लेनिनले रुसमा सम्पन्न गरेको महान् अक्टुबर क्रान्ति एक विश्व क्रान्ति थियो । यो क्रान्तिका सार्वभौम र वैश्विक चरित्रहरु छन् । लेनिनले विश्व क्रान्तिलाई मार्ग दर्शन गर्ने गरी समग्र विचारको विकास गरेकाले यो केवल मार्क्सवाद रुसी भूमिमा मात्र लागू गरिएको नभई मार्क्सवादको थप सार्वभौम विकास पनि थियो ।
एउटा देशमा मात्र क्रान्ति संभव छैन भन्ने ट्राटस्की र एउटा देशमा पनि क्रान्ति संभव छ र एकदेशीय समाजवाद पनि त्यहाँको विशिष्टतामा लागू हुनसक्छ भन्ने लेनिनका बीचमा निकै ठूलो दुईलाइनसंघर्ष चलेको थियो । ट्राटस्की मार्क्सले व्याख्या गरे झैं पुँजीवाद अन्तर्गत औद्योगिक विकास नभएसम्म समाजवादी क्रान्ति संभव नभएको र त्यो पनि विश्वव्यापी मात्र संभव छ भन्ने कुरामा अडिग थिए ।
तर लेनिन भने मार्क्सवाद जडवत विचार होइन, यो त स्थानीय विशिष्टतामा प्रयोग गरिने र प्रयोग हुने मार्गनिर्देशक सिद्धान्त हो भन्ने तर्कमा अडिग थिए । लेनिनको थप तर्क पनि के थियो भने साम्राज्यवादी कडी कमजोर भएको रुसजस्तो देशमा क्रान्ति संभव छ । यसका साथै रुसमा देशीय तथा अन्तर साम्राज्यवादी अन्तरविरोध पनि निकै चुलिएको थियो । लेनिन बारम्बार भन्ने गर्दथे रुसमा साम्राज्यवादी कडी निकै कमजोर छ ।
उनले पेरिस कम्युनको निकै राम्रो अध्ययन गरेको देखिन्छ । कार्ल मार्क्सका संश्लेषणहरु निकै घोत्लिएर अध्ययन गरेको पुष्टि हुन्छ । पहिले परिस्थिति तयार नपारेर सुरु गरिएको पेरिस कम्युनको आन्दोलन ब्लांकीको अराजकतावादी सोचबाट बढी पे्रेरित र निर्देशित रहेको बताइरहेका मार्क्सपछि जब पेरिसका मजदुरहरु सडकमा उत्रिए, तब मार्क्स पेरिस कम्युनको सफलताका लागि मरिमेटेर लागेका थिए । यो लेनिनका लागि महत्वपूर्ण शिक्षा थियो ।
लेनिनले मार्क्सवादी विचारलाई रुसी भूमिमा सफल प्रयोग गरी क्रान्ति सम्पन्न गरेपछि यसको विश्वव्यापी प्रचारमा लागिपरे । मार्क्स र एंगेल्स दुवैजना रहेका बेलामा पनि पहिलो तथा दोस्रो अन्तर्राष्ट्रियमा भएगरेका टुटफुट र उतारचढावबाट लेनिनले ठूलो शिक्षा लिएका थिए । यो शिक्षा मार्क्सर लेनिनपछिको विश्व परिस्थितिमा अन्तर्र्रािष्ट्रय गठन र पुनर्गठन तथा प्रचारप्रसार गर्दा लेनिनका लगि मार्गनिर्देशन बन्न पुग्यो । लेनिनले पुनर्गठन तथा निर्माण गरेका अन्तर्राष्ट्रियमा पनि टुटफुट र विभाजनहरु आइ नै रहे ।
रुसको क्रान्ति पनि आफैमा टुटफुटको एक लामो श्रृंखला पार गरेर आएको थियो । यसलाई लेनिन आफैले निकै क्रान्तिकारी सुझबुझ र क्रान्तिकारी चतुर्याइँका साथ नेतृत्व गर्दै सफल बनाएमा थिए । स्वयम् लेनिन पनि निकै लामो टुटफुट र एकताको प्रक्रियाबाट खारिएका थिए । उनको यो असामान्य अनुभव र कुशलताका कारण तेस्रो अन्तर्राष्ट्रिय गठन हुन सकेको थियो । आफ्नै पार्टीभित्र लामो समय वैचारिक संघर्ष चलाई फरक मत र धार राख्दै आएका मेन्सेविक समूहकी एक महिलाले लेनिनलाई गोलीसमेत् हानेकी थिइन् । लेनिन निकै गम्भीर अवस्थामा थिए तर पनि उनी कम्मर कसेर अन्तर्राष्ट्रिय पुनर्गठन तथा प्रचारमा जुटिरहे ।
