अब जनविद्रोहमार्फत् नयाँ जनवादी व्यवस्था ल्याउँछौं : प्रतीक

क्रान्तिकारी माओवादी झापाको सम्मेलन सम्पन्न, ५१ सदस्यीय जिल्ला कमिटि निर्माण

प्रकाशित मिति : २०७५ माघ २६

झापा । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य कमरेड प्रतीकले जनविद्रोहमार्फत् मुलुकमा नयाँ जनवादी व्यवस्था ल्याउने दावी गरेका छन् । पार्टी झापा जिल्लाको दोस्रो सम्मेलन उद्घाटन गर्दै नेता प्रतीकले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड–बाबुरामहरुको गद्दारीका कारण जनयुद्धमार्फत् संसदीय व्यवस्थालाई उखेर फाली मुलुकमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्य पूरा हुन नसकेको र जनयुद्धले धक्का खाएको चर्चा गर्दै अब जनविद्रोहमार्फत् नयाँ जनवादी व्यवस्था स्थापना गर्न सकिने बताए । क्रान्तिकारी माओवादी अहिले नयाँ जनवादी क्रान्तिको तयारीको चरणमा रहेको चर्चा गर्दै नेता प्रतीकले त्यही अभियान अन्तर्गत नयाँ ढंगको क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी जनसेना निर्माणको दिशामा अगाडि बढिरहेको समेत बताए ।

सम्मेलनलाई पार्टीका पीविएम ता १ नं. प्रदेश सचिव लालबहादुर, पार्टी केस तथा सुनसरी इन्चार्ज मनोज, केस तथा पार्टी प्रदेश प्रचार विभाग प्रमुख गणेश, धनकुटा इन्चार्ज मोहन, मोरङ सेक्रेटरी बादल लगायत नेताहरुले सम्मेलन सफलताको शुभकामाना राखेका थिए । सम्मेलनमा पार्टी केस तथा झापा इन्चार्ज रत्न, केस तथा मोरङ इन्चार्ज उदय लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

झापाको सुरुङ्गामा भएको सम्मेलनको अध्यक्षता विमलले गरेका थिए भने सञ्चालन सुमनको रहेको थियो । सम्मेलनले ५१ सदस्यीय पार्टी जिल्ला कमिटी निर्माण गरेको छ । निर्वाचित कमिटिको पहिलो बैठकबाट जिल्ला सेक्रेटरीको चयन गरिने बताइएको छ ।