गोर्खा पल्टनदेखि जनयुद्धको महायात्रासम्म क.लेकाली

प्रकाशित मिति : २०७६ जेष्ठ २२

- अनिल शर्मा ‘विरही’

पिता लालबहादुर गुरुङ्ग र आमा कपूर्णा गुरुङ्गको कोखबाट वि.सं. २००१ म नागीधार ठूलेगाउँ, मिजुरे–२, कास्कीमा जन्मिनु भएका क. डम्बर बहादुर गुरुङ्गको पार्टीमा साङ्केतिक नाम ‘लेकाली’ थियो । भनिन्छ हरेक मान्छेको जीवन चाहे त्यो विश्व चर्चित नायक होस् या भेडी गोठालो, उसको जीवनकथा आफैंमा एउटा विशाल काव्य हो । द्वन्द्वरत समाजमा कवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं ‘लहराउनु, चलमलाउनु र गुनगुनाउनु नै जीवन’ रहेछ ।

नेपालका हिमनदी धेरैले तिब्बतका पठारमा सालनाल गाडेका छन् । महाभारतका कन्दरामा भोटो फेरेका छन् र गङ्गाको मैदानमा जवानीको सयपत्री फुलाएका छन् । यो गोलभूगोलका सबै हण्डर ठक्कर र मुटुको कुनामा सजाएर बगेका छन् हिम–नदी । लाग्छ क. लेकालीको जीवनयात्रा आफैंमा हिमनदीको यात्रा हो । जो जिम्मुवाल परिवारमा जन्म्यो, चितवनको सर्प र लामखुट्टेसँग खेल्यो, गोर्खा फौजदेखि जनयुद्धको यात्रासम्म यात्रारत रह्यो ।

डम्बरबहादुर गुरुङ्गका बुवा जिम्मुवाल थिए । परम्पराअनुसार गाउँका निम्सराले जिम्मुवालको घरमा चाडबाडमा खसीको टाउको र फल मासु बुझाउनु पथ्र्यो । पारिश्रमिक नलिई मेलापात गरिदिनु पर्थ्यो । समाजमा जिम्मुवाल बाको आदेश र इच्छाबिना पात पनि हल्लिन्न थियो । परिवारको सामन्ती आडम्बर, आर्थिक र सांस्कृतिक उत्पीडन क. डम्बरलाई मन परेन । तर त्यसको कारण र मुक्तिको बाटो भने उनले देखेका थिएनन् । परम्परागत समाज र जीवनप्रतिको असन्तोष तथा नयाँ संसार अदृश्य भैरहेको बेला उहाँ गाउँ छोडेर काठमाडौं पुग्नुभयो ।

काठमाडौंमा पनि लामो समय उहाँको मन थामिएन । त्यसपछि डम्बरबहादुर गुरुङ्ग चितवन हानिनु भयो । पैत्रिक सम्पत्ति नै नलिइकन उहाँ भौतारिनु भएको थियो । शारदानगर–९, चितवनमा उहाँको स्थायी बसोबास भयो । २०२६ सालमा शारदानगर–१ की पार्वती गुरुङ्गसँग उहाँको विवाह सम्पन्न भएको थियो । डम्बरका एक छोरा सुरेन्द्र गुरुङ्ग, छोरीहरू विनागुरुङ्ग र रमा गुरुङ्ग हुनुहुन्छ । डम्बर गुरुङ्गले शारदानगर मा.वि.बाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएको थियो । उहाँले शिक्षण तालिम लिएपछि शिवनगर गा.वि.स.को सूर्यनगरमा शिक्षण पेशा गर्नुभएको थियो ।

शिक्षण पेशामा रहेकै समयमा डम्बरबहादुर गुरुङ्ग भारतीय सेनाको ‘गोर्खा पल्टन’ मा भर्ना हुनुभयो । विकसित उत्पादक शक्तिसँगको सम्पर्कले उहाँमा रहेको सामन्तवादविरोधी चेतना झनै समृद्ध बन्ने भौतिक अवस्था सिर्जना भयो । आफ्नो जीवन, नेपाली दाजुभाइको जीवन पराइको निम्ति किन बिताउनु पर्यो ? उहाँको मनमा आफ्नो दासजस्तो जीवनप्रति असन्तोष पैदा भयो । उहाँमा विकसित भैरहेको मात्रात्मक विद्रोही चेतनाले गुणात्मकता हासिलगर्दै थियो । त्यसैबीच सन् १९६५ मा भारत र पाकिस्तानको बीचमा युद्ध भयो । त्यो युद्धमा गोर्खा पल्टन सहभागी भयो । हजारौं नेपाली घाइते भए, अपाङ्ग बने र मृत्युवरण गर्न बाध्य भए । अर्काको स्वार्थका लागि रगत बगाउनु पर्दा स्वाभीमानी हृदयहरू बिचलित भैरहेका थिए ।

