अनागरिक

झर्रोटर्रो ः कैलुब्राह

प्रकाशित मिति : २०७६ जेष्ठ २१

यही मैनाको तेर गते गैरसरकारी नेकपा उर्फ रोल्पाली बाबुसाबको पाटीले नेपाल मण्डलमा भोटे ताल्चा ठोक्यो । आफ्ना पाटीका नेता र कार्यकर्ताहर्लाई सरखारले झ्यालखानामा कोचेको र एकजनालाई त गोली हानेर ठाउँका ठाउँ खुस्रुकै पार्यो । यो घटनाले बाबुसाबलाई हुनसम्मको रिस उठ्यो । आफ्ना नेतालाई छोप्दै झ्यालखानामा लगेर कोच्दै गर्ने र कार्यकर्तालाई त घुत्रुकै पारेर मारिदिएपछि जस्लाई पनि रिस उठ्छ । रिस उठ्नु स्वभाविक पनि हो ।

हिज मिस्टर सुप्रिमोलाई पनि उठेकै त हो । उखानेलाई पनि उठेकै हो । त्यसको विरोधमा बाबुसाबको पाटीले नेपाल मण्डलमा ताल्चा ठोकेर बन्द गरिदिए । मुलुकमै ताल्चा ठोकपछि त सबै ठाउँका ठाउँ बन्दमा परेर बन्धक भए । ताल्चा ठोकेर बन्द गराउने क्रममा सरखारलाई तर्साउन, बन्दको अपहेलना गर्नेहलाई धम्काएर सातोपुत्लो उडाइदिनका लागि दुईचार ठाउँमा गोला बारुद पड्काउने योजना बनाए ।

केही ठाउँमा धडाम् धुडुम् पारेर पड्काए पनि । त्यसै क्रममा काठमाण्डु खाल्टोमा पडकाउने तयारी गर्न थालेको बेला दुइचार ठाममा भडाङभुडुङ भएर पड्किहाल्यो । बमगोला पड्काउँदा बाबुसाबका चारपाँच थान लडाकाहरू पनि पड्किहाले । पाँच थान लडाका परमधाम पुगे भने केही घाइते भए । बाबुसाबलाई पर्यो फसाद ।

पैला पैलाको बन्द भन्दा यसपालाको बन्दा निकै सुनसान भयो । पैलापैला त सहर बजारभित्र गाडि मोटर घारघार घुरघुर गरेर गुड्थे । यसपाला त ती पनि चुपचाप भए । आफ्ना लडाकाले ज्यान गुमाएपछि त बाबुसाबले पनि बमगोला पड्काउने काम आफ्नो पाटीले गरेको भनेर स्वीकार्न बाध्य हुन पर्यो । पैला पैलाका बन्दमा पनि पड्काउने काम त भएकै थियो तर कस्ले पड्कायो भनेर कसैले पनि जिम्म लिँदैनथ्यो । बाबुसाबले पनि कैल्यै पनि जिम्मा लिएका थिएनन् ।

तर यसपाला आफ्ना लडाका मरेपछि र घाइते भएका पकडिएपछि जिम्मा लिनै पर्ने भयो । उनले जिम्मा लिएपछि सरखारलाई पक्का प्रमाण भैहाल्यो । उसले खोजेकै प्रमाण थ्यो त्यो पाइहाल्यो । सरखारको काम भनेको सतपुर्खे प्रमाण भिराएर त मुद्दामामिला लगाउँथ्यो, झन तात्तातो प्रमाण पाएपछि उसलाई के खोज्छस् नेत्रहीन आँखो भनेझैँ भयो । अब उसलाई पैला पकडिएर झ्यालखानामा कोचिएकालाई पनि यै तेर गतेको बन्दमा मारिएका मनुखे र बमगोलाको मुद्दा लाएर थुनिराख्न मिल्ने भयो ।

