गुठी विधेयक सांस्कृतिक दलालीकरणको मियो

सांस्कृतिक पहिचान रक्षार्थ प्रतिरोध आन्दोलनमा जनता

प्रकाशित मिति : २०७६ जेष्ठ ३१

काठमाडौं । ओली सरकारले संसदमा पेस गरेको गुठी व्यवस्थापन विधेयक सांस्कृतिक दलालीकरणको मियो रहेकोमा कोही पनि नेपाली दुविधामा छैनन् । त्यसैले पनि ओली सरकारको यो हर्कतका विरुद्ध जनता सडकमा उत्रिएका हुन् ।

कुनै पनि जाति वा समुदायको पहिचान र स्वत्व भनेकै उसको भाषा, भेषभूषा, रहनसहन र संस्कृति हो । जातीय विविधता रहेकोे नेपालमा सबै जाति र समुदायको आआफ्नै विशिष्ट पहिचान रहेको छ । यो पहिचान सांस्कृतिक रुपमा हेको छ ।

देशमा दलालीकरणको प्रक्रियासँगै ओली सरकारले देशमा विद्यमान यी सांस्कृतिक विशिष्टताहरुमाथि प्रहार र अतिक्रमण सुरु गरेको छ । सिंगो राज्यसत्ता र संसदको दुरुपयोग गरेर ओली सरकार नेपालीपन मेटाउन लागि परिरहेको छ । कुनै जाति, राष्ट्र वा विशिष्ट पहिचान मेटानु छ भने त्यसको संस्कृति र इतिहास मेटाइदिनु पर्छ भन्ने साम्राज्यवादीहरुको सूत्र ओली सरकारका लागि खिर साबित भएको छ । विदेशीको दलाली र चाकडीमा आफ्नो सरकारको आयु देखेका प्रम ओली नेपाल नेपालीको पहिचानमाथि धावा बोल्न एकपछि अर्को दलालमैत्री अस्त्र प्रयोग गरिरहेका छन् ।

हाल विवादमा रहेको गुठी व्यवस्थापन विधेयक पनि नेपालीपनविरोधी र दलालमैत्री एउटा अस्त्र हो । नेपालमा लामो समयदेखि प्रचलनमा आएका गुठीहरु एकै प्रकृतिका छैनन् । कतिपय गुठीहरु धार्मिक, कतिपय अरु सामूहिक र अरु कतिपय सांस्कृतिक प्रधान रहेका छन् । काठमाडौंमा रहेका गुठीहरु बढी सांस्कृतिक पहिचानका रहेका छन् ।

यी गुठी आपसी सामूहिकता, सहकार्य र सांस्कृतिक चाडपर्व तथा मेला र जात्राहरु सञ्चालनका लागि प्रयोगमा आएका छन् । देशभर रहेका अन्य धार्मिक गुठीहरुको कुरा भिन्न होला, तर नेवार समुदाय र अन्य कतिपय जनजातिहरुको पहिचान र संस्कृतिसँग जोडिएका गुठीहरु भने फरक प्कृतिका छन् ।

यी परकपन र प्रकृतिलाई पहिचान नै नगरी प्रम ओलीको ब्राह्मणवादी दलाल मानसिकताले एउटै देख्न पुगेपछि नेवार समुदाय र कतिपय जनजाति आदिवासीहरु सडकमा उत्रनुको विकल्प पनि रहेन । यो बाध्यात्मक अवस्था पनि हो । ओलीको मानसिक रुपमा भएको तीब्र दलालीकरण र त्यसको राजनीतिक अभिव्यक्ति धेरेजसो नेपालीपन र पहिचानका लागि घातक र दीर्घकालीन विषसरह रहेका पनि छन् । असंलग्न परराष्ट्रनीति परित्याग गरी इण्डोप्यासिफिक लबीमा अमेरिकाको पुच्छर बनेपछि ओली सरकार नेपाल र नेपालीका हितविरुद्ध ज्यान फालेर लागेका साचो हो ।

दुईतिहाईको दम्भमा अघि बढिरहेको सरकारको विरोध पनि गर्न नपाइने गरी सरकार गठनका सुरु दिनहरुबाटै ओलीले निषेधित इलाका, निषेधात्मक व्यवहार र प्रतिबन्ध प्रयोग गर्दै आएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा पनि प्रहरीलाई अधिकतम् बल प्रयोग गर्न निर्देशन दिने ओलीसरकार पछिल्लो चरण देश तथा जनविरोधी बनेर निस्किएको छ ।

साम्राज्यवादको इशारामा एकातिर तत्काल भूमाफियाहरुलाई पोषाउने र अर्कोतिर सांस्कृतिक पहिचानमाथि आक्रमण र अतिक्रमण गरेर दलालीकरणको राजमार्ग चौडा बनाउने कार्यका ओली सरकारको अर्जुन दृष्टि बन्न गएको छ । यसका विरुद्ध आन्दोलन र प्रतिकारको विकल्प नै छैन ।