महान् शहीद क.सुवासलाई सम्झँदा

प्रकाशित मिति : २०७६ बैशाख ३०

- गीता आचार्य ‘समीक्षा’

हरेक प्राणीको जन्मसँगै मृत्यु पनि अनिवार्य हुन्छ भन्ने अनिवार्य सर्त हो । यो विज्ञासम्मत नियम हो । मान्छे मर्दछ, तर मृत्यु पनि फरकफरक हुने गर्दछ । एक थरी मृत्यु व्यक्तिगत स्वार्थ, छलछाम, षड्यन्त्र, टुटाउने फुटाउने, चोट दिने अनि च्रष्टाचारीको हुन्छ । उसको मृत्यु इतिहासमा गद्दारीपूर्ण तरिकाले लेखिएको हुन्छ । अर्को मृत्यु, जनतन्त्र र राष्ट्रियताका लागि आफ्नो अमूल्य समय खर्चेर जीवनसम्म अर्पण गर्नेको हुन्छ ।

ती वीरहरूको नाम इतिहासको पानामा स्वर्ण अक्षरले अंकित भएको हुन्छ । पहिलो मृत्यु हुनेहरू बाँचेर पनि मरेका हुन्छन् । दोस्रो मृत्यु हुने भौतिक शरीर गुमाएर पनि युगयुगसम्म बाँचेका हुन्छन् । सर्वहारावर्गका आदर्श पात्र तिनै महान् सहिद हुने गरेका छन् । तनै हजारौं सहिदमध्ये एक हुनुहुन्छ क. सुवास ।

२०३४ साल चैत्र २७ गते बुबा चन्द्रप्रसाद सुवेदी र आमा राधिका सुवेदीको कोखबाट अयोध्यापुरी–२, देवेन्द्रपुरमा जन्मनु भएको थियो । ५ दाजुभाइ र १ बहिनीमध्ये जेठो सन्तान हुनुहुन्थ्यो– लीलाकण्ठ सुवेदी (क.सुवास) । अयोध्यापुरी जनवीवन मा.वि. १० कक्षा सम्मको अध्ययन गर्दागर्दै स्कुलकै जीवनदेखि समाजमा भएका विकृति विसंगतिविरुद्ध लड्दै आउनुभएका सुवासलाई प्रशासनले सार्वजनिक मुद्दा लगायो । त्यसपछाडि स्कुलमै गिरफ्तार गर्न आउने स्थिति भएपछि स्कुल छाडेर पूरै पार्टी र क्रान्तिमा लाग्ने निर्णय गरेर २०५५ सालबाट पूर्णकालीन भएर हिँड्नुभयो ।

चितवनको पार्टीभित्र चितवनको वर्गसंघर्षलाई माथि उठाउन सेना निर्माण गर्ने प्रक्रिया अगाडि बढिरहेको थियो । पार्टीको आवश्यकता र आफ्नै इच्छा र क्षमताले उहाँ सेनामा जानुभयो । सेना संगठनमा रहेर थुप्रै महत्वपूर्ण काममा अगाडि बढ्दै जानुभयो । २०५६ सालबाट म पनि समाजमा परेको प्रभावले पनि सचेत नागरिक भएको हुँदा मलाई नहुने कुरै भएन ।

मलाई पनि मार्क्सवादी शिक्षाले शिक्षित बनायो । महान् जनयुद्धमा लाग्ने प्रेरणा भयो । म पनि जनयुद्धको आन्दोलनमा सहभागी बने । युद्धमोर्चामा अगाडि बढ्दै जाने क्रममा लीलाकण्ठ सुवेदी (क.सुवास) सँग मेरो सहकार्य भयो । २०५७ साल बैशाख २२ गते हामीबीच जनवादी विवाह सम्पन्न भयो । समाजमा भएको रुढीवादी कुसंस्कारमा भएको विवाहभन्दा वैचारिक रूपमा एकता भएर सम्पन्न भएको विवाह निश्चिात रूपमा एकता भएर सम्पन्न भएको विवाह निश्चित रूपमा फरक थियो । हाम्रो विवाह पार्टी र क्रान्तिलाई केन्द्रविन्दु बनाएर गरिएको थियो ।

विवाहमा शुभकामना दिने थुप्रै अग्रज कमरेड सहिद हुनुभएको छ । उहाँको मार्गनिर्देशनसँगै अगाडि बढाउँदै लग्यो । आ(आफ्ना जिम्मेवारी पूरा गर्दै अगाडि बढ्दै गयौं । सर्वहारावर्गको मुक्तिको सपना बोकेर महान् उद्देश्य पूरा गर्न क्रान्तिमा होमिएका थियौं ।