एक दिन उहाँले अर्काका लागि रगत नबगाउने अठोट गरेर नेपाल फर्किनुभयो । गोर्खा पल्टन छोड्नुका कारण सोध्दा उहाँ भन्नुहुन्थ्यो –“गोर्खा पल्टनका हामी र पाकिस्तानी सेना आम्नेसाम्नेमा रहेर गोलाबारी चलिरहेको थियो । पाकिस्तानी सेनाले वाकीटकी यन्त्रबाट ‘देखो गोर्खाली भाइ तुम मरोगे तो कुत्ता जैसा मरोगे, हम मरेंगें तो सहीद बनेंगे’ भने । त्यसले मेरो हृदय छियाछिया पार्यो । त्यसपछि जे गर्छु आफ्नै देशका लागि गर्छु भनेर पल्टन छोडेर फर्किएँ ।” उहाँ गोर्खा पल्टनमा हवल्दार पदमा हुनुहुन्थ्यो । जम्दार पदोन्नती हुने क्रममा भारतीय हाकिमसँग चर्को द्वन्द्व भएको स्मरण गर्नुहुन्थ्यो उहाँ । भारतीय गोर्खा पल्टन छोडेर नेपाल फर्किएपछि उहाँ कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभयो । उहाँमा भारतीय सेनामा रहँदादेखि नै कम्युनिष्टप्रति सहानुभूति थियो ।

२०३४ सालमा चितवनका भोकानाङ्गा जनताले सामन्ती शोषणविरुद्ध विद्रोह गरेका थिए । त्यो विद्रोहलाई ‘जुगेडी संघर्ष’ भनिन्थ्यो । त्यो विद्रोहका एकजना (काउले, दुम्किनगाउँ) का डम्बरबहादुर गुरुङ्गलाई पक्राउपूर्जी जारी गरिएको रहेछ । नाम मिल्न गएका कारण प्रहरीले उहाँको खोजी गर्न थालेपछि केही समय भूमिगत हुनुभएको थियो ।

जुगेडी विद्रोहसँग जोडेर बिनाकारण आफूलाई दुःख दिएपछि त्यो आन्दोलनका विषयमा जान्ने जिज्ञासा पैदा भएको कुरा क. लेकालीले बताउने गर्नुहुन्थ्यो । त्यो प्रसङ्गले उहाँलाई कम्युनिष्ट बन्ने प्रक्रियामा गतिप्रदान गरेको देखिन्छ । क. रामबहादर थापा ‘बादल’ र क. डम्बरबहादुर गुरुङ्ग ‘लेकाली’कुनै बेला एउटै पार्टी सेलका सदस्य थिए ।

संयोग पनि कस्तो थियो भने क. बादलले शोभियत सङ्घको छात्रवृत्तिको अध्ययन छोडेर क्रान्तिका लागि नेपाल आएका थिए भने क. लेकाली गोर्खा पल्टन छाडेर आएका थिए । क. लेकालीप्रति माओवादी पार्टी नेता क. बादलको गहिरो सहानुभूति देखिन्थ्यो । त्यस सन्दर्भमा क. शोभा कट्टेल ‘प्रतिभा’ भन्नुहुन्छ, “२०५६ सालमा गोरखपुरमा बादलदाइसँग भेट हुँदा चितवनका लेकाली बा एकजनाको विषयमा मात्र मसँग हालखबर सोध्नु भएको थियो ।

त्यसबाट बादल दाइले लेकाली बालाई कति धेरै सहानुभूति राख्नु हुँदो रहेछ भनेर अहिले पनि म चकित हुने गर्छु ।” शारदानगर–७, किरणगञ्जस्थित रानीपोखरी देखाउँदै क. प्रतिभाले क. लेकाली र क. बादलको आपसी सम्बन्धका सन्दर्भमा भन्नु भएको थियो “डम्बर बुवा र बादलदाइले यही पोखरीमा पौडी खेल्न सिक्नु भएको हो रे ।”

