प्रोटोकल हस्ताक्षरसँगै नेपाल–चीन तीन नाकामा सुख्खा बन्दरगाह निर्माणको तयारी

प्रकाशित मिति : २०७६ बैशाख ३१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बखत व्यापार प्रोटोकलमा हस्ताक्षर भएपछि नेपाल–चीनका तीनवटा नाकामा सुख्खा बन्दरगाह निर्माणको थालनी सुरु भएको छ । नेपाल र चीन बीचमा यसका बारेमा पहिल्यै सहमति भए पनि ओलीको पहिले भारत र पछि अमेरिकी लबीमा प्रवेशपछि प्रोटोकलमा हस्ताक्षर हुने काम रोकिएको थियो । दुई सरकारबीच (जी–टु–जी) को सम्बन्ध राख्न चाहने चीनलाई राष्ट्रपति भण्डारीको भ्रमणले प्रोटोकलमा हस्ताक्षर गर्न निकै नै ठूलो मद्दत पुर्याएको थियो ।

तीन वर्ष अगाडि केपी ओली प्रधानमन्त्री भएकै बखत चीनसँग व्यापार तथा पारबाहन सन्धि भएको थियो । यसले दक्षिणको छिमेकी देश भारतलाई निकै नै झस्काएको थियो । तर त्यति बेला पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादी केन्द्रले धोखा दिएपछि ओली सरकार ढल्न पुगेको थियो । पछि फेरि भारतसँग लम्पसार परेपछि ओली र दाहालको वाम नामको गठबन्धन निर्माण गरिदिई बहुमतको सरकार निर्माण भएको थियो ।

हाल केपी ओली र दाहाल अमेरिकी लबीमा छिरेपछि नेपालका राष्ट्रपतिको चीन भ्रमणका क्रममा राष्ट्रप्रमुखहरुले हस्ताक्षर गरी यसलाई पूर्णता दिई चीनले वुद्धिमतापूर्ण काम गरेको छ । अब चीनले नाका नै खुलाएन, व्यापारका लागि वैधानिकता नै दिएन भनी आउने अपजस् र अप्ठ्याराहरुको जी–टु–जी सम्बन्ध बनाएर समयभित्रै हल गरेको छ ।

अब रसुवागढी, यारी र तातोपानी व्यापारिक सुख्खाबन्दरगाहका रुपमा विकास गरिने छन् । हाल तातोपानी नाका सञ्चालन भइरहे पनि यारी र रसुवागढी भने तातोपानी जस्तो नियमित सञ्चालनमा छैनन् । प्रोटोकलमा हस्ताक्षरसँगै यी नाकाहरुमा कष्टम र क्वारेन्टाइन स्थापनाका लागि नेपालको तर्फबाट तयारी भइरहेको स्रोतले जनाएको छ ।