काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गर्दा बेला नै आफू र केपी ओलीका बीचमा आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको खुलासा गरेछि फेरि एकपटक सत्ताधारीहरुका बीचमा खैलाबैला मच्चिएको छ । ओली वा दाहाल को प्रधानमन्त्री हुने वा नहुने भन्ने कुराले देश र जनताका लागि खासै महत्व नराखे पनि दलाल तथा बिचौलियाहरुका बीचमा भने यसले दुईतिर कित्ताबन्दी हुने वातावरण सिर्जना गरेको छ । पार्टी एकाता र जनवर्गीय संगठनहरुको एकता पछिको पछिल्लो चरणमा आइपुग्दा पनि ओलीले दाहाललाई न त कार्यकारी अध्यक्ष दिएका छन् न त आलोपालो प्रधानमन्त्री हुने कुरा स्वीकार नै गरेका छन् । बरु रामबहादुर थापालाई साथमा लिएर दाहाललाई देखाइदिने दाउँमा लागेका छन् ।

हार्दिक शुभकामना !

जनवर्गीय संगठनको नेतृत्वमा पूर्व माओवादीका तर्फबाट पाएको भागबण्डामा पनि थापापक्षधर हाबी हुन गएपछिको अवस्थामा दाहाल निकै झस्कन पुगेका छन् । बाबुरामलाई छाडेर आएका अर्को वृत्तले दाहाललाई साथदिने भनी केही चोचोमोचो मिलाए पछि अलिकति केही आशा र साहस लिएर दाहाल अर्का अध्यक्ष तथा प्रम केपी ओलीसँग सिंगौरी खेल्न सुरु गरेका छन् । यता सुनकाण्डको छानबिनमा साना माछा र ठूला माछाको कुरा गृहमन्त्री थापाले गर्न थालेपछि निकै अत्तालिएका दाहाल त्यति नै बेला थापालाई निकालाबास गराउन ओलीसाग निकै ‘गुप्तगु’ गरिरहेका थिए । पूर्व माओवादीबीचमा यो ठूलो फाटो र छेदभेद पाएपछि ओलीले पनि त्यसैमाथि महाजाल बिछ्याएर थापालाई आफूनिकट पार्न सहज मौका पाएका थिए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीचमा आन्तरिक रुपमा चलिहेको यो नाडी छामाछामको स्थिति दाहालको कि त प्रधानमन्त्री चाहियो, कि त कार्यकारी अध्यक्ष भनेर सञ्चारमाध्यमहरु मार्फत् दिएका सार्वजनिक अभिव्यक्तिसँगै सतहमा आएको छ । दाहाल खेलाडी र ओली खेलाडी तथा ‘पेलाडी’ दुवै भएकाले यो वाकयुद्ध सांगठनिक रुपमा अभिव्यक्त हुन जाने बाटो पनि खुल्दै गएको छ । यदि यो आन्तरिक अभिव्यक्ति नेकपामा मूर्तिकृत हुँदै जाने हो भने यसले नयाँ सांगठनिक गुटबन्दीतिर डबल नेकपालाई मज्जैले डोर्याउने छ ।

दाहालका अनुसार भएको एकता घोषणाताका भएको सहमतिमा पार्टीको नेतृत्व पनि र सरकारको नेतृत्व पनि आलोपालो गर्ने भन्ने रहेको छ । उनले प्रसँग पनि कोट्याउने र गोप्य पनि राख्न खोजेको जस्तो गरी केपी ओली र उनका बीचमा त्यस अवस्थामा कुरा हुँदा सहमति अनुसार नै जाने भन्ने रहेकाले आफूले धेरै आशंका गर्न नचाहेको पनि बताए । उनको घुमाउरो पारमा भनाइ थियो कि त पार्टीको कार्यकारी अध्यक्ष पाउनु पर्यो, कि त सहमति अनुसार प्रधानमन्त्री ।

दोहोलो काढ्ने नाममा तत्काल ओठे जवाफ दिइहाल्ने प्रम ओली भने दाहालले उठाएको विषयमा चूपचाप छन् । ओलीले दाहाल आफैले यो कुरा बोले वा अरु कसैले दाहाललाई बोल्न लगायो भनी त्यसको आधिकारिकता खोज्न र अनुसन्धान गर्न आफ्ना निकटवर्तिहरुलाई परिचालन गरेको बालुवाटार स्रोतबाट खुल्न आएको छ । पदको बार्गेनिङमा आएको दाहालको भनाइलाई सापटी लिंदै ओलीले दोहर्याउने गरेका छन्– ‘प्रधानमन्त्री लिन हतारो पनि छैन । देशमा विकास र सुशासनले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को अध्यक्षले सरकार हेर्ने गरी काम मिलायो भने सहज हुन्छ । प्रधानमन्त्री नभइ नहुने होइन ।’ यति भन्दै ओली भन्छन्– ‘यसको मतलब बुझियो, प्रष्टैछ, कि कार्यकारी अध्यक्ष चाहियो कि त प्रधानमन्त्री !’

अमेरिकी लबीमा छिरेका दाहाल भारतमा मोदीको बहुमत आएपछि कित्ता परिवर्तन गर्ने मुडमा छन् । उनले दिल्लीको भूमिका प्रभावकारी हुने गरी फेरि ठूलै स्वरले संक्रमणकालको अन्त्य अझैं भइनसकेको, सत्यनिरुपण र वेपत्ता आयोगको काम नटुंगिएको, राहतका कुरा बाँकी रहेको भन्दै त्यसमा दिल्ली र नवनिर्वाचित भारतीय प्रम मोदीको भूमिकाको अपेक्षा सांकेतिक रुपममा व्यक्त पनि गरेका छन् । दाहालले सुशासन र विकासले गति नलिएको आरोप पनि ओलीमाथि थोपरेका छन् ।

विपलव नेकपाले गरेका पछिल्ला चरणका गतिविधि वार्ताका लागि गरिएको पनि उनको मत छ । ओलीको पालामा प्रतिबन्धलगाउन आफैले उस्काउने र आफू प्रधानमन्त्री भएपछि वार्तामा ल्याएर हाइहाइ पाउने उनको इरादा देखा परेको छ । पहिलेका कामकारबाहीहरुमा रहने गरेको दाहालको ‘डबल स्ट्याण्ड’ अहिले पनि देखा परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर