राष्ट्रिय स्वाधिनताको रक्षा र प्रतिरोध युद्ध

प्रकाशित मिति : २०७६ बैशाख ३०

- पुष्प गोपाल श्रेष्ठ

नेपालको राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको स्थिति भयावहमात्र होइन, अहिले अत्यन्तै खतरनाक मोडबाट गुज्रदै गइरहेको छ । यसकाविरुद्ध दृढ निश्चितता साथ राष्ट्रिय प्रतिरोध युद्ध उठान गर्नु अनिवार्य सर्त बन्न पुगेको छ । त्यसो त नेपालको राष्ट्रिय स्वाधिनता जोगाई जनतन्त्र र जनजीविकालाई सहज र सुनिश्चित बनाउन देशको आवश्यकताअनुरुप जनजागरणका विभिन्न तरिका अपनाई समय सापेक्ष ढङ्गले विरोध कार्यक्रमलगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनजागरण अभियान सफलताका साथ सम्पन्न गरिसकेको छौँ भने उता, छट्टु स्यालहरुले, नेपाल–भारत बीचको सम्बन्धबारे नेपाल र भारतका जनस्तरसम्म प्रगाढ रुपले गाँसेर आइरहेको चुलाचौकी जस्ता अनेकन मिठामिठा कुरा गरेर नेपाली सोझासिधा जनसमुदायलाई लट्ठ पारेर भारतीय विस्तारवादले, नेपाललाई सिक्किमलाई जस्तै सहज ढङ्गले आफ्नो पोल्टामा लिई नेपाल र नेपालीहरुलाई आफ्नो दास बनाई रजाई गर्ने धुर्त्याइपूर्ण षड्यन्त्रलाई, यहाँका नेपाली अनुहारका तिनका पाल्तु कुकुरले झैँ ती विस्तारवादीहरुको पछिपछि मुखबाट लामो जिब्रो निकाली र्याल चुहाई स्याँस्याँ गर्दै पुच्छर हल्लाई उनीहरुको हरेक कुरालाई शीरोधार्य गर्दै हिंड्नमा व्यस्त रहिआएका छन्, देशद्रोहीहरु ।

यसर्थ यथासम्भव छिटो भन्दा छिटो क्रान्तिकारी देशभक्त प्रगतिशील वाम्पन्थी, राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट तथा जनवादीहरु र देशका अन्य सम्पूर्ण उत्पीडित जनसमुदाबीच राष्ट्रिय संयुक्त मोर्चा निर्माण गरी त्यसलाई दरिलो बनाई क्रान्तिकारी नीतिका साथ राष्ट्रिय प्रतिरोध युद्धमा ढिलो नगरी जुट्नु आज सच्चा राष्ट्रिवादी नेपाली मात्रको राष्ट्रिय दायित्व हो र यसो नगरी राष्ट्रिय मुक्तिको विजयपूर्ण युद्ध चलाउन सकिदैन भनेर हामीले बारम्बार यसबारेमा विभिन्न पार्टी, समूह र व्यक्ति विशेषहरु माझ देशको आवश्यकताअनुरुप एकजुट भई संघर्षमा उत्रौं भनी जोडबल गर्दै आएका हौं र अहिले पनि यसैको निम्ति जोडदिंदै छौँ ।

हामी क्रान्तिकारीहरु सबैले अत्यन्तै महत्वका साथ ध्यान केन्द्रित गर्नुपर्ने कुरो– यस क्रान्तिकारी नीतिभित्रको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आमजनतालाई वर्तमानको यो दलाल नोकरशाही पुँजीवादी अर्धसामन्ती अर्ध–औपनिवेशिक राज्यसत्ता र भारतीय विस्तारवादी विरोधी मोर्चामा सोमल गराई सञ्चालन गर्ने हेतुले क्रान्तिकारीले सचेततापूर्ण सक्रियता अपनाउनै पर्छ ।

