काठमाडौंको गोंगबुबाट १ लाख ५१ हजार रुपैयाँ नक्कली नोट सहित एक पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुबाट ठूलो मात्रामा नक्कली नोटसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित आमेबहादुर कुँवर भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिएको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ । यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता चलाएको अपरेशनका क्रममा साढे दुई करोड रुपैयाँ नक्कली नोट बरामद भएको थियो ।