नेपाली पदयात्रामा विदेशी लगानी : टानको कान खुल्दै

नेपाली पदयात्रामा विदेशी लगानी : टानको कान खुल्दै

काठमाडौं । नेपालमा पदयात्राका लागि विदेशी लगानी भित्र्याउने सरकारी सोंच सार्वजनिक भएपछि पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले यसको खुलेर विरोध गरेको छ । टानका अनुसार पदयात्रा व्यवसायमा वैदेशिक लगानी कुनै पनि हालतमा मान्य नहुने मान्य नहुने बताएको छ ।

टानका अध्यक्ष नवराज दाहालले एक विज्ञप्ति जारी गरी यसकार्यको विरोध गरेका हुन् । समाचारहरुमा पदयात्रा क्षेत्र सबैमा विदेशी लगानी ह्वाह्वार्ती भित्रने भन्ने कुरा सार्वजनिक भएपछि टानको कान खुल्न थालेको छ । सार्वजनिक भएका समाचारप्रति यो संस्थाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । विदेशी लगानीकर्ताहरुलाई निम्त्याएर स्वदेशी पदयात्रा व्यवसायीलाई बिल्लीबाठ बनाउन नपाइने टानको दाबी रहेको छ ।

हालसम्म पदयात्रा व्यवसाय नेपालको आफ्नै मौलिक व्यवसाय रहिआएको छ । आजभन्दा लगभग ४ दशकअघिदेखि पदयात्रा व्यवसायमा नेपालीहरुले स्वलगानी गर्दै आएका छन् । यसले देशको आत्मनिर्भर अर्थतन्त्रको विकासमा थोरै भए पनि टेवा दिएको छ । तर नेपाली वा स्वदेशी लगानीकर्ता हटाएर अब विदेशी लगानीकर्ताको ओइरो लगाउनु आफैमा दुर्भाग्यपूर्ण रहेको छ ।

तर नेपालीहरुले आफूहरु पदयात्रा व्यवसायमा जतिसुकै सक्षम र योग्य भएको भने पनि सरकारले पदयात्रामा विदेशी लगानी चाहेर पनि अस्वीकार गर्न सक्ने छैन । नेपालको पदयात्रा उच्च महाभरतीय तथा हिमाली प्रदेशमा रहेको छ । यो चीनसँग जोडिएको क्षेत्र हो । नेपालमा पछिल्लो समयमा बढ्दो अमेरिकी उपस्थितिसँगै पदयात्रामा लगानीका नाममा विदेशीहरु नेपालको उच्च भूभागको अध्ययन र अनुसन्धानमा जुट्न थालेका छन् ।

विदेशीहरुले गर्ने यो लगानी चीनविरोधी गतिविधिहरुमा सहायक र सहयोगी सिद्धहुने उद्देश्यका साथ थालिरहेका छन् । उत्तरतिर चीन र दक्षिणतिर भारत जस्ता दुई ठूला छिमेकी देशहरुको बीचमा रहेको नेपाल र यसको भूराजनीतिक अवस्थितिमाथि तेस्रो देश र विश्वकै अति महाशक्ति अमेरिकाको सशक्त हस्तक्षेपकारी उपस्थितिले नेपाली मौलिकता, आत्मनिर्भर अर्थतन्त्र, माटो तथा संस्कृतिको जगेर्नामा निकै स्खलन आइरहेको छ । अमेरिकी दलालका रुपमा ओली सरकार तथा सत्ताधारी नेकपाको उपस्थिति नेपाल नेपालीको उन्नति र प्रगतिका लागि अफाफसिद्ध हुन थालेको छ ।

यो नकारात्मक तथा हानिकारक विदेशी लगानीलाई लिएर नेपाली पदयात्रा व्यवसायीहरुको संस्था टान स्वदेशी पदयात्रा व्यवसायी हितविपरीत विदेशी लगानी नगर्न भन्दै विरोधमा उत्रिइरहेको छ । यदि सरकारले देश र जनविरोधी काम गरी विदेशी लगानी भित्र्याएमा पदयात्रा व्यवसायमा विदेशी लगानीकर्ताको एकाधिकार हुन जाने कुरा पनि गम्भीर रुपमा उठाएको छ ।

पदयात्रा व्यवसायमा देशभरका दुई हजार ६ सय ७५ ट्रेकिङ कम्पनी दर्ता भई काम गरिरहेका छन् ।