सहिद क. मनोज चौधरी (थारु)

प्रकाशित मिति : २०७६ जेष्ठ ३०

- बुद्धिराम थारु

‘केही पाउनको लागि केही गुमाउनु पर्छ’ भन्ने भनाइ निकै मार्मिक अथवा गहकिलो रूपमा बुझ्न आवश्यक छ । कुनै पनि कार्य वा योजना सफल तुल्याउनकै लागि त्यत्तिकै मेहनत, परिश्रम साथै लगानीको जरूरत पर्दछ । कार्य वा योजना सफल एवम् असफल के भयो भन्ने मापन, सम्पादनपश्चात् लेखाजोखा गर्दा आउने प्रतिफलमा निर्भर रहन्छ । सफल वा असफल हुनुमा के, कति, किन, कसरी, कहाँ, कसले यावत् प्रश्नहरूको जवाफमा भर पर्दछ । तथ्यहरू यथार्थपरक वास्तविक वस्तुवादी दृष्टिकोणबाट केलाउँदै जाँदा कमजोरी एवम् सबल पक्ष के हो ? त्यहीँनेर ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

परिणाम वा नतिजा सकारात्मक भए त ठीकै हो त्यसो नहुँदा अथवा गलत परिणाम आएमा त्यसको असर विभिन्न पाटा पक्षबाट केलाएर समीक्षा गर्नुपर्ने आवश्यक हुन्छ । त्रुटी वा समस्या के हो ? कारण पत्ता लगाएर त्यसको निदान पक्षहरू के के हुन सक्छ? त्यो पनि किटान गर्न जरूरी हुन्छ । विज्ञानले पनि सिकाउँछ कि गलतबाट पाठ सिकेर अगाडि बढ्नुनै बुद्धिमानी हो । यदि गलतबाट पाठ सिक्न सकिएन भने मेहनत, परिश्रम समय लगानी व्यर्थ हुन जान्छ । त्यति मात्र कहाँ हो र ? आशा निराशामा बदलिनुको साथै मनमा कुण्ठा, हताश पैदा हुनुको साथै मानसिक विचलन हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।

यस जीवनी लेखनमा चर्चा गर्न खोजिएको सत्य कुरा के हो भने नेपाल र नेपाली राजनैतिक इतिहासमा विभिन्न कालखण्डमा घटेका घटनाहरू २००७ साल, २०३६ साल र २०४६ सालमा विभिन्नखाले सङ्घर्षमा सामेल भए परिवर्तनका खातिर । त्यतिबेला मात्र नपुगेर २०५२ साल फागुन १ गतेदेखि महान् जनयुद्धको थालनी भयो नेपाल र नेपाली जनताकै प्रगति र समृद्धिका निम्ति । हजारौँ हजार नेपाली जनता महान् ऐतिहासिक जनयुद्धको अभियानमा लामबद्ध भए । साम्राज्यवाद तथा विस्तारवादको बैशाखीमा अडिएको २४० बर्षे एकात्मक हिन्दू ब्राह्मणवादी सामन्ती राजतन्त्र फाल्नका लागि हजारौँको सङ्ख्यामा नेपाल आमाका वीर छोराछोरीले देशमा परिवर्तनकै निम्ति प्राणको बली चढाए ।

रगत र आँसुको भेल बग्यो । दश वर्षे महान् ऐतिहासिक जनयुद्धमा । हजारौँको सङख्यामा सहिद, बेपत्ता, घाइते, घरबारविहीन हुन बाध्य पारियो आमूल परिवर्तनको खातिर । जनतालाई सामन्तवादबाट मुक्त पार्दै ‘नौलो जनवाद’को परिकल्पना गरिएको थियो । त्यहीअनुसार नयाँ जनवादी सत्ताको अभ्यास पनि अधिकांश ग्रामीण भूगोलमा सञ्चालन गर्न सफल भएको थियो । नयाँ जनवादी राज्य सत्तामा सबैखाले उत्पीडन (वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक)बाट मुक्त हुनको साथै सबै जनताको कम्तीमा गास, बास, कपास, स्वास्थ्य, शिक्षा एवम् सुरक्षाको ग्यारेण्टी हुनुको अलावा हाम्रो देश नेपाल स्वाधीन हुनुपर्छ भन्ने नीति एवम् सिद्धान्त अवलम्बन गरिएको र सोहीअनुसार ने.क.पा.(माओवादी) पार्टीको कार्यदिशा पनि तय भएको थियो ।

