अबदुलसलाम खानद्वारा मुस्लिम आयोग अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

अबदुलसलाम खानद्वारा मुस्लिम आयोग अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध कपिलवस्तु जिल्लाका अबदुल सलाम खानद्वारा सर्वोच्चमा रिट दायर गरिएको छ । मुस्लिम आयोगमा नियुक्त भएलगत्तै अध्यक्ष समिम मियाँ अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै खानद्वारा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

दायर रिटमा अन्सारी नागरिकता विवादमा परेकाले आयोगको अध्यक्षका लागि उपयुक्त नभएको आइतबार नै सर्वोच्चमा रिट हालेका थिए ।

त्यसो त अन्सारीविरूद्ध नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका चारवटा उजुरी संसदीय सुनुवाइ समितिमा परेका थिए । तर ती उजुरीको सुनुवाई नै नगरी उनलाई स्वतः नियुक्त गरिएको थियो ।

रिटमा ‘संसदीय सुनुवाइ समितिले बदनियत राखी जसरी पनि समिम मियाँ अन्सारीलाई नै नियुक्ति गर्न लागिपरेको देखिएकाले,’ भन्दै ‘निजको सिफारिस, नियुक्ति, सपथ ग्रहणसम्बन्धी निर्णय तथा तत्सम्बन्धी काम कारबाही समेत बदर गराउन उत्प्रेषण परमादेशलगायत आवश्यक एवं उपयुक्त आदेश जारी गरी पाऊँ’ भनिएको छ ।

अन्सारी संवैधानिक परिषद्को सिफारिसमा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गरिएका हुन् । स्मरण रहोस् उनी संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका होइनन् ।

अन्सारीको नियुक्तिका लागि न त सुनुवाइ समितिले नगरौं भन्न सक्यो न त नियुक्ति नै गरौं भन्न सकेको थियो । बरु संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनसम्म केही पनि निर्णय नगरी चूपचाप बसेको थियो ।