नेपाल–भारतबीचको त्यो पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्वलाई भारतीय विस्तारवादले धूर्त्याइपूर्ण षड्यन्त्रका टोष्टमा बाक्लो बटरिङ गरेर अगाडि सारेकोमा मक्ख परेर राष्ट्रिय प्रतिरोध युद्ध सञ्चालन नगरिकन नै, भारतीय विस्तारवादका दलाली सत्तासिनहरु (राज्यसत्ता) लाई ध्वस्त नपारिकनै, हेपाहा र मिचाहा प्रवृत्तिका आक्रमणकारी भारतीय विस्तारवादको प्रतिरोध गर्न सकिने सम्भावनामाथि विश्वास राख्ने मानिसका भूलहरु हामीले वारम्बार औंल्याउँदै आएका छौँ ।

अहिले देशको वस्तुगतस्थिति मिचाहा र हेपा प्रवृत्तिका आक्रमणकारी भारतीय विस्तारवादले अत्यन्तै दुःसाहसपूर्ण क्रियाकलाप अपनाई खुल्लायाम सिंहदरवारभित्रसम्म आइपुगिसक्दा पनि, वर्तमानको कथित वाम नाउँको यो केपी ओली नेतृत्वको दुईतिहाई सरकारले केही नबोलेको मात्र होइन, अपितु मौनधारण गरी अप्रत्यक्ष सहमतिको संदेश प्रस्तुत गरी बसेको स्थिति छ भने, अर्कोतिर भन्नैपर्दा आमजनता राजनीतिक एवम् राष्ट्रिय चेतनाको अभावमा सिङ्गो देशका जनसमुदाय असंगठित रुपले छरिएर रहेका छन् । क्रान्तिकारी आफ्नोसामु देशमा यतिबिघ्न भयावह स्थिति आइपरीसक्दा पनि अनजान बनी मात्र क्रान्तिको माला जपी, छुट्टाछुट्टै आआफ्नो घरजम गरी, आफ्नै तालसुरमा डम्फु बजाई बस्नुको नाम र काम हो माक्र्सवादी क्रान्तिकारीहरुको ? अवश्य पनि होइन ।

होइन भने गम्भिर भई सोचौ र जिम्मेवारिपूर्ण ढङ्गले हामी सबै एकजुटभई मालेमावादी अडान र दृष्टिकोणलाई आत्मासात् गरी, ती दुष्कर्मी भारतीय विस्तारवादका दलाल, जल्लाद, पाल्तु भोटे कुकुर सहर बाँचिरहेका सत्तासिनहरु (राज्यसत्ता) लाई ध्वस्त पारी विदेशी आक्रमणकारीहरु, मित्रताको नाउँमा कुदृष्टि गाड्ने तमाम् विस्तारवादी एवम् साम्राज्यवादीहरुलाई, नेपाली भूमिमाथि कुदृष्टि गाड्ने हिम्मतसम्म गर्न नसक्ने गरी खेदी पठाउन बल प्रयोगको सिद्धान्तलाई नकार्न मिल्दैन । माओले भन्ने गर्नु हुन्थ्यो– “बन्दुकको नालमा राज्यसत्ता अडेको हुन्छ” । ती, विभिन्न आधुनिक हातहतियारले सुसजित, हतियारधारी हिंस्रक सत्तासिनहरुसँग जुझ्न हतियार उठाउनुको विकल्प छैन ।

वर्तमानको यो मौजुदा स्थिति राष्ट्र र राष्ट्रियताको निम्ति अत्यन्तै खतरनाक स्थिति हो । यस्तो स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु पहिलो सर्त हुन आउँछ, जसको निम्ति राष्ट्रिय प्रतिरोध युद्धमा हामी सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भई जुट्नु नितान्त जरुरी हुन आएको छ । यसो भनेर फेरि यो कुरो कदापि भुल्नु हुन्न कि, यो नै हाम्रो सम्पूर्ण कार्यभार होइन, हो त हाम्रो यस्तै अर्को अत्यन्तै महत्वपूर्ण कार्यभार भनेको देश र जनतालाई मुक्ति र स्वतन्त्रता तथा नयाँ नेपाल निर्माण गर्न यसै प्रतिरोध युद्धलाई नयाँ जनवादी क्रान्तिमा रुपान्तरण गरी क्रान्तिकारी छलाङ्ग मार्नु हो ।

