आईपीएलको उपाधी मुम्बई इन्डियन्सको पोल्टामा

प्रकाशित मिति : २०७६ बैशाख ३०

काठमाडौं । १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधी मुम्बई इन्डियन्सको पोल्टामा परेको छ । राजीव गान्धी इन्टरनेसनल स्टेडियममा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्सलाई एक रनले पराजित गर्दै मुम्बई चौथो पटक फरि आईपीएल च्याम्पियन बन्न सफल भएको हो ।

सन् २००८ बाट सुरु भएको आईपीएलमा मुम्बईले क्रमशः २०१३, २०१५ र २०१७ मा लगातार उपाधी हासिल गरेको थियो । अहिलेको चौथो पटकको विजयसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिममा दर्ज हुन पुगेको छ ।

अर्कोतिर, गत वर्षसम्म तीनपटक आईपीएल च्याम्पियन बनेको चेन्नई भने झिनो अन्तरले यसपटक उपविजेता बन्न पुगेको छ ।
आइतबार मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले पूरै २० ओभरमा ७ विकेट गुमाउँदा १ सय ४८ रनमात्रै ल्याउन सकेको थियो ।

फाइनल जितेसँगै मुम्बईले आईपीएल उपाधिसहित २० करोड भारु हात पारेको छ भने उपविजेतामा सीमित बनेको चेन्नईले १२ करोड ५० लाख रुपैयाँ चित्त बुझाउन पुगेको छ ।