इतिहासका गर्भमा धेरै कुराहरू बिलीन भएर गए, धेरै आफन्तहरू गए । धेरै परिचितहरू गए, अपरिचितहरू त कति गए कति ? मायामोहका कारण आफन्तहरू र परिचितहरूको सम्झना भने लामो समयसम्म बसिरहँदो रहेछ । बेला बखत ती आफन्त र परिचितहरूको सम्झना हुँदा मुटु गाँठो परेर आउँछ । नमिठो पीडाले मनलाई छुन्छ र आँखाका डिलडिलबाट आँशु पोखिन खोज्छन् ।
त्यस्ता थुप्रै आफन्त र परिचितहरूमध्ये केहीको अनुहार र हाउभाउ अहिले पनि मेरो मनको क्यानभासमा जीवन्त बनेर आउँछन् । तिनका जीवन्त चपलताले मन एकतमासको भएर आउँछ । तिनको चपलता यथार्थ हो कि आफ्नो निरीह जीवन यथार्थ छुट्याउन पनि गाह्रो हुन्छ ।
२०५२ सालको फाल्गुण १ गत ने.क.पा.(माओवादी)ले आमूल परिवर्तनका लागि आम जनसमुदायलाई आफ्नो अभियान, क्रान्तिमार्गमा अग्रसर हुन आह्वान गरेको थियो । उक्त अभियानमा दलाल, पूँजीवादीहरूको सरकारले भीषण दमन अभियान चलाएर धेरै कार्यकर्ता र समर्थकहरूलाई पक्राउ गर्योा र हत्या गर्यो । तैपनि क्रान्ति अभियानको ज्वाला निभेन, झन् देश भरि दन्किँदै अघि बढ्यो र त्यसको ताप र राप विश्वयब्यापी बन्यो ।
जतिजति जनयुद्ध व्यापक र जनसमुदायको मुटु बन्दै गयो त्यति त्यति क्रान्तिका लागि वा दासताबाट मुक्तिका लागि अग्रसर हुनेहरूको हत्या हुन थाल्यो र त्यस्ता व्यक्तिहरूमाथि दमन पनि बढ्दै जान थाल्यो । यो क्रान्ति र दमनको आगोले नछुने परिवार कोही भएन । समर्थन वा विरोधमा कुनै न कुनै तरिकाले सबै नेपाली संलग्न भए ।
मओवादी दल जनमुक्ति सेना गठन गरेर, जनमुक्ति अभियानलाई राजनीतिक र सैनिक दुवै तरिका प्रयोग गरेर अघि बढ्दै गयो भने सरकार र त्यसका पक्षधर शक्तिहरू पनि साम, दाम, दण्ड, भेद सबैखाले तरिका अपनाएर क्रान्ति अभियानलाई समाप्त गर्न अग्रसर रहे । माओवादी जनयुद्ध विश्वजब्यापी बन्दै गएको आभास हुन्थ्यो । विश्व्का ठूला शक्तिहरू विशेष गरेर अमेरिका पनि नेपालको जनयुद्धबाट तर्सेको थियो । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने उसले नेपालको निरङ्कुश तानाशाह ज्ञानेन्द्रलाई पैतालादेखि टुप्पीसम्मको बल लगाएर सहयोग गर्यो ।
माओवादीको क्रान्तितर्फको निरन्तरता र सरकारको निरन्तर दमनका बीचमा १३र१४ हजार नेपाल आमाका छोराछोरीले आफ्नो प्राणको आहुति दिनुपर्यो । निम्नवर्गीय जनताले आफूमाथि निरन्तर झुण्डिरहेको शोषण दमनको तरवार आफूमाथिबाट सधैँका लागि हटाउने प्रयास गर्न पनि कति महङ्गो पर्दो रहेछ भनेर दिखँदै थियो । साथै उच्च वर्गका मान्छेहरू आफ्नो स्वर्ग गुम्ला भन्ने डरले कतिसम्म बर्बर राक्षस बनेर युगौँदेखि चुसिएका मरन्च्याँसे निरीह जनताको रगत पिउँदा रहेछन् भनेर पनि देखियो ।
यस्तै निरन्तर सङ्घर्ष र दमनका क्रममा निरङ्कुशताका हतियारहरूले निर्ममतापूर्वक मारेका हजारौँ जनताका छोराछोरीमध्ये शारदा श्रेष्ठ पनि एक थिइन् । २०३२ सालमा चितवनको ईन्द्रपुरीमा जन्मेर फूलबारीमा हुर्केकी शारदा श्रेष्ठ उमेरले मेरी छोरी समानकी थिइन् । रामपुरका जनकलाकार खुसीराम पाख्रिनले सङ्गठित गरेको जनगीत सङ्गीत सङ्गठन ‘सामना परिवार’मा सामेल भएर विशेष जनसभाहरूमा र जनताको घर दैलोमा मिठो स्वर र नृत्यमा पुतली झैँ फुरफुर नाचेर देखा पर्ने शारदा श्रेष्ठ शोषित पीडित जनताका आँखाको नानी बनेकी थिइन् । उनको राजनीतिक र कलात्मक चेतना दुबै उच्च बन्दै गइरहेको थियो ।