पक्कै पनि क्रान्तिकारी युद्धमा अवतरण गर्ने भन्ने कुरो सजिलो हुन्न र सजिलो छैन । त्यसमाथि हाम्रो मुलुकको भौगोलिक स्थिति विकट हुनुकोसँगै विगत दस वर्षिय महान् जनयुद्धमा झैँ वर्तमानको यो आत्मासमर्षणवादीहरुको नेतृत्वमा रहिआएको प्रतिक्रियावादी सरकारले त झन व्यापक जनसमुदायलाई सहज रुपले युद्धमा सरिक हुन दिने कुरै भएन । त्यसैले देशमा युद्ध अवतरण गर्नु अगावै हामी गम्भीर भई सम्भव भएसम्म क्रान्तिकारी युद्धलाई जनव्यापी बनाउनु अत्यावश्यक छ । क्रान्तिकारी युद्धले जनव्यापी रुप धारण नगरुन्जेलसम्म, साम्राज्यवाद, विस्तारवाद एवम् दलाल प्रतिक्रियावादी विरोधी क्रान्तिकारी युद्धले सफलता (विजय) प्राप्त गर्न सक्ने छैन ।

यसै सन्दर्भमा, सच्चा नेपाली क्रान्तिकारी कम्युनिष्टहरुले अत्यन्तै गहन रुपले बुझ्नु पर्ने अर्को कुरो भनेको, हामीले राष्ट्रिय स्वाधिनताको रक्षार्थ गर्ने प्रतिरोध युद्धको ऐतिहासिक महत्व त रहन्छ नै, अर्कोतिर यसले विश्व फासिवाद विरोधी मोर्चा प्रतिको आफ्नो महान् कर्तव्य पूरा गर्न पनि छोड्ने छैन । यस अर्थमा यहाँ पनि प्रष्ट रहने छ ।

मालेमावादीहरुले अत्यन्तै महत्वका साथ ध्यान केन्द्रित गर्नु पर्ने कुरो भनेको जनाधार निर्माण गर्नु हो । जनाधार निर्माण गर्ने भन्नु नै पार्टीलाई जनव्यापी बनाउनु हो । यसको निम्ति हामीले जनातामा भर पर्न जान्नुपर्छ । हामीमा यदाकदा, जो नेता तथा नेतृत्वदायी संस्थाहरु भन्दा फरक खालको कुरा छलफलमा ल्याए अर्थात् त्यस्तो विचार अघिसारेमा जनतालाई तर्साउने र समस्यामाथि छलफल चलाए तुरुन्त तुरुन्तै जनतामाथि अङकुश लगाउने र अरुलाई बोल्न रोक लगाउने बानी छ । यो त हद दर्जाको बैइमानी हो र यस्तो प्रवृत्तिलाई त्याग्नुपर्छ र सुध्रिनु पर्छ ।

हामी जनतामा भर नपरेसम्म जनता र कार्यकर्ताहरुको उत्साह बढाई, उत्साहलाई परिचालन नगरेसम्म हामीले जनाधार निर्माण गर्न सक्दैनौं । हामीले उनीहरुसँग खुल्ला दिलले व्यवहार र कुराकानी गरेनौं भने हामीले हाम्रो मनपेट दिएनौं भने र उनीहरुलाई आफ्नो कुरा राख्न दिएनौं भने उनीहरु हमीसँग डराइरहने छन्, हामीसँग खुलेर बोल्ने हिम्मत गर्ने छैनन् । त्यसो भयो भने हामीले उनीहरुको उत्साहलाई उपयोग गर्न सक्दैनौं, यस्तो स्थितिमा जनाधार निर्माण हुने त कुरै भएन, तब जनव्यापी पार्टी कसरी बन्छ ? बन्दैन ।

यसको लागि सर्व प्रथम हामीमा आफूभित्र रहिआएको कुन्ठित मनोभावनालाई सच्याई, मुक्तभई आजको आवश्यकताअनुरुप हामी एकआपसमा विभाजित होइन, प्रत्येक क्रान्तिकारी कम्युनिष्टले खुल्ला दिलले मालेमावादी सैद्धान्तिक पथप्रदर्शनलाई आत्मासात् गरी पार्टीगत एकता कायम गर्नुको सँगै जनव्यापी पार्टी निर्माण गरी राष्ट्रिय प्रतिरोध युद्धसँगै नयाँ जनवादी क्रान्तिमा जुध्नु आज क्रान्तिकारी कम्युनिष्टको राष्ट्रिय दायित्व हो र यो समयको माग पनि हो ।