दोहोरो भिडन्तको नाममा फेरि मारिए प्रतिबन्धित नेकपाका कार्यकर्ता

प्रकाशित मिति : २०७६ असार २५

काठमाडौं । फेरि दोहोरो भिडन्तको नाममा प्रतिबन्धित नकपा (विप्लव)का जिल्ला नेताको हत्या भएको छ । सर्लाही हत्या प्रकरणको चर्चा सेलाउन नपाउँदै फेरि भोजपुरमा दोहोरो भिडन्तको नाममा १ जना प्रहरी जवानसमेत गरी दुई जनाको मृत्यु हुन पुगेको छ ।
प्राप्त समाचार अनुसार प्रतिबन्धित नेकपाका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा विप्लव नेकपाका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु हुन पुगेको छ । विप्लव नेकपाले भने दुवै जनाको मृत्यु प्रहरीको गोलीबाट भएको दावी गरेको छ भने प्रहरीले भने विप्लव नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा विप्लवको कार्यकर्ता मारिएको दावी गरेको छ ।
जिल्लाको शनिबारे भन्ने स्थानमा रहेको पानधारे होटलमा भएको उक्त घटनामा अर्का प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएको प्रहरीले जनाएको छ । भट्टराइको जिल्ला अस्पतालमा उपचार भइरहेको र भट्टराईको दाहिने कुमको हड्डी भाँच्चिएको छ ।

ओखलढुंगा इन्चार्ज नीरकुमार राई भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर १३ वोयाका बासिन्दा हुन् ।

प्रहरीले दोहोरो भिडन्तकै नाममा जेठ ७ गते भोजपुरमै विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको हत्या गरेको थियो । त्यही हत्याको विरोधमा आयोजित नेपाल बन्दको क्रममा विप्लव नेकपाका ५ जना कार्यकर्ता बम विष्फोटमा परी मारिएका थिए ।