उनी नाच्न र गाउँन मात्र सिपालु थिइनन्, चेतनाहीनताको अँध्यारोमा रुमलिरहेका जनताको चेतनाका आँखा खोल्न उनका सुमधुर गीत, वक्तव्य र कुराकानी पनि त्यत्तिकै प्रभावकारी हुन्थे । उनको रानीतिक व्यक्तित्व जसरी उठ्दै थियो, त्यसरी नै उनी निरङ्कुश शासक र जनताका शत्रुका आँखाको कसिङ्गर पनि बन्दै गइरहेकी थिइन् । फलस्वरूप उनी पटक पटक गिरफ्तार हुँदै हिरासत र जेलका यातना सहन गर्न बाध्य भइन् । जस्तोसुकै यातनामा पनि उनी गलिनन् । शत्रुसँग झुकिनन् ।
जेलबाट निस्केपछि पनि फेरि पार्टीको युद्ध अभियानमा लागिरहिन् । यसै क्रममा तनहुँको कार्यक्षेत्रमा खटिएका बेला निरङ्कुशताका हतियार शाही सेनाको फन्दामा परिन् । २०६१ साल असार २९ गते घृणित बलात्कार र निर्मम यातनापछि ती मानवरूपी शरीरका तर मानव मुटु नभएका हत्याराहरूले नेपाल आमाकी महान् छोरीको तनहुँको भिमादमा पाशविक हत्या गरे । उनको हत्याले सिङ्गो देश रोयो । हामी सम्पूर्ण परिचितहरूको मुटु छिया छिया भयो ।
यतिका वर्ष भयो उनको हत्या भएको पनि अहिले पनि मेरो मन मस्तिष्कमा उनको सानो शरीर, साँवलो रङ्ग, हँसिलो अनुहार अगाडि ठिङ्ग उभिरहेको हुन्छ र केही कुरा सोध्न खोजिरहेजस्तो लाग्छ– “खोई त क्रान्तिको प्राप्ति ? हामी त मारिइहाल्यौँ, बाँच्ने तपाईँहरूले मुक्ति युद्धलाई कुन टुङ्गोमा पुर्याउनु भयो ? अब जनताका सुखका दिन आए त ?” उनका यी प्रश्नहका अगाडि म लाटो भएँ, मैले केही उत्तर दिन सकिन । मसँग उनका प्रश्नाको चित्त बुझ्दो उत्तर थिएन । के उत्तर दिएर उनको चित्त बुझाउने मैले । म नतमस्तक भएँ उनका अगाडि ।
उनका प्रश्न का अगाडि मैले लाचार भएर भन्नु पर्यो– “ए महान् आत्मा ! नेपाल आमाकी महान् छोरी ! ! तिम्रो शहादतपछि पार्टीको केन्द्रीय समितिले चुनवाङ बैठक गर्यो । बैठकले निरन्तर युद्ध र आमूल परिवर्तनको दिशालाई त्यागेर जनसङ्घर्ष र शान्तिपूर्ण बाटो लियो । हिजोका शत्रुलाई आज मित्रवत् व्यवहार गर्नुपर्यो । अब वर्गसङ्घतर्षका कुरा गौण र ज्ञानेन्द्रसँगको व्यक्ति सङ्घर्ष मुख्य बन्यो । ज्ञानेन्द्रले सत्ता सङ्घर्षमा गलहत्याएका शक्तिहरू अब माओवादीका बन्दुकको आड लागेर, ज्ञानेन्द्रमाथि प्रहार गर्ने ताकमा भए ।
यसरी ब्वाँसा र मृगहरूको फ्युजन भयो । २०६२र०६३ मा यो फ्युजनले विश्वप नै छक्क पार्ने जनसङ्घर्षको थालनी गर्यो । करिब २ महिने जनसङ्घर्षलाई विश्वका साम्राज्यवादी र विस्तारवादी शक्तिहरूले पनि साथ दिए र ज्ञानेन्द्रलाई एक्लै पारे । फलस्वरूप आधारहीन ज्ञानेन्द्रले प्रत्यक्ष शासन छोड्न र विघटित संसद पुनस्र्थापना गर्न मञ्जुर गरे ।”
अब यो नयाँ शक्तिको फ्युजनको सरकार बन्यो र केही समयपछि २४० वर्षको राजतन्त्र पनि समाप्त भएको घोषणा गरे । यसरी नेपालमा रूपमा ठूलो परिवर्तन भयो, तर सारमा धेरै राजाहरूको उदय भयो । निरङ्कुश राजतन्त्र ढल्दा र गणतन्त्रको स्थापना हुँदा दुःखी नेपालीहरूको ठूलो आशा थियो– “अब सबैका सुखका दिन आउँछन्” तर त्यसपछिका दिनहरू हेर्दा दिक्दार लाग्दा स्थितिहरू एकपछि अरु आइरहेछन् । २४० वर्षे निरङ्कुश कालरात्रीमा जस्तो लुट थियो, अन्याय अत्याचार थियो । त्यसमा केही कमी आएन बरु, समग्र देशको विकास र जनताको सुखलाई भर्सेलामा परोस् भनेर, जो सत्ताको कुर्चीमा बस्यो ।
