालाई कैयौं पटक गठन र पुनर्गठन गर्यौं । यसरी गठन पुनर्गठन गर्दा केन्द्रीय समितिले मनोनयन गर्ने विधि मात्र प्रयोग हँुदै आयो । यसो गर्दा तत्कालीन समस्या त हल भयो तर लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अनुसारको जनवादीे–केन्द्रीयताको वैज्ञानिक विधि कुण्ठित हुन पुग्यो । सँधै यसो भइनरहोस्, पार्टीको विधान अनुसार आवधिक रुपमा सम्मेलन वा अधिवेशनबाट समिति निर्वाचित भएर आउने संस्कार र पद्धतिको विकास गर्न तथा पार्टीको पछिल्लो पोखरा राष्ट्रिय सम्मेलनको मर्म र भावना अनुसार तीन÷तीन वर्षमा अनिवार्यरुपमा प्रदेश सम्मेलन हुनुपर्ने नियमका कारणले पनि हामी अधिवेशनमार्फत् प्रदेश समिति निर्माण गर्नुपर्दछ भन्ने जिम्मेवारी बोध गर्न पुग्यौं । हामीमा पैदा भएको यहि दायित्वबोधले गर्दा पनि मंसिर १८ र १९ मा गण्डकी प्रदेश अधिवेशन हुन पुगेको हो । मूल प्रवाहको दृष्टिले हेर्दा ने.क.पा. (क्रान्तिकारी माओवादी) पूर्व ने.क.पा. –माओवादी र पूर्व ने.क.पा.(एकीकृत) दुई पार्टीको २०७२ साल कार्तिक २२ गते एकता भएर बनेको थियो । हाम्रो पार्टीका श्रद्धेय महासचिव क. किरणले एक प्रसङ्गमा भन्नु भएको थियो कि मुलरुपमा दुई पार्टीको एकीकरण देखिए पनि ऐतिहासिक कम्युनिष्ट समुहहरुको अध्ययन गर्दा ने.क.पा. (क्रान्तिकारी माओवादी) को निर्माणसम्म आइपुग्दा १४ वटा कम्युनिष्ट समुहको एकीकृत रुप हो । १४÷१४ वटा समुहको ध्रुवीकरणबाट यो रुपको पार्टी बनाउनु भनेको अग्रजहरुको मेहनतलाई कम आँक्नै सकिने कुरा होइन ।

यसरी पछिल्लो २०७२ कार्तिक २२ पछाडि पार्टी केन्द्रले राष्ट्रिय सम्मेलन गर्ने आफ्नो दायित्व पुरा गरेपनि हाम्रो प्रदेशले प्रदेश सम्मेलन गर्न सकिरहेको थिएन । यसभन्दा अगाडि प्रदेश सम्मेलन आयोजक समिति मार्फत् काम चलाउँदै आइएको थियो । यसकारण पनि प्रदेश अधिवेशन गर्न अपरिहार्य थियो । प्रदेश अधिवेशन गर्नुपर्नाका अन्य धेरै कारणहरु छन् । ती सबै कारणहरुको सप्रसङ्ग व्याख्या गर्न त यहाँ सम्भव नहोला तर केही सङ्क्षिप्त रुपमै भएपनि यसबारे केही व्याख्या गर्न जरुरी देखिएकोले मैले यहाँ चर्चा गर्ने जमर्काे गरेको हुँ ।

(क) २०७६ असार २२ गते हाम्रो पार्टीका श्रद्धेय पोलिटब्युरो सदस्य तथा यस प्रदेशका सेक्रेटरी श्रीनाथ अधिकारी (क. श्याम) को असामयिक निधन हुन पुग्यो । उहाँको निधनले सिङ्गो पार्टीलाई नै अपुरणीय क्षति पुग्यो भने हाम्रो प्रदेशले त मूल नेतृत्व नै गुमाउन पुग्यो । यसैगरी २०७५ कार्तिक २२गते हाम्रो पार्टीका प्रदेश समितिका सदस्य कुस्माखर भुसाल (क. आशिष) को निधन हुन पुग्यो । यसरी हेर्दा प्रदेश समितिकै दुईजना जिम्मेवार नेतृत्वको निधनले पनि प्रदेश समितिलाई पुनर्गठनमा लैजानुपर्ने अवस्था आयो ।

