समृद्धिको मोडल भनेको कि त पुँजीपतिको हो, कि त क्रान्तिकारी कम्युनिष्टहरुको हो ; ओली सरकार जस्ता दलालहरुको विकासको मोडल संसारमै छैन

प्रकाशित मिति : २०७५ माघ २६

- सीताराम तामाङ

वर्तमान सरकारको क्रियाकलापलाई कसरी लिनु भएको छ ?

संसदीय व्यवस्था हालको दलाल नोकरशाही तथा पुँजीवादी व्यवस्था हो । यसको चरित्र अरु व्यवस्थाभन्दा फरक हुन्छ । त्यो भनेको यो व्यवस्थाभित्र हुने भ्रष्टाचार नै हो । कम्युनिष्टहरुले घोषित रुपमा यसलाई भ्रष्टाचारीहरुको व्यवस्था भन्ने गर्दछन् ।

नेपालको सन्दर्भमा त यही भ्रष्टाचारी व्यवस्थामा पनि दुईतिहाइ बहुमत लिएर आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरु नै सत्तामा पुगेका छन् । दुईतिहाई बहुमत लिएर सरकारमा पुगेपछि उनीहरुको दम्भको सीमा नै रहेको छैन ।

हुन त उनीहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दिएका छन् । तर व्यवहारमा भने कंगाल नेपाल र दुःखी नेपाली बनाउँदै लगेका छन् । हालसम्म उनीहरुले गरेका कामहरुले नेपालीहरुलाई खाडलमा हाल्ने दिशातिर लगिरहेको छ । हिजो नेपालीहरुले राष्ट्रवादको नाममा उनीहरुलाई भोट दिए । त्यतिबेला उनीहरुले राष्ट्रवादको रंग प्रयोग गरेका थिए । त्यो आज जनताका सामु छर्लङ्ग भइसकेको छ ।

नेपालको राष्ट्रियता पनि डुब्दै गइरहेको छ । कालापानीदेखि लिपुलेकसम्मको भूभाग भारतले मिचिसकेको छ । त्यही सीमा मिचिएको नक्सा प्रधानमन्त्रीलगायतका राज्यसत्ताका सबै अंगहरुमा टाँगिएको छ । यसलाई उनीहरुले राष्ट्रवादको नाम दिइरहेका छन् ।

 देशको सामाजिक अवस्थाको कसरी मूल्यांकन गर्नु हुन्छ ?

देशमा शान्तिसुरक्षा पनि छैन । हत्या, हिंसा र बलात्कारका घटनाहरु बढिरहेका छन् । सुन तस्करीका कुराहरु आइरहेका छन् । प्रहरीले सुन भेट्टाएको कुरा गर्ने तर सरकारकहाँ पुग्दा त्यो पित्तल भएको भनी सार्वजनिक गर्ने चलन बढेर गएको छ । यी सबै कुराहरुले देशलाई रसातलमा पु¥याउने काम भइरहेको छ । देश अहिलेसम्मकै सबैभन्दा गम्भीर समस्यामा फसेको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले देश सबैभन्दा कमजोर बिन्दुमा आइपुगेको छ । आर्थिक हिसाबले निकै नाजुक अवस्थामा आइपुगेको छ । राजनीतिक हिसाबले दलहरुले आफ्नो वैचारिक स्वत्व गुमाएका छन् । अहिले संसदीय व्यवस्था भनेको भ्रष्टाचारी व्यवस्था नै हो भन्ने कुरा प्रमाणित भएको छ ।

यसमाथि आफै त भ्रष्टाचारी व्यवस्था त्यसमाथि दुईतिहाइको दम्भले गर्दा सरकारले कुनै पनि सुझाव र गुनासा आलोचनालाई सम्बोधन गर्ने वा पचाउने गर्न सकिरहेको छैन । यसले देशलाई गहिरो खाडलतिर धकेलिरहेको छ । सरकार बनेको पहिलो वर्षमै यति बिकराल समस्याहरु देखिएका छन् भने अबका चार वर्षमा यी समस्याहरु संकटको उत्कर्षमा पुग्ने देखिन्छन् । यो अवस्थाबाट मुलुकले पार पाउनु निकै गाह्रो छ ।

जनताको मनोभावलाई कसरी लिनु भएको छ ?