सम्विधान लेखेर तिन्टा सरखार बनाएर ककटेल पिकनिक खाइरहेको सरखारी कम्निस पाटीलाई त दाँतैमा ढुङ्गो लागि हाल्यो । अझ पुलिस मन्तरी भएका मिस्टर लिनप्याओवादीलाई त हुन सम्मको रिस यठ्ने कुरो भैहाल्यो । हिज एउटै पाटीमा हुँदा आफ्नै विरुद्ध मोर्चा कसेर गुटको खेलामेला गरेर सताएका बाबुसाबलाई कसरी ठिक पारेर बदला लिउँ भनेर मुमुरिएका पुलिस मन्तरीलाई झोँक चलेकै थियो ।

तेर गते बाबुसाबको भोठेताल्चाले नेपाल पुरै बन्द भएपछि जताततै उनको चर्चा हुन थाल्यो । देश विदेशमा उनको पाटीको चर्चा सुलहझैँ पैmलिहाल्यो । नेपाल मण्डलमा अब सुशासन छ, शान्ति र अमनचैन छ भनेर कमण्डलु थाप्दै हिँडेको उखानेको सरखारलाई कमण्डलु रित्तो हुने अवस्था आयो । कमण्डलु रित्तो हुने भएपछि खसीको टाउको झुण्डाएको दुकानका मान्नेहर्को पनि झोँक चल्ने, रिस उठ्ने, छटपटी हुने कुरो त भैहाल्यो ।

त्यसैले पुलिसमन्तरीलाई यो घटनाको बारेमा मान्नेहलाई प्रस्ट पार्न र्याखर्याख पारे । मान्नेहर्लाई जबाफ दिनै पर्ने भयो । मान्नेहर्ले बमगोलाबाट मारिने को हुन्, के हुन् भनेर प्रश्न गरे । त्यसपछि पुलिस मन्तरीले बडा गजबसित जबाफ दिए ‘बमगोला पट्काउने घोर आतङ्ककारी हुन् । घटनामा मारिनेहर्त झन् नागरिक नै हैनन् । ती अनागरिक हुन् । सतपुर्खे बानरका चोला पनि हुन सक्चन् ।’ हुन पनि हो ती अनागरिक नै हुन् । ती नेपाल मण्डलका नागरिक हुनै सक्तैनन् ।

नेपाली नागरिकले नेपाल मण्डलमा बमगोला कसरी पट्काउन सक्च ? त्यै भर हिज जनयुद्धमा बमगोला पट्काउँदा सुप्रिमो, डाक्टर र आफूहरू सबै पर्भुका देशाँ बसेका थे । नेपाल मण्डलमा जम्मेको, उसको जिजुपुर्खादेखि बसेको मनुखे नेपालको नागरिक हुनै सक्दैन । यहाँको नागरिक हुन त पर्भुको देशतिरबाट आएको हुन पर्च । त्यै भएर त पुलिस मन्तरीले नागरिकता विधेयक ल्याएर पर्भुका देशबाट आएका दलाल, ब्यापारी, चटपटे, सबैलाई नागरिकता दिएर यतैको बंश बनाएर राख्न खोजेका हुन् ।

सरखार चलाउन, मन्तरी बन्न, पाटी चलाउन पर्भुको आशिर्वाद नलिई हुँदैन । यो सबै गर्न पर्भुको आशिर्वाद चाहिन्छ भने भोट हाल्ने मनुखे पनि उतैबाट आएकालाई पक्का बनाएपछि यहाँका रैथाने अनागरिकलाई मानिराख्नु पनि परेन । त्यैभएर यहाँका रैथाने अनागरिकलाई विदेश पठाउने र पर्भुले पठाएकालाई यहाँको वास्तविक नागरिक बनाएपछि आफ्नो सत्ताको आयु पनि लामो हुने र बमगोला पड्काउनेलाई ठिक पार्न सजिलो हुने भनेर पुलिस मन्तरीले नागरिकता विधेयक ल्याएका हुन् ।

त्यसैले यो कैलुब्राह पनि के ठहरमा पुगेको छ भने नेपाल मण्डलमा बसोबास गरेका रैथाने मनुखे जति अनागरिक हुन् । किनकि तिनले गरिबगुरुवाको व्यवस्था आ’छैन भनेर कराइरखेका छन् । खान, लाउन, पढनलेख्न, र गतिलोसित बाँच्ने अधिकार आ’कै छैन भनेर कराउने जति अनागरिक हुन् ।