समग्रमा पाकिस्तान बलियो

प्रकाशित मिति : २०७६ असार २

काठमाडौं । अहिलेको विश्वकप क्रिकेट खेलमा भारतले पाकिस्तानविरुद्ध शतप्रतिशत जित हात पारेको छ । यो हार र जितलाई लिएर निकै टिकाटिप्पणी हुने गरेको छ । भारतले पाकिस्तानको हारलाई लिएर निकै टीकाटिप्पणी पनि गरिरहेको छ । उता पाकिस्तानको हारलाई लिएर पाकिस्तानका खेलाडीमाथि पाकिस्तानमा पनि खल्ला टिप्पणी भइरहेको छ ।

पाकिस्तानको फितलो प्रदर्शन भारतीय सञ्चारमाध्यमका लागि भोकालाई खीर साबित भएको छ । पाकिस्तानी खेलाडीहरु अहले भारतीय सञ्चार माध्यमहरुमा ठट्टामजाकका पात्र बनाइएका छन् ।

तर आजसम्मको विश्वकपमा वानडे प्रतिस्पर्धालाई आधार मान्ने हो भने अझै पनि भारत पाकिस्तानभन्दा धेरै पछि छ । सन् १९७८ देखि २०१९ सम्म भारत र पाकिस्तानबीच हालसम्म १ सय ३२ वान डे खेल भएकोमा पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले मात्र ५५ खेल जितेको छ । चारवटा खेल नतिजाविहीन बने ।

यस्तै, टेस्टमा पनि भारत र पाकिस्तानबीचको भिडन्तमा पाकिस्तान नै अघि छ । दुई देशबीच हालसम्म भएका ५९ टेस्टमा पाकिस्तानले १२ र भारतले ९ खेलमा जित हासिल गरेका छन् ।