२०५५ सालसम्म क. लेकाली पार्टीको चितवन जिल्ला सदस्य हुनुहुन्थ्यो । २०५५ मा जिल्ला सदस्य पेशेवर हुनुपर्ने निर्णय भएपछि उहाँ इलाका सदस्यमा झर्नुभयो । त्यसपछि उहाँ उपइलाका इञ्चार्ज बन्नु भयो । २०५७ सालमा उहाँ पेशेवर कार्यकर्ता बन्नुभयो । २०५७ मा खुशीराम पाख्रिन प्रवासतिर जानुभयो भने क. लेकाली पोखरा जानुभएको थियो । त्यसपछि उहाँ फेरि चितवन जिल्ला पार्टी सदस्य बन्नु भयो । २०५९ भाद्रमा उहाँ चितवन फर्किनु भएको थियो ।

२०५९ भाद्रमा छोरा सुरेन्द्रले चितवनको पहाडी क्षेत्रमा पार्टी सम्पर्कमा जानका लागि क. लेकालीलाई कयर खोलाको शिरमा पु¥याइदिएका थिए । त्यसपछि उहाँ त्यही क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । २०५९ कार्तिक २५ गतेको दिन हो, ३ दिने नेपाल बन्दको कार्यक्रम थियो । चण्डी भञ्ज्याङ्गको भालुभञ्ज्याङ्गमा क. लेकाली र क.दलबहादुर बास बसेका थिए । जनजागरण अभियान थियो । उनीहरू त्यस दिनदाहाखानीबस्ने योजना रहेछ । तर शाही सेनागाउँ पसेको हल्लाचलेका कारण तमु मोर्चाको काम पनि हुने, गुरुङ्ग समाजमा आपूmलाई बस्न सहज पनि हने र सेना त्यतातिर आउन सक्ने निष्कर्ष निकालेपछि उनीहरू दुई जना चण्डी भञ्ज्याङको तम्कासमा बास लिनपुगे ।

घटना भएको दिनसँगै रहेका क.दण्डपाणी पौडेल ‘दलबहादुर’ त्यो क्षण स्मरण गर्दै भन्छन्, “तम्कासबाट बिहान उठेर हिँड्यौं । भालुभञ्ज्याङ्गपुग्दा सेना जस्तो लाग्यो, तर ठम्याउन सकिएन । सेना हो कि गाईवस्तु हो जस्तो तिरमिर भयो । दुईटा बूढा छलफल गर्दै हिँडेका थियौं । चौबाटोमा पुग्दात सेनाले घेरिसकेको रहेछ । अलिकति पछाडि फर्केर गल्छीबाट भीरतिर हाम्फाल्यौं । अंग्रेजी ‘भी’ अक्षरको भित्रतिर उहाँ घेरा तोड्न दौडनु भएछ । संयोगवश म बाहिर परेछु ।

शाहीनेपाली सेनाले ‘भी’आकारमा घेरा हालेको रहेछ । दुई फायर सुनिएको थियो । म निगालो घारीमा लुकेँ । उहाँलाई कब्जामा लिएर हत्या गरेछन् । तीन दिनपछि पार्टीमा खबर पुर्याएँ । कालीखोला पुगेर पार्टीमा सम्पर्क गरेको थिएँ ।” क. दलबहादुर सो घटनाको सन्दर्भमा अझ अगाडि भन्छन्, “स्थानीय जनताले हात बाँधेर लिएर गएको छ भनेका थिए । तर हत्या गरेका रहेछन् । छ दिनपछि शव फेलापर्यो ।” क. लेकालीको हत्याभएको स्थान भालुभञ्ज्याङ्गमा ‘लेकाली स्मृति चौतारी’ निर्माण गर्ने घोषणा चितवन पार्टीले त्यसैबेला गरेको थियो । तर त्यो कार्य २०६८ सालसम्म पनि भएको छैन ।

