मैले जुनमा हुने जी–२० सम्मेलनमा सी जिन फिङलाई भेटेर अनुरोध गर्छु : ट्रम्प

चीनले व्यापार कर तोकेपछि अमेरिकी शेयर बजार निरन्तर ओह्रालोतिर

प्रकाशित मिति : २०७६ बैशाख ३१

काठमाडौं । अमेरिकी उत्पादित वस्तुहरुमा चीनले व्यापार कर लगाएपछि अत्तालिन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो जुन महिनामा हुन गइरहेको जी–२० को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन फिङलाई भेटेर अनुनय गर्ने भनी आफ्ना भनाइ सार्वजनिक गरेका छन् । चीनले अमेरिकी सामानमा जुन १ तारेखबाट लागू हुने गरी व्यापार कर तोकेपछि अमेरिकी शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ ।

चीनमा खपत हुने ६० अर्ब डलर बराबरको सामानमाथि व्यापार कर लगाएपछि अमेरिकी शेयर बजार मे महिनाको मध्यदेखि नै ओह्रालो झरिरहेको छ । यसले गर्दा अमेरिका–चीन व्यापार युद्ध झनै चर्किने संकेत देखापरेको छ ।

चीनले अमेरिकी सामानमा तिनको मूल्य, गुणस्तर र चिनियाँ बजारमा हुने खपतलाई हेरेर ५ देखि २५ प्रतिशतसम्म व्यापार कर लगाएको छ । यो करका कारणले अमेरिकाको विश्वबजार धराशायी हुने अवस्थामा पुगेको छ ।

राष्ट्रपति ट्रम्पकै कारण अमेरिकी बजार धराशायी हुँदै गएको र अमेरिकी पहिचानसम्म विश्व बजारमा मेटिन थालेको टिप्पणी भइरहँदा पछिल्लो पटक चीनले लिएको अमेरिकी व्यापार विरुद्धको कदमले थप चोटिलो प्रहार गरेको छ ।

यो प्रहारपछि ट्रम्प कहिले जुन महिना आउला र चिनियाँ राष्ट्रपति सिसँग अनुनय विनय गर्ने समय पाइएला भनेर निकै अधैर्यताका केही दिनहरु बिताउन थालेका छन् । तर चीनले अमेरिकी सामानहरुमा व्यापार कर लगाउने आधिकारिक निर्णय गरिसकेको छ ।

ट्रम्पले चीनले अमेरिकाबाट अन्तर्राष्ट्रिय व्यापार मार्फत् वर्षमा अमेरिकी खर्बौ डलर चीन भित्र्याउने गरेकाले उक्त पैसा रोक्न आफूले चिनियाँ सामानहरुमा यस अघि कर लगाएको कुरा दोहर्याएका छन् ।

त्यसको बदलामा चीनले अमेरिकी सामानमाथि बढीमा २५ प्रतिशतसम्म व्यापार कर लगाएपछि भने ट्रम्प अत्तालिन पुगेका छन् । यसले अमेरिकी बजार धराशायी गराउने अमेरिकी व्यापारी तथा लगानीकर्ताहरुको चर्को टिप्पणी छ ।

ठूलो दबाब र झन्झटपछि ट्रम्पले जुन महिनामा हुनगइरहेको जी–२० शीखर सम्मेलनमा चिनियाँ राष्टपति सी जिन फिङलाई भेट्ने र सी आफ्ना निकै मिल्ने मित्र भएको पनि दाबी गरेका छन् ।

यसका साथै उनले चीनलाई धम्क्याएका पनि छन् कि यस्ता धेरै चिनियाँ सामानहरु अमेरिकी बजारमा छन्, जसमाथि अमेरिकाले व्यापार कर लगाएको छैन, चाहेमा लगाउन सक्छ । तर अमेरिकी व्यापारी तथा लगानीकर्ता ट्रम्पलाई त्यस्तो निर्णय गरेर अर्को मूर्खतापूर्ण कार्य नगर्न सतर्क गराइरहेका छन् ।

उनीहरुका भनाइ अनुसार चीनले पनि अरु कैयौं अमेरिकी सामानहरुमा कर लगाउने निर्णय गरेको छैन । यदि अमेरिका जस्तै ती सामानहरुमाथि पनि चीनले कर लगायो भने अमेरिका सदाका लागि टाट पल्टने छ ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पका यी भनाइहरुलाई लिएर चीन भने केही पनि बोलेको छैन ।