एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको सफलता

प्रकाशित मिति : २०७६ जेष्ठ २२

इङ्ग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेर पहिलो जित हात पारेको छ । श्रीलंकाले अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गरेको हो ।

प्रतिस्पर्धामा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा अलआउट भएको थियो । खेलमा अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ४३ रन बनाएका थिए भने जरतउल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडेका थिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका नुवान प्रदीपले ४ र लासिथ मालिंगाले ३ विकेट लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रन जोडेका थिए ।