विकासको क्रम र गतिमा साह्रै पछि परेको नेपाली समाजलाई रूपान्तरण गर्ने अथवा शोषित र पीडित जनताले न्याय र स्वतन्त्रताको निम्ति मुक्ति पाउनका लागि २०५२ सालबाट जनयुद्धको सुरुआत गरियो । साम्यवादी उद्देश्य राखेर गरिएको जनयुद्ध तीब्र प्रक्रियामा विकास हुँदै गयो । तर प्रतिक्रियावादी तत्त्वहरूलाई सह्य भएन । विस्तारवादी र साम्राज्यवादीहरूको आडमा सामन्ती सत्ता जोगाउन भीषण दमन गर्यो ।

गाउँगाउँ, बस्तीबस्तीमा नेपाली आमाका छोराछोरहीको हत्या, बलात्कार, अपहरण गर्दै ताण्डव नृत्य देखाउँदै हिँडे । देशमा संकटकाल घोषणा गरियो । २०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाले दाङ ब्यारेक कब्जा गरेर विजय प्राप्त गरेपछि प्रतिक्रियावादीको मुटु हल्लिन थाल्यो । शाही सेना परिचालन गरेर भीषण दमनमा आयो । हामीबाट त्यतिबेला छोरी सुसनको जन्म भएको थियो । देशको अवस्था संकटकालको भीषणतासँगै मोर्चामा रहेर थप पारिवारिक जिम्मेवारीलाई पनि पूरा गर्नुपर्ने दायित्व हामीमा थियो ।

बच्चा लिएर जनताको घरमा बस्नुपर्ने अवस्था भयो । त्यस्तो अवस्थामा पारिवारिक जिम्मेवारीलाई पनि पूरा गर्नुभयो । एउटा हात युद्धमोर्चामा गुमाउनुभएको क. सुवासमा कार्यकर्तादेखि परिवार सबैलाई माया गर्न सक्ने हरेक समस्या विचारले हल गर्ने कला थियो । त्यस्तो अप्ठेरो अवस्थामा पनि समस्यालाई सहज रूपमा हल गर्न सक्नुहुन्थ्यो ।

२०५७ कार्तिक ५ गते प्राविधिक सामान तयार गर्ने क्रममा बारुद बलेर सबै शरीर पोलेको थियो । उपचारमा केही समय मात्र ढिला भएको भए सब शरीर बिग्रने थयो । उहाँको अवस्था निकै गम्भीर थियो । केराको पातमा सुताएर राखेका थियौँ । उहाँको अवस्था देख्दा जो पनि डराउने गर्दथ्यौँ । त्यस्तो अवस्था हुँदा पनि साथीहरू मलाई नआत्तिनु भन्ने गर्नुहुन्थ्यो ।

युद्धका क्रममा दुःखसँग कहिल्यै नआत्तिने क.सुवास हरेकजटिलता र अप्ठेरोसँग खेल्न रुचाउनुहुन्थ्यो । त्यसपश्चादत उपचार हुँदै थियो । उपचारकै क्रममा रहँदारहँदै पार्टीको योजनामा जान आतुर क.सुवास अर्को योजना जाने निर्णय भयो । भरतपुरको लंकुमा महिला इलाका भेलामा पुलिसद्वारा दमन गर्दा गोली चलाई थुप्रै घाइते र गौरी सापकोटाको सहादत भयो । त्यसको बलदास्वरूप कार्बाही गर्ने पार्टीको निर्णय भयो ।

पूर्वी चितवन पर्सा मगनी चोकमा पुलिसमाथि गरिएको कार्बाहीमा कारणवश दुर्घटना हुन पुग्यो । त्यस घटनामा उत्तर कुमार गुरुङको सहादत भयो । क. सुवास, क.केशव, क. सुमन घाइते हुनुभयो । क. सुवासको दाहिने हात घटना स्थलमा नै झर्यो । त्यतिखेर पुलिसले घेरा हालिसकेको थियो । त्यो घेराबाट फुत्केर लदरी पार्टी सम्पर्कमा पुग्नुभयो । धेरै कष्टका साथ उहाँ त्यहाँ पुग्नुभएको थियो । शरीरको रगत बगेर सकिने अवस्थामा पुगेको थियो । तत्काल काठमाडौं बी एण्ड बी हस्पिटलमा पुर्याएर उपचार गराइयो ।

त्यस्तो अवस्थामा पनि विवेकले नियन्त्रण गर्न सक्ने अत्यन्त व्यावहारिक, सहनशील र साही व्यक्तित्वका धनी क. सुवास हुनुहुन्थ्यो । पार्टी र क्रान्तिका निमित्त अझ महत्वपूर्ण कामहरूमा अगाडि बढ्दै जानुभयो । २०५९ सालमा जिल्ला सदस्य भई २०६० सालमा जिल्ला सचिवालय सदस्य हुँदै पूर्वी इलाका इन्चार्ज रहेर काम गर्नुभयो । जनयुद्धको जतिजति आफ्नो आकार र प्रभाव विस्तार गर्दै लग्यो, त्यति नै आम जनतालाई संगठित गर्ने आन्दोलनमा लाग्न प्रेरित गर्ने क. सुवासले गर्नुभयो ।