क. लेकालीको गिरफ्तारीको खबर घरमा क. निलकण्ठ सुवेदी ‘सुभास’ ले पुर्याउनु भएको थियो । शाही सेनाको बैरेनी बाहिनीले गिरफ्तार गरेको थियो । “सैनिक जवान पूर्णबहादुर विश्वकर्मालाई लिएर सेनाका विभिन्न अखडामा गएँ । जीवन रक्षाका लागि एम्नेष्टि इन्टरनेशनल र राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन गरें” छोरा सुरेन्द्र भावुकहुँदै भन्छन् । क. लेकालीको सहादत भएको खबर घरसम्म क. घननाथ सापकोटा ‘विकास’ले पुर्याएका थिए । क. लेकालीको हत्या गरेपछि शव लिन माओवादीहरू आउँछन् भनेर ३ दिनसम्म शाही सेना घात लगाएर बसेको थियो ।

२०५९ भाद्र २३ गते ‘बासु स्मृतिदिवस’को दिनगोर्खाको ताकुप्रहरी चौकीकब्जा गरेको थियो । त्यसको दुई दिनपछि शाही सेनाले गिरेको मनोबल उठाउन नक्कली भिडन्तको नाटक रचेर निशस्त्र माओवादी नेता क. लेकालीको बर्बरतापूर्ण हत्या गर्यो ।

बुवासँगका ती प्रिय दिनको स्मरण गर्दै सुरेन्द्र गुरुङ्ग भन्छन्–“बाबा रिसाउनु भयो भने नारायणगढ गएर अखबार ल्याइदिएपछि रिसाउन छोड्नुहुन्थ्यो । एकपटक माडीमा गल्ला आएको रहेछ । केटाहरुले जाऊँ भनेपछि बाबालाई नसोधी गएँ । गल्लाहरूले मलाई मन पराए । शरीरमा नम्बर लेखेका थिए । त्यो देखेर बाबाले रिसाउँदै थुक्नु भएको थियो ।” छोरा सुरेन्द्रले त्यसो भन्दै गर्दा आमा पार्बती गुरुङ्गले सुरेन्द्रलाई उछिन्दै थप्नुहुन्छ– “भर्तिको त नामै लिनहुँदैनथ्यो नि ।” आफ्नै जीवनको एउटा कालखण्ड, भाडाको सैनिक जीवनप्रति उहाँमा त्यत्ति धेरै घृणा थियो ।

२०४५ सालमा सुरेन्द्रलाई उनका बुवा डम्बरले कलाकार टोलीमा सम्पर्क गराउनु भएको हो । उहाँले छोरालाई ‘असल कम्युनिष्ट कसरी बन्ने?’ भन्ने ल्यू शाओ चीको पुस्तक अध्ययन गर्न दिनुभएको थियो । मान्छेका आफ्नै आदर्श र रमाइलो गर्ने बान्कीहरू हुन्छन् । जिम्मुवाल पुर्खा र जनजाति भए पनि जुवातास र जाँडपानीको कुनै शोख क. लेकालीमा थिएन । साथीहरू जम्मा भएर बस्ने र आन्दोलनका विभिन्न पक्षमा छलफल चलाउने गर्नुहुन्थ्यो क. लेकाली । ‘खराब आचरण र व्यवहार खराब चिन्तनकै परिणाम हुन्’ भन्ने कुरालाई क. लेकालीले जीवनव्यवहारमा लागू गर्नुभएको थियो ।

आचरण र व्यवहारमा बुर्जुवाभन्दा पछाडि लम्पट श्रमिकभन्दा पछाडि देखिने तर विचारमा मात्रै क्रान्तिकारी देखिने कम्युनिष्ट आन्दोलनको समस्याबाट क. लेकाली पृथक हुनुहुन्थ्यो । क. लेकालीको पाको उमेरमा जनयुद्धको महान् यात्रामा सहीद बन्नुभयो । चितवनको भालु भञ्ज्याङ्गमा उहाँले सहादतप्राप्त गर्नुभयो । लाग्छ, भालु भञ्ज्याङ्ग अहिले पनि क. लेकालीले माइला लामाको यो गीत गाइरहनु भएको छ–

‘आमाले आँशु बगाउनु होला नरुनु भन्दिनु
पार्टीलाई मेरो कमिज दिनु सहीद भो भन्दिनु
गद्दारले धोका जनतालाई देलान् आन्दोलन नरोक्नु
गलामा लागोस् फाँसीको फन्दा तै पनि नझुक्नु ।

(साभार : समर प्रतीक मासिकबाट साभार)