नेपाल र जापानबीच श्रम संझौतामा हस्ताक्षर

प्रकाशित मिति : २०७५ चैत्र ११

काठमाडौं । नेपाल र जापानबीच सोमवार श्रम सम्झौतामा हस्ताक्षर भएको छ । जापानले पछिल्लो चरणमा नेपाली कामदारका लागि पनि रोजगारको ढोका खोलिदिएपछि नेपाली श्रमिकहरु जापान लैजानेबारे दुई देशबीच यो सम्झौतामा हस्ताक्षर भएको हो ।

यसलाई दुई देशका प्रतिनिधिबीच श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ नामाकरण गरिएको छ । ‘सहकार्यको समझदारी’ पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे र जापानको तर्फबाट नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्दाका बखत नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पनि उपस्थिति रहेको छ ।

सहकार्यको समझदारीअनुसार आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान जाने प्रक्रियालाई अघि बढाइने छ । यो प्रक्रिया अप्रिल १ देखि जापानी भाषा परीक्षाको तयारीबाट सुरु हुने बताइएको छ । सुरुको चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका कामदारलाई लगिने छ ।

यसका लागि दुईदुई महिनामा भाषा परीक्षा लिइने छ । वर्षमा ६ पटक भाषा परीक्षा लिएर उत्तीर्ण हुनेहरुलाई कम्तिमा जापानी भाषाको ‘एम फोर’ तह अनिवार्य पास गर्नुपर्ने बनाइएको छ । कामदारका लागि २४ घण्टे बीमा, आतेजाते खर्च आदिको व्यवस्था गरिएको छ ।
कामदारको करार अवधि भने तीन वर्षको रहने व्यवस्था गरिएको छ । नेपाली कामदारले जापानी कामदार सरह काम तलब सेवा सुविधा पाउने छन् ।