आमाको मुख हेर्ने दिन : बद्धाश्रमबाट बाबाआमा घर फर्काऊ

प्रकाशित मिति : २०७६ बैशाख २१

 

काठमाडौं । पछिल्लो समयमा मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाइन्छ । पहिले पहिले यो धर्मकर्मका रुपमा बढी प्रचलनमा थियो भने अहिले यो केही भौतिक सन्देश दिने आमाको मुख हेर्ने दिनमा लिइन थालेको छ । यसदिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंसीको महत्व बोध गरिन्छ ।

छोराछोरीहरु बिहानै उठी नुहाईधुवाई गरेर आमाप्रति श्रद्धा दर्शाउन उपहार तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलनले व्यापकता पाउँदै गएको छ ।

आमा नभएका भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्छन् । हरेक वर्ष बिहान सबेरैदेखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लाग्ने गर्दछ । आमाको दशधारा दूध पिएको ऋणमोचन पनि यसै पर्वमा गरिएको आमाप्रतिको श्रद्धा र भक्तिभावले कट्ने विश्वास गरिन्छ ।

तर अबको फेरिएको जमानामा आमाप्रति त्यति मात्र श्रद्धाभावले नपुग्ने देखिन्छ । अबका छोराछोरीहरु या त विदेशमा छन्, या त यही भए पनि बूढा बाबाआमालाई बृद्धाश्रममा लगेर छोडेका छन् । यसो गर्नु पश्चिमाहरुका लागि उपकार होला । तर हामी पूर्विया संस्कार मान्नेहरु र र नेपालीहरुका लागि भने यसो गर्नु उचित होइन ।

मानिस सामाजिक प्राणी हो । त्यो पनि बूढो भएको अवस्थामा घरबाट आफन्त र सन्तानबाट टाढाको बृद्धाश्रमरुपी कटेरीमा लगेर राखिनु राम्रो होइन । ती आमाहरुको मर्मस्पर्शी गुनासो छ कि उनका सन्तानहरुले उनीहरुलाई वसद्धाश्रममा चटक्कै छाडेका छन् । कहिल्यै पनि भेट्न जाँदैनन् ।

आमालाई सम्मान गर्ने हो भने घरमा डाडुपन्यु हातमा सुम्पिएर राख्नुपर्छ । आमाहरु र बाबाहरु कहिल्यै पनि आफ्ना सन्ततिबाट नौडाँडा कटाइएर टाढा रहन चाहदैनन् । यदि कोही त्यस्ता बाबा आमाकै सन्तान छन् भने उनीहरुले बाबाआमालाई बृद्धाश्रममा होइन, घरमा लगेर ससम्मान राखून र श्रद्धा आदर गरुन् ।

पर्व मनाएको ढोंग देखाउने होइन, सत् कर्म गर्नतिर लाग ।