महान् ऐतिहासिक जनयुद्धको महान् अभियानमा पार्टी र सङ्गठनको उच्च हैसियतको वैकल्पिक पोलिटब्यूरो सदस्य क. बासु (सुरेश वाग्ले) देखि लिएर पार्टी सङ्गठनको जिल्ला, इलाका, गाउँटोल तहसम्मका कार्यकर्ता मात्र नभई सर्वसाधारण जनता पनि रगत बगाउन अछुतो रहेनन् । हली, गोठाला, घाँस काट्ने, बटुवा मानौँ शतप्रतिशत जनता शासक बर्गबाट प्रताडित भए । शासक बर्ग चुर्लुम्म रगतको आहालमा डुबेको भनेर भन्दा पनि बेस होला । देश चौतर्फी आक्रान्त बनेको थियो । सङ्घर्ष निकै उत्कर्षमा पुगिसकेको थियो । नेपाली जनता फटाफट सङ्घर्षको भट्टीमा होमिन बाध्य पारिएको थियो ।

त्यसबखत शासक बर्गको मेरूदण्ड शाही सेना पनि हायलकायल भएर आफ्नै ब्यारेकमा जबरदस्त रूपमा कैद भएको अवस्था थियो । यी सब महान् वीर शहीदहरूको अमूल्य जीवनको बलिदानी वा कुर्बानीको राप र तापबाट सृजित अवस्था थियो । शासक बर्ग हरेक तबरबाट नाकाम सिद्ध भैसकेको अवस्था थियो, भीमकाय एवम् कहाली लाग्दो दश बर्षे महान् ऐतिहासिक जनयुद्धमा । ती महान् वीर ज्ञात, अज्ञात सहिदप्रति १ मिनेट भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौँ । महान् वीर विरङ्गाना सहिदकै महान् त्याग एवम् बलिदानीपूर्ण भावबाट नै राजतन्त्र नामको सामन्तवादको अन्त्य अथवा दश वर्षे जनयुद्धको जगमा २०६२र०६३ को आम जनविद्रोहबाट भएको कुरा पुष्टी हुन्छ ।

महान् दशवर्षे ऐतिहासिक जनयुद्ध भनौँ या वर्गीय, जातिय, क्षेत्रीय, लिङ्गीय साथै राष्ट्रिय मुक्ति आन्दोलनमा हजारौँको सङ्ख्यामा यो मातृभूमिमा सहिदको कोटा चुक्ता गर्ने क्रममा चितवन जिल्लाको क्रान्तिकारी उर्बरभूमिमा आफ्नो प्राण उत्सर्ग गर्ने एक वीर लाल योद्धा कमरेड मनोज चौधरी (थारू) पनि इतिहासको पानामा सुनौला अक्षरले लेखिएको छ । क. मनोज वर्गदुश्मन शाही सत्ताको खम्बा मानिएको शाही सेनासँगको टकरावमा भौतिक शरीर गुम्न पुग्यो । उहाँ बर्गदुश्मनमाथि कति पनि विना हिचकिचाहटमा जाई लाग्नु भयो क्रान्तिको वर्गीय भट्टीमा निखारपन ल्याउनुको साथै अझ राप र ताप दिनको लागि उर्जा थप्ने काम गर्नु भयो ।