नेपालमा र विश्वमा पनि मानिसहरु प्रायः भ्रममा बाँचेको देखिन्छ । यो भ्रम सबैभन्दा बढी राजनीतिक वृत्तबाट छरिने गरिएका पाइन्छ । राजनीति आफैमा सर्वसाधारण जनताले सम्म थाहा पाएको विचारको कुरा हो । तर त्यही विचार जो भ्रमात्मक रुमा छरिने गरिन्छ त्यसैलाई पछ्याएर जनता रुमलिने गर्छन् । जनतालाई थाहै छ, कांग्रेस र एमाले जनपक्षीय शक्तिहरु होइनन् ।

तर, कांग्रेसका विरुद्ध एमालेलाई एमालेका विरुद्ध कांग्रेसलाई किन भोट दिन्छन् ? यसको पछाडि हेर्दा जनपक्षीय शक्तिहरु अत्यन्त कमजोर हुनु र बेथिति भएको व्यवस्थाका विरुद्धमा सशक्त विकल्पका रुपमा उपस्थित हुन नसक्नु नै प्रमुख कारक बन्न गएको छ ।

संभव छ विकल्प दिन ?

जनताले गाली पनि उनीहरुलाई गर्ने र भोट पनि उनीहरुलाई नै दिने गरिरहेका छन् । त्यो जानीबुझी नेपाली जनताले विकल्प विहीन अवस्थामा दिने गरेका हुन् । त्यो विकल्प दिनका लागि स्पष्ट विचारसहित जनपक्षीय शक्तिहरु एक ठाउँमा आउन जरुरी हुन्छ । ती सबै एकै ठाउँमा उभिने एजेण्डा भनेका राष्ट्रियतासँग जनताको शासन व्यवस्थासँग र जनताका जनजीविकाका विषयहरुसँग जोडिएका कुराहरु नै हुन् ।

नेपाली जनता नेपाली हुनुमा गर्व गर्छन् र नेपाली राष्ट्रियताका लागि एकताबद्ध हुन्छन् । तथापि देश र जनताका पक्षमा काम गर्ने जनपक्षीय शक्तिहरु छरिएर निकै कमजोर अवस्थामा रहेका छन् । यही कारणले हामीले जनताको अपेक्षा पूरा गर्न सकिरहेका छैनौं ।

तथापि हाम्रो प्रयास ती शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छौं । यो नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा अघि बढिरहेको छ । एकताकै प्रयास भइरहँदा एकता असम्भव भए पनि ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाइरहेका छौं । अहिले त्यो कार्यगत एकताको रुपमा पनि अघि बढिरहेको छ । यसको एक मात्र उद्देश्य भनेको वैकल्पिक शक्ति तयार गर्नु हो । हाम्रो पार्टीले देशले चाहेको विकल्प दिन प्रयास गरिरहेको छ ।

जनतालाई भ्रममुक्त कसरी पार्ने ?

धेरै मानिसहरुलाई डबल नेकपा कम्युनिष्ट पार्टी होइन र नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी पनि होइन भन्ने थाहा छ । तर पनि धेरै जनताले उनीहरुलाई छोड्दैन । यसको कारण विकल्प नहुनु नै हो । र अर्काे कुरा एउटा भ्रम सकिएछ भने अर्काे भ्रम सिर्जना गर्ने गर्दछन् । उनीहरुसँग भ्रम पार्ने सक्ने केही कुराहरु जोडिएका पनि छन् । पहिलो कुरा उनीहरुको सशक्त विकल्प छैन । उनीहरु सत्तामा छन् । संविधान निर्माण गरेका छन् । ऐन कानुनहरु बनाएका छन् र देशका विभिन्न शक्ति र राज्यका अंगहरु उनीहरुले नै परिचालन गरिरहेका छन् ।

राष्ट्रिय रुपमा उनीहरु मूल धार बनेर बसेका छन् । र अन्तर्राष्ट्रिय रुपमा पनि उनीहरुले मान्यता पाएका छन् । यसका साथै संसदीय खेलमा उनीहरु माहिर छन् । कम्युनिष्टको मान्यताअनुसार संसदीय व्यवस्था मान्ने कुनै पनि पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन ।

