अविरल वर्षासँगै बाढी र पहिरोमा परी १९ जनाको मृत्यु, ८ बेपत्ता, देशैभरको जनजीवन प्रभावित

प्रकाशित मिति : २०७६ असार २८


काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका छन् । देशैभरको जनजीवन प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाको मृत्यु भएको हो । क्षतिको विवरण देशैभरबाट आउन बाँकी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्ने सम्भावना रहेको हुँदा प्रहरी प्रशासनले उपत्यकाबासीलगायत देशैभरका जनसमुदायलाई खासगरी खोला किनारका बासीहरुलाई उच्च सतर्कता अपनाउन समेत सचेत गराएको छ ।

प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३÷३ जनाले ज्यान गुमाएका छन् । ७ जना घाइते छन् भने ४ जनाको उद्दार समेत गरिएको छ । बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुष्का घाइते छन् ।

रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको बताइएको छ । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु हुन पुगेको छ ।
ललितपुरमा अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता भएको जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको थियो ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका– ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी सञ्चना बलामीको मृत्यु भएको छ ।


काठमाडौंको मूलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिका, मूलपानी बस्दै आएका नितु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको हो ।

दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुन पुगेकाले त्यहाँका पीडितहरुको उद्दारका निम्ति हेलिकप्टरको प्रयोग गरिनु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

देशैभर देशैभरको जनजीवन प्रभावित

वर्षाले पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।
काठमाडौंको खोला किनारमा बस्ने खासगरी सुकुम्बासी बस्ती नराम्ररी प्रभावित बनेको छ । बाढीले कतिको घर टहरा बगाएको छ । वर्षाले सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।


तराईका अधिकांश जिल्लाको जनजीवन बाढी र डुबानको समस्याबाट नराम्ररी प्रभावित बन्न पुगेको छ । अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ । महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ ।
जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ । निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । उनको प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।
यसैबीच, सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको हो ।
रौतहटको पनि जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । अविरल वर्षासँगै चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको हो ।


त्यसैगरी रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।

पाँचथरमा फाल्गुनन्द–३, मेची राजमार्गमा रहेको पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

झापाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित बनेको छ । दमक १० भालुखोलाले बगाएर ६ वर्षकी रिलिजा न्यौपानेको मृत्यु भएको छ । कमल खोलाले बगाएर अञ्चल लावतीको मृत्यु भएको छ । यस्तै भद्रपुर ९ प्रणामी मन्दीरबाट भद्रपुर नगरका सुफल हस्ता वेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लाको कन्काई, बिरिङ लगायतका नदीमा पानीको वहावले खतराको सूची नाघिनसकेको छ ।

मोरङको सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

समाचार स्रोतका अनुसार चितवनको माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।
त्यसैगरी मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।
त्यसैगरी अन्य जिल्लामा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
यसैबीच, अविरल बर्षाका कारण बाढी, पहिरो र डुबानमा परी पीडित बनेका जनसमुदायको तत्काल उद्दार गर्न र पीडितहरुलाई राहत उपलब्ध गराउन विभिन्न संघसंस्थाले सरकारसँग माग समेत गरेका छन् ।