(ख)यस प्रदेशमा कार्यरत जिम्मेवार क. अनुकूल, क. आइ.डि. र क. भि. पाण्डेको जिम्मेवारी परिवर्तन हुन पुग्यो । आदरणीय अनुकूल कमरेड पोलिटब्युरो सदस्यमा पदोन्नति हुनु भएर यहाँबाट स्थानान्तरण भएर सुदूर पश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी लिएर जानु भयो भने क. आइ.डि. र भि. पाण्डे केन्द्रीय सल्लाहकारमा पदोन्नति हुनु भयो । प्रदेश सङ्गठन पुनर्गठन गर्नु पर्नाको एउटा यो पनि कारण हुन पुग्यो .

(ग) पार्टी क्रान्तिमा अवसरवादीहरु जटिलकालमा पलायन हुने कुरा नौलो होइन । अवसरवादी तत्वहरुको पलायन हुने प्रक्रियाबाट हाम्रो प्रदेश पनि अछुतो रहेन । वाग्लुङ्बाट दे.ज.मो. को केन्द्रीय सदस्य हेमेन्द्र घर्तिमगर, दे.ज.मो. प्रदेश कोषाध्यक्ष गुञ्जबाहादुर भण्डारी, जिल्ला सेक्रेटरी ऋषिराम रोका, लमजुङ्बाट सुरेश न्यौपाने र गोवद्र्धन गौली, गोरखाबाट दिलबहादुर भुजेलहरुको पलायनले पनि पार्टीमा केही समस्या पैदा भयो । आगामी दिनमा नेतृत्व चयन गर्दा क्रान्तिकारी पङ्क्तिमा अवसरवादीहरुको घुसपैठ नहोस् भनेर पाठ सिक्दै अगाडि बढ्नको लागि पनि प्रदेश अधिवेशन गर्न आवश्यक ठानियो ।

(घ) प्रदेश अधिवेशनभन्दा अगाडि जिल्ला सम्मेलन र भेलाहरु आयोजना गरिए । केही जिल्लाहरुमा सहज ढङ्गले सम्मेलनहरु सम्पन्न भए भने केही जिल्लाहरुमा समस्याहरु देखा परे । पर्वत जिल्लामा केही अराजक तत्वहरु भेला बहिस्कार गरेर हिँडे । उनीहरुले पार्टी सदस्यता नवीकरण समेत गरेनन् । २ वर्ष अगाडिदेखि नै प्रदेश समितिको सम्पर्कमा नभएको व्यक्तिले समेत आफुलाई स्वघोषित प्रदेश सदस्य हो भन्दै हिँडेको पाइयो । यस्ता प्रकृतिले पनि पार्टी र आन्दोलनमा समस्या पार्ने नै भयो । यस्ता प्रवृतिलाई समयमै ठेगान लगाउन पनि प्रदेश अधिवेशनको आवश्यता पर्न गएको थियो ।

() हाम्रो प्रदेश अन्तर्गतको कास्की जिल्ला शहरी आन्दोलनको हिसाबले अग्रभाग हो । यहाँ एकपटक पार्टी सदस्य सङ्ख्या १५०० नाग्यो र तुरुन्तै फेरि घटेर ६० मा झर्यो । एक डेढ वर्षमै ५० जनाबाट बढेर १५०० मा पुग्नु अनि फेरि तुरुन्तै घटेर ६०मा झर्नु यो अस्वाभाविक हो । यसो हुनुमा यहाँ ठगी र किर्तेधारी भोजराजहरुको पार्टी प्रवेश र बहिर्गमन नै मुख्य हो । ठगी र किर्ते धन्दाले पैदा गरेको समस्याको वैज्ञानिक समीक्षा जरुरी थियो । ठिक समयमा ठिक संश्लेषण गरेर मात्र अगाडि बढ्न सकिन्छ । त्यसकारण पार्टीलाई बद्नाम गराउँदै हिँड्ने ठगी र कितर्को माफियाहरुलाई पार्टीले नियन्त्रणमा लिई उचित एक्सन लिनको लागि पनि एक एकताबद्ध पार्टी निर्माण गर्नुपर्ने थियो । यसकारणले पनि हामीले प्रदेश अधिवेशनमा जान आवश्यक ठानियो ।