धेरै मानिसहरु आ–आफ्नो फाइदा र घाटानाफाका लागि सत्तासँग नजिक हुने र सहकार्य गर्ने गरिरहेका छन् । देशको बजेट आफ्नो पक्षमा परिचालन गर्नको लागि उनीहरु मरिमेटेर लागेका छन् । यिनै कुराहरुलाई चिरेर अघि बढ्न नेकपा (क्रान्तिकारी माओवादी)ले चाहिरहेको छ ।

विचारका हिसाबले वर्तमान सत्ता र प्रतिपक्षीमा बसेका संसदीय पार्टीहरुको जतिसुकै विरोध र खण्डन गरे पनि सशक्त विकल्पसहित अघि नबढ्दासम्म यो समस्याको हल हुने देखिन्न । दस्तावेजकै हिसाबले हेर्यौं भने डबल नेकपाको दस्तावेजमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको बारेमा कतै पनि उल्लेख गरेको पाइदैन ।

यी कुराहरु गलत हुन् भन्नुका साथै उनीहरुका गलत कामहरुका बारेमा कसरी भण्डाफोर गर्न सकिन्छ ?

पहिलो कुरा त सैद्धान्तिक लडाइँ नै हो । सिद्धान्तमा प्रष्ट नहुँदासम्म कोसँग र के लिएर लडाइँ गर्ने ? राजाले कालापानी बेचेको थियो । ओलीले लिपुलेकसम्म बेचेर खाएको छ । यो कुरालाई हामीले उजागर गर्न सकिरहेका छैनौ । यसमा हाम्रो सैद्धान्तिक हतियार पूर्ण रुपमा निर्माण हुन सकिरहेको छैन ।

हाम्रो परराष्ट्र नीति कस्तो हुने भन्ने पनि प्रष्ट हुन सकिरहेको छैन । भारतले हस्तक्षेप गरिरहेको छ । अर्को हाम्रो राष्ट्रिय अर्थनीति कस्तो हुन्छ ? हामी कसरी स्वाभिमान हुन सक्छौं भन्नेमा पनि प्रस्टता आउनु जरुरी छ ।

अहिले ओलीले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपाली भनेको कमिसनको खेलमा आधारित कुरा हो । दलाल भनेको कमिसनमा बाँच्ने प्राणी हो, कमिसन पाएपछि उसले जे पनि गर्ने गर्दछ । दलालहरुलाई उचालेर वा बोकेर देशमा कसरी विकास हुन्छ र ? त्यसैले नेपालमा नेपाली जनताका लागि उपयुक्त कुरा भनेको अर्को र नयाँ विकल्पको खोजी नै हो ।

तत्कालै संघर्षका केही कामहरु अघि बढाउन संभव छ ?

यसका लागि तयारी गर्नु पर्दछ । दलाललहरुका विरुद्धमा जानु पर्छ । दलालहरुलाई उचालेर ओली सरकारले समृद्धिको कुरा गरेको छ । त्यो कम्युनिष्टको काम होइन । कम्युनिष्ट हुनु भनेको दलालका विरुद्ध लड्नु हो । स्वाधीन राष्ट्र र आत्म निर्भर अर्थतन्त्रको विकास गर्नु हो । दलालले कहीं पनि समृद्ध बनाएको छैन र समृद्धि ल्याएको छैन ।

कि त पँुजीपतिवर्गले आफ्नो सकताअनुसार विकास गरेका छन्, कि त कम्युनिष्टहरुले । कहाँ गरेका छन् दलालहरुले देशको विकास ? कमिसनले देश समृद्ध हुन्छ र ? नेपालमा हाल उद्योगपति होइन, दलालपति छन् । तिनले बनाएको सरकार पनि दलाल छ ।

किन यसो हुन्छ त ? दलाले किन भ्रम दिइरहन्छन् ?

किनकि, क्रान्तिका नाममा भ्रम छ । क्रान्ति भन्ने कुरामा भ्रम छ । यसै भ्रमलाई दलालहरुले उपयोग गर्ने गरेका छन् । क्रान्तिका नाममा ओली र दाहाल मिलेर ठूलो भ्रम छरिरहेका छन् । हामीले यी दलाल हुन् क्रान्तिकारी वा कम्युनिष्ट होइनन् भनिरहेका छौं । तर जनता भ्रममा छन् ।

दलाल विरुद्धको ठूलो अभियान जनताका माझमा लैजानु पर्छ । यसले मात्र भ्रम साफ गर्नसक्छ । यसका लागि विचार तथा कार्यक्रम दुवै जरुरी छ ।