उसैले आफ्नै मात्र बन्दोबस्त सोच्यो र आफ्ना आसेपासेलाई पोस्ने काम भइरहेको छ । यतिबेला माओवादीका शीर्ष नेताहरू सत्तामा छन् र पनि देशमा हुन सक्ने र हुनु पर्ने कुराहरू केही भइरहेका छैनन् । जे हुँदैन र हुनुहुँदैनथ्यो भन्ने मानिन्थ्यो तिनै कुरा भइरहेका छन् । जनतामा ठूलो आशा थियो माओवादी आएपछि देशमा भ्रष्टाचार रोकिन्छ, कानुनको व्यवस्था बन्छ र देश विकासको थालनी हुन्छ तर विडम्बना जनताका निम्ति “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान चरितार्थ भइरहेको छ ।
सायद इतिहासको काल क्रममा जे पनि हुँदो रहेछ क्यारे । यो सम्भव र यो असम्भव भन्ने कुरा केही रहेनछ क्यारे । मार्क्सवादी चिन्तनमा अगाडि बढेको यो राजनीतिक दलमा यति ठूलो विचलन आउनुमा पनि धेरै कारणहरू तयार भई आए होलान् भन्ने लाग्छ । दलका होनहार, इमान्दार र लगनशील कार्यकर्ता प्रारम्भिक सङ्घर्षमै मारिएर सकिए । पछि दल शक्तिका रूपमा उदाएपछि अवसरवादी चमेराहरूको छद्म रूपमा प्रवेश भयो होला । तिनैका बलमा क्रान्तिलाई निरन्तर सङ्घर्ष र प्राप्तिको बाटोबाट मोडेर, संसदवादी आहालमा डुबाउने काम भयो । पछि क्रान्ति सफल हुन्छ अब संसदीय बाटोबाट गएपछि खतरा नमोलीकनै देशमा जनताले चाहेजस्तै शासन व्यवस्था र सुखका दिन ल्याउन सकिन्छ भन्दै सोझा सिधा जनताका घर दैलामा भोट माग्न गए ।
हिजो क्रान्तिमा लागेका र दुःखमा खटेका नेता नै भोट माग्न आएपछि जनताले पत्याए र चुनावमा माओवादी सबभन्दा ठूलो दल भएर उदायो । समानुपातिकको व्यवस्था नभएको भए त सरकार बनाउने बहुमतै ल्याएको हो यसले तर समानुपातिक प्रतिनिधित्व प्रणालीले गर्दा अरु सबै दल एकातिर भएका स्थितिमा माओवादी त अल्पमतमा पर्यो । यसका कारणले स्थायी सरकार बन्न सकेन, फलस्वरूप थोरै समयको साँठगाँठबाट बनेको सरकारमै जाने जनप्रतिनिधिहरूले देश र जनताको काम भन्दा दाम कमाउतिरको सोच बनाए ।
झन् हालसालै त अचम्मको कुरा भइरहेछ, अत्यन्त दुःखद कुरा भइरहेको छ । जनताको मुक्तिका निम्ति भनेर, आफ्नो व्यक्तिगत स्वार्थ र परिवार छोडेर जनमुक्ति सेनामा खट्नेहरूमध्ये कैयौँलाई अयोग्य ठहर्याएर, बीसबाईस हजार दिएर, क्यान्टोनमेन्टबाट लखटियो । पछि अरु पार्टीको दबाबमा बाँकी सबैलाई सेनामा समायोजनमा नलाने भनेर स्वेच्छिक अवकासमा जान बाध्य पारियो ।
खै शारदा ! के भनेर चित्त बुझाउने हामी बाँच्नेहरूले पनि ? आज बाँचेकै भए पनि हिजोका सपना तुहिएको टुलुटुलु हेर्न परिरहेको छ । हिजो क्रान्ति यात्राका लागि हिँडाइएको रथलाई भीरबाट लडाइएको छ । क्रान्तिको झण्डा बीचबाटोमा धुलाम्मे भएर फ्याँकिएको स्थितिमा छ । जनताका शत्रुका बाहनहरू त्यसलाई क्षत विक्षत बनाउँदै निरन्तर गुडिरहेछन् । हामी आशा गर्दैछौँ– “शहीदको रगत खेर जाँदैन” । आज क्रान्तिरथ भीरबाट फ्याँकिए पनि जनताको र शहीदको सपना पूरा भएको छैन ।
धोका पाएका आहत मनहरू फेरि फेरि पनि उठ्नुपर्छ । सुनामी बनेर उठ्नुपर्छ । साम्राज्यवाद र विस्तारवादले लादेका सम्पूर्ण विसङ्गति र विकृतिलाई बढारेर फाल्नुपर्छ । यो माटो र विश्वपमा एक दिन सधैँका लागि समतामूलक सुख र समृद्ध स्वर्ग ल्याउनुपर्छ । जुनसुकै हालतमा ल्याउनु पर्छ ।