पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा स्ववियू निर्वाचन गराउन विद्यार्थी नेताहरुको जोड

प्रकाशित मिति : २०७५ माघ २५

- प्रकाश भण्डारी


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को आयोजनमा भएको एक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी नेताहरुले स्ववियूको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गराउन जोड दिएका छन् । ‘स्ववियू निर्वाचनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी नेताहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा स्ववियू निर्वाचन गराउन जोड दिएका हुन् ।


क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अन्तरक्रियाको विषयवस्तुबारे कार्यक्रमको सुरुमै धारणा राख्दै स्ववियू निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गर्नुपर्ने धारणा राखेका थिए । त्यस पश्चात् बोल्ने अधिकांश विद्यार्थी नेताहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणालीकै पक्षमा आफ्ना धारणा राखेका थिए । केही नेताहरुले भने प्रत्यक्ष निर्वाचन प्रणाली र मिश्रित निर्वाचन प्रणालीको वकालत गरेका थिए ।


कार्यक्रममा तत्कालीन एमाले निकट अनेरास्ववियूका रश्मी आचार्य, तत्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी, विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतम, समाजवादी विद्यार्थी संगठनका अध्यष विवेक राई, राजपा विद्यार्थी संगठनका अध्यक्ष रञ्जितकुमार झा, माओवादी केन्द्र (गोपाल किराती) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियू छैठौंका अध्यक्ष विमल पोखरेल लगायतका विद्यार्थी नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।


विद्यार्थी नेताहरुले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्ने, स्ववियूलाई भ्रष्टाचार र शैक्षिक विकृतिबाट मुक्त पारिन आवश्यक रहेको कुरामा समेत जोड दिएका थिए । कार्यक्रममा आयोजक संगठनका अन्य नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।