सुडानी सेनाद्वारा विरोध प्रदर्शनकारीमाथि बर्बर आक्रमण

प्रकाशित मिति : २०७६ जेष्ठ २१

काठमाडौं । सुडानमा अहिले सत्ताधारी सेना र प्रतिपक्षमा रहेका दलहरुका बीचमा भिडन्त भइरहेको छ । सडकमा उत्रिएका राजनीतिक दलका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमाथि सत्तासिन सेनाले दमनको नीति अख्तियार गरेको छ । हालसम्मको सैन्य दमनमा ३० जना भन्दा बढीको ज्यान गइसकेको छ भने सैयौं घाइते बनाइएका छन् ।

लामो समयसम्म सत्ता सम्हालिरहेका ओमर अल बसिरलाई सत्ताच्यूत गरेपछि सुडानमा अहिले राजनीतिक संक्रमणकाल सुरु भएको छ । त्यहाँको सेनाले शक्ति आफ््नो हातमा लिएको छ ।

राजनीतिक दलको शासनको अन्त्य र सैन्य शासनको सुरुआतसँगै सेना र राजनीतिक दलहरुका बीचमा भएको सम्झौता पनि दुवै तर्फबाट तोडिएको घोषणा गरिएको छ । व्यापक जनताको सहभागितासहित राजधानी खार्तोममा राजनीतिक दलहरु सडकमा उत्रिएपछि सेनाले निशस्त्र प्रदर्शनकारीहरुमाथि दमनको नीति अख्तियार गरेको थियो । यो सैन्य दमनको विश्वभर निन्दा र भर्त्सना गरिएको छ ।

निशस्त्र प्रदर्शनकारीहरुमाथि निरन्तर गरिंदै आएको दमनहरुमा सोमबारको दमन निकै अमानवीय र आततायी प्रकृतिको रहेको मानव अधिकारकर्मीहरुले बताएका छन् । यसको अफ्रिकी युनियन तथा संयुक्त राष्ट्रसंघले पनि घोर निन्दा गरेका छन् ।

सैन्य शासनको अन्त्य गरेर नागरिक शासनतिर देशको संक्रमणलाई डोर्याउन सडकमा उत्रिएका प्रदर्शनकारीहरुले यसलाई एक विभत्स नरसंहारकारी घटनाको संज्ञा दिएका छन् । राजनीतिक दलका प्रदर्शनकारीहरुले हप्तौंदेखि सैन्य हेडक्वार्टरको बाहिर बसेर नागरिक शासन बहालीको मागसहित हडताल गरिरहेका छन् ।

राजनीतिक दलहरुले निरन्तर हडताल गरिरहेपछि सेनाले राजनीतिक दलहरुसँग गरेको समझौता रद्द गरेको घोषणा गरी आक्रमणमा उत्रिएको छ । सैन्य मुख्यालय अगाडि क्यामप राखेर बसेका प्रदर्शनकारीहरुमाथि फौजी हमला गरिएको थियो ।