क. मनोज चौधरी (थारू) को बारेमा उल्लेख गर्नुपर्दा बुवा भरत कुमार चौधरीको जेठी श्रीमती आमा जुठनी चौधरी थारूको कोखबाट जन्म मिति २०३३ साल कार्तिक ७ मा भएको पारिवारिक स्रोतबाट बुझ्न सकिन्छ । बुवा भरतकुमार चौधरीका तीन भाइ छोरामध्ये माइलो छोरा मनोज चौधरी हुनुहुन्थ्यो । उहाँको बुवाको स्थायी बसोबास चितवन भण्डारा गा.वि.स. वडा नं. ३ लौगाइ गाउँटोल (हाल राप्ती नगरपालिका वडा नं. ६) मा छ । क. मनोजको जन्म पनि सोही ठाउँमा भएको हो । क. मनोजको शहादत २०६१ साल बैशाख ३१ गते शाही सेनाका जल्लादबाट चितवन वीरेन्द्रनगर गा.वि.स. को पाकडीवास भन्ने ठाउँमा निर्मम रूपले हत्या गरिएको थियो ।

जुन ‘पाकडीवास हत्याकाण्ड’ का नामले चर्चित छ इतिहासमा । उक्त हत्याकाण्डमा क. मनोज लगायत क. ऐनकुमारी मोक्तान अनु, क. टीका अधिकारी बिनोद, क. ऋषी रेग्मी राकेश, क. रामबहादुर खड्का रक्तिमको पनि एकै चिहान बनायो । नेपाल र नेपालीको काँचुली फेर्नका लागि अकालमै मृत्युवरण गर्ने महान् ऐतिहासिक लाल योद्धाहरूप्रति पुनः भापूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथ लाल सलाम टक्य्राउँछु ।

उहाँको बाल्यकाल निकै पीडाका साथ गुज्रियो । उहाँको परिवारमा एक छाक खान र एक आङ लाउन निकै मुस्किल पथ्र्यो । पेटमा चारो हाल्नकै निम्ति सानै (लगभग ८, ९ वर्षको ) उमेरमा अर्काको घरमा बस्तुभाउ हेर्न गोठालाको रूपमा काम गर्नुपर्यो । न त जाडो– घाम, न त झरीकै मतलब भयो उहाँलाई । शिक्षाका लागि कुनै मौका पनि पाउनु भएन । विद्यालय कस्तो हुन्छ, के गरिन्छ ? उहाँको हातमा कलमको सट्टा बस्तु धपाउने लौरो मात्र हुन्थ्यो । गोठाला जाँदा भाइ साथीहरूबाट जे सिकिन्थ्यो त्यही नै उहाँको लागि शिक्षा थियो । २०५० साल ताका चितवनको पूर्वी भूगोल बाढीले डुबान हुँदा सर्वत्र बालुवा देखिन्थ्यो ।

अन्नपात नहुने हो कि भनेर उहाँ आफ्नै सानीआमाको घरमा काम गर्न काठमाडौं पुग्नुभयो । करिब उहाँ २२, २३ वर्ष हुँदा काठमाडौं बस्दा केही अनौपचारिक शिक्षा हासिल गर्नुका साथै केही बुझ्न र गर्न सक्ने आँटको विकास भएको थियो । ५, ६ वर्ष जति सानी आमाको घरमा काम गर्दा काठमाडौंको हावापानीले नै होला केही चलाख बन्न बाध्य बनायो, उहाँलाई । आर्थिक कारणले सानीआमाको घरमा काम गर्न रूचाउनु भएन । फेरि आफ्नै थोत्रो पुरानो घरमा वा आफु हुर्केकै ठाउँमा आउनु भयो ।

देशमा महान् जनयुद्धको अभियानमा लामबद्ध हुने प्रक्रिया धमाधम बढिरहेको थियो, त्यही २०५७– २०५८ सालतिर । गरीब सर्वहारा वर्गको सत्ता ल्याउन जनता निकै आतुर देखिन्थे । सर्वहारा वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा धमाधम जनताको मन जित्दै जनता सङ्गठित हुने क्रम जारी नै थियो । पार्टीले नयाँ नयाँ उचाइमा एकपछि अर्को सङ्घर्षको चरण अगाडि बढाउँदै लगिरहेको अवस्था थियो । कतै मशाल जुलुस, कतै नयाँ कमिटी गठन, कतै जनसरकार घोषणा देशै माओवादीमय बनेको थियो ।

