खप्कीपछि यातायात व्यवस्था विभागको निर्णय फिर्ता

‘नयाँ भाडादर आगोमा घ्यु’

प्रकाशित मिति : २०७६ जेष्ठ ३१

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको ४ घण्टाको अन्तरालमै आफ्ना निर्णयहरु फिर्ता लिएको छ । निर्णय फिर्तासहित विभागले तत्काल सार्वजनिक सवारी साधानको भाडा वृद्धि नहुने पनि बताएको छ । गुठी व्यवस्थापन विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरुको विरोध भइरहेका बेला आगोमा घ्यु थप्ने यातायात व्यवस्था विभागको निर्णय एक्कासी फिर्ता गरिएको छ ।

यातायात व्यवस्था विभागले भाडा बढाएको निर्णय सार्वजनिक गरेलगत्तै प्रधानमन्त्रीको कार्यालयले चासो लिई विदेश भ्रमणमा रहेका ओलीकहाँ खबर पठाएको थियो । विदेशबाटै ओली राँकिएपछि निर्णय फिर्तासँगै विभागले असार १ गतेदेखि लागू गर्ने भनिएको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारी रोक, रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागु नहुने भनी सूचना टाँस गरेको हो ।

विभागले बिहीबार दिउँसो उपत्यकामा १२ प्रतिशत र उपत्यका बाहिर २० प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरी देशभर नयाँ भाडादर सार्वजनिक गरेको थियो । तर सरकारको विरोधमा यसले बल पुर्याउने भन्दै तत्काल फिर्ता गरिएको छ । फिर्ता गरिएकोमा लाज पचाउँदै विभागले ‘वैज्ञानिक भाडा समायोजन’ को समय माग गरेको छ ।

ओलीको विदेश भ्रमणका बखत नेपालमा केही न केही खिचडी पाक्ने/पकाउने भइरहने गरेको छ । अहिले ओलीकै सरकारी विभागले उक्त काम गरेपछि ओलीले उक्त विभागमा कार्यरत कर्मचारी बर्खास्त गर्नेसम्मको फरमान जारी गरेको पनि बताइएको छ ।