असावधानीवस खुल्न पुगेको अमेरिका–मेक्सिको गोप्य सहमति

कति टिक्ला ट्रम्पको ब्ल्याक मेलिङ र बार्गेनिङ धन्दा ?

प्रकाशित मिति : २०७६ जेष्ठ ३०

काठमाडौं । अमेरिका–मेक्सिकोबीचमा भएको एक गोप्य सहमति चुहिन पुगेको छ । ट्रम्पको असावधानीका कारण गत साता भएको उक्त गोप्य सहमतिको केही भाग लिक हुन पुगेको हो ।

मेक्सिको र अमेरिकाबीच भएको उक्त गोप्य सहमति मेक्सिको भएर अमेरिका प्रवेश गर्ने आप्रवासी प्रवेशलाई रोक्ने विषयमा भएको थियो । मेक्सिकोले यो कुरामा सहमति जनाएपछि अमेरिकाले मेक्सिकोमाथि वृद्धि गर्ने भनिएको कर हाललाई स्थगित गरिने भएको छ ।

सहमतिको केही भाग खुलासा भएपछि सम्बन्धित पक्षहरु र पत्रकारहरुले जान्न र लिन चाहेका थप सूचना दिन अमेरिकी तथा मेक्सिकोका अधिकारीहरु अनिच्छुक रहेका छन् । कुरा होइन भन्दा पनि यसको केही भाग लिक भइसकेको र हो भनौभने पनि गोप्य रुपमा गरिएको सहमतिले अन्तर्राष्ट्रिय रुपमा सम्बन्धहरु बिगार्ने भएकाले यो दुबै देशका लागि फलामको च्यूरा साबित भएको छ ।

पत्रकारहरुले निकै पिछा गर्दा पनि सहमतिको थप विवरण दिन ट्रम्प भागिरहेका छन् । यतिसम्म कि उनले यो सहमति गोप्य रुपमा भए पनि भएको हो भन्नसम्म पनि चाहेका छैनन् । सहमतिपछि निकै हौसियका ट्रम्पले सहमति भए लगत्तै कागजका पानाहरु दाहिने हातमा हल्लाउँदै पत्रकार भेटघाट गरेका थिए ।

मेक्सिकोलाई उचित समयमा यो सहमतिबारे बोल्ने अबसर दिने भनिरहेका ट्रम्पको हातमा रहेको यो कागजको पाना उनको फोटो लिंदा त्यसैसँग खिचिएको उनले पत्तै पाएका थिएनन् ।

उक्त कागजको पानामा शरणार्थी रोक्नेबारे क्षेत्रीय योजनाको खाका रहेको थियो । अमेरिकी करबाट जोगिन अन्य ल्याटिन अमेरिकी देशहरूलाई निकै अप्ठेरो परिरहेका बेला ट्रम्प ती देशहरुसँग ब्ल्याक मेलिङमा व्यस्त देखिएका छन् । उनको काम भनेको ती देशका प्रमुखहरुसँग दैनिक बार्गेनिङ हुने गरेको छ ।

उक्त गोप्य सहमतिमा दुवै देशले ४५ दिनको समयभित्र सम्झौता सार्वजनिक गर्ने, मेक्सिको शरणार्थी मामिलामा ‘सुरक्षित तेस्रो मुलुक’ बन्ने, त्यसका लागि आवश्यक पर्ने नीति विधि निर्माणका लागि आआफ्ना देशका कानुनहरु संशोधन गर्ने कुरा समेटिएको छ ।

पछिल्लो विवरण अनुसार मेक्सिकोले अमेरिकासँगको सहमति कार्यान्वयनका लागि छिमेकी देश ग्वाटेमालासँगको सिमानामा ६ हजार सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।