काठमाडौं । ठमेल स्थित कमलपोखरी र असनको क्वथुननि बचाउन असन चोकमा बृहत हस्ताक्षर अभियान शनिबारदेखि जारी छ । सरकारी अड्डाका भ्रष्ट कर्मचारीहरुसँग मिलेर भूमाफियाहरुले धमाधम स्थानीय नेवाः समुदायको सार्वजनिक साँस्कृतिक सम्पदामाथि समेत अतिक्रमण गरी व्यवसायिक महलहरु बनाउन थालेपछि स्थानीय नेवाः समुदाय आन्दोलित बन्दै आएका छन् । ठमेलको ऐतिहासिक र साँस्कृतिक तथा धार्मिक महत्व बोकेको कमलपोखरीको  नामोनिसाना नरहने गरी भूमाफियाहरुले कब्जा गरी छायाँदेवी कम्प्लेक्स बनाएपछि आन्दोलित बन्दै आएका नेवाः अभियन्ताहरु पछिल्लोपटक भूमाफियाहरुले असन चोकमा रहेको क्वथुननीमा अतिक्रमण गर्न पुगेपछि सम्पदा बचाउन हस्ताक्षर अभियानमा जुटेका छन् ।

हार्दिक शुभकामना !


का.जि.का.म.पा. साविक वडा नं. २७ हाल वडा नं. २५ कि.नं. १७६७, क्षेत्रफल ०–८–०–३ को घर जग्गामा १४ परिवारका पुर्खाहरुले सन्तान दरसन्तान बस्न पाउने गरी भूवहाल तिरी बर्षौं अघिदेखि घर बनाई बसोबास गर्दै आएको र श्री ५ को वायुदेवता गुठी भनी फिल्डबुक खडा गरिएको र सोह बमोजिम दर्ता श्रेस्ता पनि बनेको उक्त जग्गाको भोगचलनका लागि पछिल्लो समय २०७० फागुन ८ गते गुठी संस्थान र उक्त घरमा आश्रित १४ परिवारबीच भूबहाल बुझाई निरन्तर भोग चलन गर्न पाउने, ५÷५ बर्षमा बहाल रकम पुनरावलोकन गर्ने, घर मर्मत सम्भारको दायित्व भोगचलन गरी बसी आएकाहरुको हुने सर्तसहितको सम्झौता भएपनि पनि गुठी संस्थानले भने बज्रयोगिनी सामान्य बहुउद्देश्यीय कम्पनीलाई उक्त घर भत्काई निर्माण गर्ने गरी २५ बर्षका लागि लिजमा दिने निर्णय गरेको छ । र, पछिल्लो पटक ०७६ बैशाख ११ गते १४ परिवारको नाममा उक्त घर खाली गरिदिन ३ दिने सूचना समेत टाँस गरिएपछि ५०० वर्ष पुरानो श्री अमिताभ बुद्धको प्रतिमा समेत रहेकोे तथा बर्षौदेखि स्थानीय नेवाः समुदायले पूजाआजा समेत गर्दै आएको साँस्कृतिक सम्पदाको समेत महत्व बोकेको उक्त घर तथा सम्पदा बचाउनका लागि नेवाः अभियन्ताहरु आन्दोलित बनेका हुन् । वि.स.१९५३ सालदेखि नै उक्त जग्गा १४ परिवारका पूर्खाहरुले भोगचलन गर्दै आएको कागजी प्रमाणहरु रहेका छन् ।

उक्त घर जग्गा भूमाफियाहरुले कब्जा गर्ने चलखेल बढाएपछि अभियन्ताहरु असन क्वठुननी बचाउ अभियान नामको संघर्ष समिति नै बनाएर आन्दोलित बनेका छन् । उनीहरुले पटक पटक अदालतमा पनि ऐतिहासिक कागजातहरुसहित मुद्दा दाहेर गरेका छन् । काठमाडौं अदालतले १४ परिवारको पक्षमा फैसला गरेपनि पुनरावेदनले विपक्षमा फैसला गरेपछि अहिले मुद्दा सर्वोच्चमा विचराधिन अवस्थामा रहेको संघर्ष समितिका सचिव सजीव बज्राचार्यले बताए ।


संघर्ष समितिका अध्यक्ष नमस्ते सायमीका अनुसार गुठी संस्थान ऐन बमोजिम उक्त श्री ५ को वायुदेवता गुठी छुट गुठी भएकोले सबै अभिकार गुठी संस्थानमा सरी गुठीका तालुकदारको सबै कानुनी अधिकार र हैसित समाप्त भइसकेको अवस्थामा तालुकदार लिलाविक्रम शाहले जग्गा धनी पुर्जामा साविक जग्गा धनी “श्री गुठी संस्थान”को नाम हटाएर “श्री ५ को वायुदेवता गुठी” मात्र उल्लेख भएको पुर्जा बनाई महानगरपालिकामा रैकर जग्गा उल्लेख गरी नक्सा पास गरेपश्चात छुट गुठीको जग्गालाई गुठी तैनाथी जग्गा भनी गलत परिभाषित समेत गरी आफ्नो स्वामित्व नै नभएको जग्गामा कानुन विपरीत गुठी संस्थानको सहमति नलिई गरेको नक्सा पासलाई कानुनतः गलत भनी सम्मानित सर्वोच्च अदालतमा मुद्दा चल्दै गरेको अवस्थामा १४ परिवारसँग गरिएको सम्झौताविपरीत बज्रयोगिनी सामान्य बहुउद्देश्यीय कम्पनीलाई २५ वर्षे लिजमा दिने सम्झौता गरेपछि नेवाः अभियन्ताहरु आन्दोलित बनेका हुन् ।


उनले भने, “स्थानीय नेवाः जातिको ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका सम्पदाका घर तथा त्यहाँ रहेका देवस्थल चैत्यहरुको संरक्षण सम्बद्र्धनका लागि बर्षौदेखि बस्दै आएका आश्रित १४ परिवारहरुलाई विस्थापित गर्न पाइदैन । यो सम्पदा बचाउने अभियानमा सहयोग पु¥याउन हामी सबै नागरिक समाज, पत्रकार तथा न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपील गर्दछौं । र, त्यसैका लागि हस्ताक्षर अभियान चलाएका छौं ।”
शनिबारदेखि चलाएको हस्ताक्षर अभियानमा ७ हजार बढीको हस्ताक्षर संकलन भएको सायमीले मूलबाटोलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार