मोदीले लिए क्याबिनेट मन्त्रीसहित सपथ, दोस्रो कार्यकाल सुरु

प्रकाशित मिति : २०७६ जेष्ठ १७

काठमाडौं । भाजपाका नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले विहीवार राष्ट्रपति रामनाथ कोविन्दबाट सपथ लिएपछि उनको दोस्रो कार्यकाल सुरु भएको छ । दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ आयोजित समारोहमा मोदीले भारतको १५औँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

भारतीय संविधानको संवैधानिक प्रावधान अनुसार राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ खुवाएका थिए । यसअघि, सन् २०१४, को परम्परा कायम गर्दै मोदीले यस पटक पनि राष्ट्रपति भवनको प्रांगणमा शपथ लिएका थिए । प्रधानमन्त्रीका रुपमा मोदीले सपथ लिएलगत्तै केन्द्र सरकारमा सामेल क्याबिनेट मन्त्रीहरुले क्रमशः सपथ लिएका थिए ।

मोदी आफै भारतीय जनता पार्टीका तर्फबाट मात्र निर्वाचित नभई भाजपाले नेतृत्व गरेको गठबन्धन (एनडीए) का पनि संसदीय दलका नेता भएकाले उनले सबैलाई समेट्ने गरी मन्त्रिमण्डल निर्माण थालेका छन् । उनको मन्त्रीमण्डलमा केही नयाँ अनुहारले स्थान पाएका छन् ।

उनको क्याबिनेट मन्त्रीमा राजनाथ सिंह, अमित शाह, नितिन गड्करी, सदानन्द गौंडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसाद, थावरचन्द गहलोत, हरसिमरत कौर बादल, एस जयशंकर, मुख्तर अब्बास नाक्भी, रमेश पोखरियाल निशंक, अर्जुन मुण्डा, स्मृति इरानी, डा. हर्षबद्र्धन, प्रकाश जावडेकर, पियुष गोयल, धर्मेन्द्र प्रधान, महेन्द्रनाथ पाण्डेले सपथ लिएका छन् ।