अन्तर्वार्तामा आएका विषयबारे स्पष्ट गरिएको सम्बन्धमा

प्रकाशित मिति : २०७६ असार २६

- प्रतीक, प्रवक्ता तथा स्थायी समिति सदस्य, नेकपा (क्रान्तिकारी माओवादी)


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को १२–१७ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरुको  विषयमा केन्द्रीत रही गरिएको अनौपचारिक कुराकानीलाई अन्तर्वार्ताको रुपमा जनमेलले प्रकाशित गरेपछि पार्टीपंक्ति तथा जनपंक्तिमा भ्रम उत्पन्न भएको र त्यसबाट नकारात्मक असर पर्न गएकोले त्यस विषयमा स्पष्ट पार्न आवश्यक देखिएको भन्दै क्रान्तिकारी माओवादीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रतीकले ‘स्पष्ट गरिएको बारे’ शीर्षकमा जनमेल डटकमका सम्पादकलाई सम्बोधन गर्दै एक पत्र प्रेषित गरेका छन् । 

२५ असारमा प्रेषित गरिएको पत्रको अन्त्यमा भनिएको छ, “बरालजीले मसँग गरेको अनौपचारिक कुराकानी यस प्रकार अन्तर्वार्ताको रुपमा प्रकाशन भएर पर्न गएको भ्रमप्रति मैले नैतिक कमजोरीको रुपमा लिएको छु । यसले मलाई थप गम्भीर बनाएको छ ।”

यस्तो छ जनमेललाई प्रषित पत्रको पूर्ण अंश :

“स्पष्ट गरिएको बारे

श्री सम्पादक ज्यू,
हालै जनमेल अनलाइन सम्बद्ध श्री ऋषिराज बरालजीले मसँग भएका अनौपचारिक कुराकानीलाई अन्तर्वार्ताको रुपमा सोही अनलाइनमा प्रकाशित गरिएको रहेछ । उहाँले अन्य कतिपय कमरेडहरुसँग पार्टी केन्द्रीय समिति बैठकको विषयमा कुराकानी भएको कुरा समेत जानकारी गराउँदै मसँग केही प्रसंग अगाडि बढाउनु भएको थियो । मेरो बरालजीसँग भएको कतिपय कुराकानीलाई अन्तर्वार्ताले ठिक ढंगले समेट्न नसकेको र कतिपय विषयवस्तु फरक परेकाले यसमा मेरो ध्यान आकर्षण भएको छ । त्यसबाट पार्टीका नेता कार्यकर्ता र पाठकहरुमा पर्न सक्ने नकारात्मक असरलाई स्पष्ट गर्न थप आवश्यक देखिन गएको छ ।

हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) केसको पूर्ण बैठक २०७६ असार १२ देखि १७ गतेसम्म बसी सम्पन्न भैसकेको र त्यसका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक पनि भैसकेका छन् । यसै सन्दर्भमा पार्टीले निश्चित विधि र मान्यता निर्धारण गरी केन्द्रीय समिति सदस्य र राजनीतिक व्यूरोमा थप गर्न निश्चित संख्या मात्र तोकिएकोले त्यसमा अपेक्षित सबै कमरेडहरु अटाउन सक्ने कुरा भएन । जे जति थप गरिए र बाँकी पुर्न भएन– त्यस विषयमा सक्षम÷असक्षम आदि भन्ने बारे मैले कोही कसैको टिका टिप्पणी वाअन्य केही उच्चारणसम्म गरेको थिइनँ ।

यसै प्रसंगमा पार्टी सम्बद्ध पत्र पत्रिकाप्रकाशनलाई व्यवस्थित र स्तरीय बनाउन आवश्यक छलफल भैरहेकोले छलफल÷बहसबाट निष्कर्ष स्वरुप आएका विषय वस्तुलाई समेटी आवश्यक थपघटगरी पत्रिका व्यवस्थित र सुदृढ गर्ने भनिएको थियो । वैकल्पिक पीवी थपको प्रसंग र यस विषयबारे अन्तर्वार्तामा अन्यथा भएको हुँदा सोही अनुरुप सच्याउन आग्रह गर्दछु ।

अन्त्यमा बरालजीले मसँग गरेको अनौपचारिक कुराकानी यस प्रकार अन्तर्वार्ताको रुपमा प्रकाशन भएर पर्न गएको भ्रमप्रति मैले नैतिक कमजोरीको रुपमा लिएको छु । यसले मलाई थप गम्भीर बनाएको छ ।
२०७६ असार २५ गते

……..
प्रतीक
पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य
नेकपा (क्रान्तिकारी माओवादी)”