
बुटबल । नेकपा (क्रान्तिकारी माओवादी) ५ नंं प्रदेशको प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय समितिको निर्णयलाई प्रदेशका जिल्लाहरुमा कार्यान्वयनका लागि बसेको बैठकले राष्ट्रिय स्वाधीनताको आन्दोलनको क्रममा फागुनमा १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्राप्त जानकारी अनुसार प्रदेशले फागुन १६ देखि मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले माघ मसान्तसम्ममा पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुका प्रदेश तथा जिल्लाका बैठकहरु सम्पन्न गर्ने, भेला, प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रमहरुको आयोजना गर्ने, फागुन १ को जनयुद्ध दिवसमा भव्य रुपमा मनाउने लगायतका निर्णयहरु गरिएका छन् ।
बैठकअघि प्रदेशको प्रशिक्षण सम्पन्न भएको थियो । पार्टी केन्द्रीय समितिले गरेका निर्णयहरुको मूल स्प्रिट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका बारेमा पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज राजवीरले महत्वपूर्ण प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण तथा बैठकमा प्रदेश सदस्यहरु र ५ नं. प्रदेशमा कार्यक्षेत्र हुने पार्टी पीवीएम तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो । प्रशिक्षण लगत्तै बसेको बैठकले १७ सदस्यीय सचिवालय र ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । बैठक प्यूठानको दरभानमा बसेको थियो ।