त्यसै क्रममा क. मनोज चौधरी (थारू) २०५८ साल माघ १ गतेबाट सङ्गठनमा सङ्गठित भएर आधिकारिक रूपमा पार्टी सदस्य पूर्णकालीन कार्यकर्ताको रूपमा महान् वर्ग सङ्घर्षको भट्टीमा होमिनु भयो । दृढ इच्छा शक्ति भएकै कारण पार्टीको हरेक योजनालाई सफल बनाउन उहाँको अग्रिम भूमिका हुन्थ्यो । जुनसुकै जनकारबाहीमा पनि उहाँ अग्रपङ्तिमा भूमिका रोज्नुहुन्थ्यो । उहाँ पार्टीको एस्टीएफ् फौजी मोर्चामा विशेष भूमिका निभाउनु हुन्थ्यो । छोटो समयमै पार्टी सङ्गठनमा विश्वा स जित्दै एस्टीएफ् को सेक्सन भीसी बन्ने हैसियत कायम गर्नुभयो । लौरो समाउने हात साँच्चिकै फलामे अत्याधुनिक हतियार चलाउन सफल हुनु भयो ।

क. मनोज चौधरी निकै मिलनसार बानी बेहोरा भएकै कारण जतिसुकै रिसाएको साथीलाई पनि हँसाउन सक्ने खुबी थियो । माछा मार्न, शिकार खेल्न निकै मन पथ्र्यो । तर वर्ग दुश्मनप्रति त्यत्तिकै निर्मम ढङ्गले जाइलाग्ने बानी थियो । कसैसँग अभद्र ब्यवहार नगर्ने सम्मानजनक ब्यवहार गर्नाले नै उहाँको आफ्नो छवि वा पहिचान दिलाउन सफल भएको आकाशको तारा चम्केझैँ बैचारिक प्रतिबद्धता, कार्यकुशलता, साहसी, निडर भएकै कारण वर्गदुश्मनसँग हार स्वीकार गर्नु भएन अथवा शीर झुकाउनु भएन । औपचारिक शिक्षामा कमजोर भए तापनि ब्यवहारिक शिक्षामा अब्बल दर्जामा नाम लेखाउन सफल हुनु भयो । वर्गदुश्मन शाही सेना क. मनोजको नाम लिनासाथ भयभित हुन्थे ।

क. मनोज लगायत केही कमरेडहरू चैनपुर गा.वि.स. हुँदै वीरेन्द्रनगर गा.वि.स.तिर आउँदै गर्दा एक्कासी जम्का भेट शाही सेनाको डफ्फासँग भयो २०६१ बैशाख ३१ गतेको दिन । केही कमरेडहरू भागेर ज्यान जोगाए, तर उहाँले भिडन्तको विकल्प केही देख्नु भएन । दोहोरो भिडन्तको क्रममा उहाँको ज्यान लियो । क. मनोज एक साहसिक लाल योद्धा क्रान्तिमा गुमाउनु पर्दा पार्टी सङ्गठनले निकै अतुलनीय क्षति बेहोर्न पर्यो । क. मनोज थारू जस्ता हजारौँको सङ्ख्यामा वीर महान् सपूतहरू यो नेपाली धर्तीलाई खाँचो छ, अधूरो क्रान्ति पूरा गर्नका लागि ।