प्रतिक्रियावादीको एक मात्र अन्तिम किल्लाको रूपमा रहेको शाही सेनाको एकपछि अर्को पराजय भोग्दै थियो । शाही सेनाको हत्यारा दस्ता सादा पोशाकमा गाउँगाउँमा गई कत्लेआम गर्न थाले । क. सुवासलाई पनि कर्णेल रमेश महतसहित लागेर गाउँगाउँमा खोज्न थाले । चलायमान ढङ्गबाट अगाडि बढिरहेको हुनाले भेट्टाउन सकेका थिएनन् । दुश्मनलाई छक्याउने, आक्रमण गर्ने, यस्तै प्रकारले काम अगाडि बढेका थिए ।

२०६० चैत्र १० गतेको दिन थियो । जिल्ला इन्चार्ज क.ऋतु हुनुहुन्थ्यो । जिल्ला सचिवालयको बैठक बस्ने निर्णय भयो । बैठकमा जान सबै साथीहरू नजिकनजिक केन्द्रित भएर बस्नुभएको थियो । अकस्मात् दुश्मनले जुटपानी इलाका घेरा हालेर सबै गाउँमा खोजी गर्यो । बिहान ७ बजेको समय थियो । क. सुवास मोटरसाइकल लिएर साथीहरू लिन बासबाट बाहिर जानुभयो । बाटैमा शाही सेनासँग अकस्मात जम्काभेट भयो । दुश्मनले चिनिहाले । क. सुवासले मोटरसाइकल मोड्न खोज्नुभयो ।

मोटरसाइकल क्लबचोकमा पल्टियो । उहाँ मोटरसाइकल छाडेर दौडिनुभयो । करिब ५०० मिटर दौडेपछि पछिपछि गई लखेट्दै गोली हानी हत्या गरे । हत्या गरिसकेपछि पनि कायर हत्याराहरूले त्यो भौतिक शरीर घिसार्दै लगेर गाउँमा प्रदर्शन गर्दै गाडीमा हाले । यो सब देख्ने महान् जनताको भनाइ सुन्दा अहिल्यै दुश्मनलाई झम्टौँ जस्तो लाग्छ ।

तर, दुश्मनको यस्तो कायरताले दुश्मनकै हार भएको छ, महान् जनताको विजय भएको छ । वर्गदुश्मनप्रति तीब्र घृणा र जनताप्रति अति माया गर्ने प्रिय क. सुवास जनताको आँखाको नानी बन्नुभएको थियो । सरल स्वभाव, सहयोगी भावना, व्यवहारिक उच्च क्रान्तिकारी नैतिकता जस्ता गुणहरू हुन्, जसलाई हामी आन्दोलन अगाडि बढाउन नसम्झिरहन सक्दैनौँ । जति हत्या, बलात्कार गरे पनि दुश्मनले सामन्ती सत्ता जोगाउन सकेनन्, जनताले सामन्तको नाइके नै नभएको सत्ता बनाइदिए ।

यो आज नेपाली समाजमा जुनखाले परिवर्तन अर्थात् रूपान्तरण हुन सक्यो, त्यो १३ हजार महान् सहिदको बलिदानीबाट प्राप्त भयो । ती महान् सहिदहरूको बलिदानले प्राप्त उपलब्धिलाई रक्षा गर्दै शान्तिपूर्ण तरिकाले क्रान्तिलाई अझ माथि उठाउने विशिष्ट परिस्थितिबाट पार्टी अगाडि बढिरहेको छ ।

प्रिय कमरेड, क्रान्ति अझै बाँकी छ । क. सुवासको भौतिक शरीर हामीसँग छैन, तर उहाँले छाडेर जानुभएका महान् विचारले हामीलाई अगाडि बढाइरहेको छ । नेपाली जनक्रान्तिको अबको यात्रा हामी बाँचेकाले पूरा गर्नु पर्ने छ । प्रिय क. सुवास, तपाईंले देखेको सपना हामी पूरा गर्ने प्रण गर्दै छौं ।

दुश्मनसँग कत्ति पनि नझुकी तपाईंले जनताका निम्ति जीवन आहुती दिनुभयो, यसले हामीलाई कमजोर बनाएको छैन, बझ बढी बलियो बनाएको छ । निरन्तर क्रान्तिमा लागिरहने प्रेरणा प्राप्त भएको छ । क्रान्तिलाई नयाँ ढंगले उठाउन सक्ने विचार र ताकत हामीसँग अझैं पनि छ ।