अनेरास्ववियु (क्रान्तिकारी) को रिले अनसनको २५ औं दिनमा ऐक्यवद्धता कार्यक्रम

‘अखिल क्रान्तिकारी भ्रष्टहरुको काल बन्न सक्छ’ : हरिकृष्ण गजुरेल

प्रकाशित मिति : २०७६ जेष्ठ ३१

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले क्रान्तिकारी विद्यार्थीहरुको रिले अनसन भ्रष्टहरुका लागि ‘काल’ बन्न सक्ने कुराको उद्घोष गरेका छन् । त्रिभुवन विश्व विद्यालय सेवा आयोगको अगाडी रिले अनसन बसेको २५ औं दिन पूरा भइसकेको बेला आयोजित ऐक्यवद्धता कार्यक्रममा गजुरेलले उक्त कुरा बताएका हुन् । अखिल क्रान्तिकारीको धैर्यता र लचकतालाई यदि कमजोरी ठानियो भने यो दलाल तथा भ्रष्टहरुका लागि काल बनेर आउने र त्यस समयमा दोषी कुनै पनि क्षमा पात्र बन्न नसक्ने उनको दाबी थियो ।

ऐक्यवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले भ्रष्टहरु विदार्थी आन्दोलनबाट ठेगान लाग्ने बताएका थिए । उनका अनुसार शैक्षिक माफिया तथा दलाल र भ्रष्टहरुका लागि अबका संघर्षमय दिनहरु धेरै अनुकूल र ती मौलाउने वातावरण नबन्ने कुरामा जोड दिएका थिए ।

त्रिवि सेवाले त्रिवि सेवाका नाममा खुलाएको सेवा आयोगमा राजनीतिक दलको भागबण्डा, उपकुलपति लगायत त्रिवि सेवाका कर्मचारी तथा प्राध्यापकहरुका आफन्तहरुलाई मात्र त्रिवि सेवाका नाममा सामेल गराई मनोमानी गरेको विरुद्धमा तालाबन्दीबाट सुरु गरिएकोअखिल क्रान्तिकारीको संघर्ष अहिले रिले अनसनको २५ औं दिन पूरा गरी २६ औं दिनमा प्रवेश गरेको छ ।

त्रिवि सेवाका नाममा मनोमानी गरिरहेका भ्रष्टहरुको राजीनामा, आफन्तका नाममा निकालिएको परीक्षा नतिजा रद्द र दोषीहरुमाथि कारवाहीका माग राखेर अखिल (क्रान्तिकारी) को आन्दोलन अघि बढिरहेको छ । यो आन्दोलनात्मक रिले अनसनलाई अन्य विद्यार्थी संगठन, प्राध्यापक, विभिन्न राजनीतिक पार्टीहरु तथा भ्रष्टाचार विरोधी व्यक्ति तथा व्यक्तित्वहरुले साथ र समर्थन दिइरहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, प्राध्यापक डा. सुरेन्द्र केसी, पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायतका नेता तथा व्यक्तित्वहरु अनसन स्थलमै पुगेर रिले अनसनप्रति ऐक्यबद्धता जनाइसेका छन् ।