आखिर यिनै वीर होनहार योद्धाहरू(क.मनोज) जस्ता महान् सहिदको बलिदानीपूर्ण इतिहास दश वर्षे महान् ऐतिहासिक जनयुद्ध थियो जो रक्तरंजित नयाँ आयाम थियो । जनयुद्धको राप र तापले नै राजतन्त्रको अन्त्य त भयो, तर त्यही खाली ठाउँमा ‘दलाल पुँजीपति संसदीय व्यवस्था’को विजारोपण गरियो । प्रतिक्रियादवादीबाट नजानिँदो ढङ्गले जो क्रान्तिकारी एवम् परिवर्तनकारी वर्गले भेउ नै पाउन सकेन । जनताले संविधान सभा २०६४ को चुनावपछि आफ्नो हित अनुकूल संविधान लेख्नै पाएन । किनकि, शासन सत्ताको घडीको सुई ठीक उल्टो घुमाइयो । मानौं सोह्रदुना बत्तीसको साटो सोह्रदुना आठ भनेर पढ्न थाले ।

क्रान्तिकारीका नायक भनिएका प्रचण्ड, बाबुराम, बादललगायत नेतृत्वबाट क्रान्तिकारी वर्गलाई मात्र नभई सम्पूर्ण देश र जनताप्रति धोका वा गद्दारी, क्रान्तिप्रति कुठाराघात, देश र जनताप्रति बेइमानी तथा वर्गदुश्मनसामु आत्मसमर्पण भन्ने निश्कर्षमा पुग्न कठिनाइ हुँदैन । के जनताले नेतृत्वलाई साथ नदिएर हार बेहोर्नु परेको हो त महासङग्राम ? हजारौं बलिदानी, त्याग, कुर्वानी लगानी के असफल भएकै हो त ? यी इत्यादि सवाल जवाफको बहस छेडेको छ क्रान्तिकारी जनतामाझमा । प्रतिक्रियावादीले खोई जनसत्ता, जनअदालत, जनसेना ? पानीको फोका बिलाएझैं बिलाएर गयो भनेर खिसी गर्दै छन् । हाँसोको पात्र बनाइरहेका छन् ।

यो नेपाल र नेपाली जनताले सोचेको परिणाम थिएन । नेपाल र नेपाली जनता भनौं वा राष्ट्र र राष्ट्रियतामाथि बज्रप्रहार भएको छ यतिखेर । के ‘दलाल संसदीय व्यवस्था’ ल्याउनकै लागि हजारौंको कुर्वानी लगानी आवश्यक थियो त ? यी प्रश्नको जवाफ न त प्रचण्डसँग छ, न बाबुराम, बादलसँग नै । यसको सही जवाफ क्रान्तिकारी वर्गले नयाँ ढङ्गले नयाँ एकतामा, नयाँ योजना, नयाँ आँट साहसका साथ खोज्न जरूरी छ ।

शान्ति प्रक्रियामा ने.क.पा.(माओवादी) आउँदा नेतृत्व (प्रचण्ड, बाबुराम र बादल कम्पनी) विदेशी दलालहरूको चक्रब्यूहमा फसिसकेको रहेछ । पार्टीको क्रान्तिकारी धार भुत्ते हुन लागिरहेको थियो । झनै पहिलो संविधानसभा बिघटन, जनमुक्ति सेनाको बिघटन लगायत हतियार बुझाउने जस्ता कार्यले नेतृत्व प्रतिक्रियावादी कित्तामा आत्मसमर्पण गर्न नाटकीय ढङ्गले गएको एकपछि अर्को घटनाक्रमले पुष्टी हुन्छ । दोस्रो संविधानसभाको चुनावले प्रतिक्रियावादीको कित्ता झनै मजबुत बन्दै गएको आमजनताले ठम्याइसके ।

धोकामाथि धोका खाएको नेपाली जनता फेरि सङ्गठित हुँदै कमजोरीलाई सच्याएर अगाडि बढ्नुको बिकल्प छैन अब । धोका र गद्दारीका विरुद्ध क्रान्तिकारीहरुले नयाँढँगले दलाल सँसदीय ब्यवस्थाविरुद्ध मालेमाको आलोकमा एकताबद्ध भएर जनविद्रोहमा जुट्नु नै कमरेड मनोज लगायत महान सहिदप्रति सच्चा श्रद्धाञ्ली हुनेछ ।