रुसमा स्थापना भएको समाजवादले मार्क्सवादलाई प्रयोगमा नआउने ‘युटोपिया’ हुनबाट जोगाएको थियो । साथै मार्क्सवाद र समाजवाद भनेका काल्पनिक कुराहरु मात्र हुन् भन्ने पुँजीपतिहरुले जोडतोडले छर्ने गरेको भ्रम यसपछि फिक्का र निस्तेज भए । पुँजीवादीहरुका अगाडि कम्युनिष्टका विरुद्ध भ्रम छर्न प्रयोग गरिरहेका अस्त्रहरु अब नाकाम सिद्ध भए ।
लेनिन र माओको मृत्यपछि पनि सन् १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन ‘रिम’ गठन गरी विश्वमा माओवादी आन्दोलनको सिर्जना हुन गयो । यसले पहिलो पटक मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमावाद) लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गर्यो ।
यसले मालेमावादको विश्वव्यापी प्रचार गर्यो । अब हुने आन्दोलन भनेको माओवाद नै हो भन्ने कुरा विश्वको कुनाकुनासम्म फैलायो । रिम गठन आफैमा ऐतिहासिक थियो, यद्यपि यसमा थुप्रै क्रान्तिकारी पार्टीहरु सामेल हुन बाँकी नै थियो ।
रिमले, पहिलो कुरा, अन्तर्राष्ट्रिय गठन संभव छ भन्ने पुष्टि गर्यो । दोस्रो कुरा, अबको कम्युनिष्ट आन्दोलनका लागि मालेमावाद नै एक मात्र मार्गनिर्देशक सिद्धान्त हो भन्ने कुरा पुष्टि गर्यो । तेस्रो, मालेमावादी क्रान्ति संभव छ भन्ने कुरा देखायो । चौथो कुरा, दीर्घकालीन जनयुद्धको कार्यदिशा र यस अन्र्गत सर्वहारा वर्गको आफ्नै सेना र आफ्नै जनसत्ता संभव छ भन्ने पनि साबित गरिदियो । भारतमा लामो समयदेखि दीर्घकालीन जनयुद्ध चलिरहेको छ र टिकिरहेको पनि छ ।
नेपालमा पनि चिनियाँ महान् नेता माओको विचार र यही मालेमावादी कार्यदिशाबाट प्रभावित र निर्देशित भएर १० वर्षे जनयुद्ध चल्यो पनि । तर नेताहरुको गद्दारी र धोखाका कारण त्यो टिक्न सकेन । यसले नराम्रोगरी सेटब्याक खान पुग्यो । तथापि क्रान्तिकारी धार निर्मणको प्रक्रिया भने सुसंगठित रुपमा अघि बढिरहेको छ ।
एकताका अन्तर्राष्ट्रिय पनि गठन भएको र नेपाला माओवादी जनयुद्ध पनि चलिरहेका बखत यसले विश्वभर क्रान्तिको उर्जा दियो । सगरमाथाको देश र हिमालयबाट रातो सूर्य उदाउँदै छ भन्ने सन्देश पनि दियो । तर तात्कालीन नेकपा (माओवादी) भित्र रहेको मूल नेतृत्वले गद्दारीका कारणले नेपाली जनयुद्ध सफल हुन सकेन । फेरि यसलाई जगैबाट उठाउन र सफलताको शिखरमा पुर्याउन क्रान्तिकारीहरु जुर्मुराएर अघि बढिरहेका छन् ।
मे दिवसका दिन विश्वका कम्युनिष्टहरुले, क्रान्तिकारी पार्टीहरुले विश्वका मजदुरहरुलाई एकजुट हुन संयुक्त रुपमा वक्तव्यहरु दिने गरेका छन् । यसले पनि अझैं कम्युनिष्ट अन्तर्राष्ट्रियको झझल्को दिने गरको छ । विश्वका कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरु कुनै न कुनै रुपमा एक जुटहुन र अन्तर्राष्ट्रियताको खोजी गर्न लालायित देखिन्छन् ।
रिमले ठूलो आकार लिनसक्ने संभावना थियो । तर रिमको बिघटन नेपालको माओवादी आन्दोलनको विघटनसँगै हुन गयो । यसले विश्व कम्युनिष्ट आन्दालनमा ठूलो क्षति पुग्न गएको छ । तथापि क्रान्तिकारीहरु हात बाँधेर बसेका नभई फेरि आफ्नो क्रान्तिकारी प्रयासमा लागि रहेका छन् ।