(च) प्रदेश सदस्यहरुबाटै करिब २ वर्षदेखि लेवि आएको छैन । यो के हो ? हो, यो समस्या हल गर्न पनि अधिवेशन र बलियो सङ्गठन चाहिएको थियो ।

(छ) पार्टी बिसर्जन हुने कारणमध्ये निष्क्रियता पनि एउटा हो । यो अवधिमा केहि कमरेडहरुको निष्क्रियता अलि चर्कैरुपमा देखा पर्यो । उहाँहरु रुपान्तरणको प्रक्रियामा रहनु भएकोले नाम उल्लेख गरिएन । यस्ता प्रवृत्तिको भण्डाफोर सञ्चालनका लागि पनि अधिवेशनको आवश्यकता देखियो ।

(ज) कास्की जिल्लामा क्रियाशील युवा लिगका केन्द्रीय सदस्य कमरेड इन्द्रहादुर गुरुङ गिरप्mतारीमा पर्नु भयो । गिरप्mतार हुनेसम्मलाई त स्वाभाविक नै मानियो तर अत्यन्तै कमजोर मुद्दामा ५७ दिनसम्म जेल हिरासत बस्नु पर्नाको कारणलाई भने स्वाभाविक मान्न सकिँदैन । यसले पनि पार्टीको आन्तरिक पङ्क्तिमा रहस्यताको मात्रालाई नै बढावा दिन पुग्यो । आगामी दिनमा यस्तो नहोस् भन्नको लागि पनि सुदृढ सङ्गठन जरुरी छ । अधिवेशनपछिको समितिले यो पनि हल गर्ने विश्वास लिन सकिन्छ ।

निष्कर्ष
प्रदेश अधिवेशन सम्पन्न हुनु नै यो प्रदेश पार्टीको ठूलो उपलब्धि हो । पहिलेभन्दा अधिकार सम्पन्न प्रदेश समिति बनेको छ । यो समितिको जिम्मेवारी अत्यन्तै धेरै छ । जस्तै पार्टीको केन्द्रीकृत नेतृत्वलाई सुदृढ र बलियो बनाउने सवाल, पूर्णकालीन कार्यकर्ताको आवश्यक व्यवस्थापनको ठोस निर्णय,, पार्टीको नाममा ठगि र किर्ते काममा पोखरामा देखिएको समूहलाई नियन्त्रण तथा दण्ड दिने काम, निष्क्रिय र पलायनको मात्रा घटाउने पहल, जिल्ला सदस्यसम्मले पनि पार्टी सदस्यता नवीकरण नगर्नेसम्मको अराजकताको नियन्त्रण, मनाङ्–मुस्ताङ्–लमजुङ्सम्म पार्टी सङ्गठन विस्तार, पोखरालाई अग्र भाग र बाँकीलाई आधार भागमा विकास गरी दुवै भागलाई संयोजन गराउने कौशलपूर्ण योजना लागु गर्ने कार्यक्रम आदि छन् । माथि धेरै ठाउँमा उल्लेख गरेजस्तै मुख्य सवाल हो– नयाँ समितिको रुपमा आएको प्रदेश समितिलाई एकीकृत र केन्द्रीकृत सामूहिक नेतृत्वको रुपमा बुभ्mदै बलियो पार्टी बनाउने हुनुपर्दछ ।

२०७६ मार्ग–३०

प्रतिक्रिया

सम्बन्धित खवर