जिब्रोको करामत

झर्रोटर्रो : कैलुब्राह

प्रकाशित मिति : २०७५ माघ २५

मनुखेको यो जिब्रो भन्ने जिनिस बडा अचम्मको हुँदो रहेछ । उल्टोलाई सुल्टो पार्छ, सुल्टोलाई उल्टो । तलको माथि र माथिको तल पार्छ । यताको उता, उताको यता बनाउन पनि जिब्रै माहिर छ । आफ्नो सोरेकअन्सार जिब्रो चल्छ । आज दुनियाँ यै जिब्राले खाएको छ । चुनाउमा यो जिब्रोको करामत निकै ‘महान्’ हुन्छ ।

प्रेमिले आफ्नी प्रेमिकालाई आकासका तारा खसालिदिने, जून टिपेर ल्याइदिने बाचा गरे जस्तै करामत देखाउँछ । चुनाउमा उठेका सरकारी जिब्राहरू र सरकारको दानापानीको स्वाद चाखिसकेका जिब्राहरूले चुनाउ जितेको भोलिपल्टै देश झिलिमिलि पार्ने भन्दै बाचा गर्छन् । भोटर रैती मनुवाहर्लाई स्वर्गै देखाइदिने कवोल गर्छन् । यो जिब्राको कमाल हो ।

अहिले नेपाल मण्डल कम्निस नाउँको जिब्रोले बेलान छोडेको साँढेलेझैँ हुक्काँ गर्दै शासन गरेको छ । थानीय सरकारदेखि छ वटा पर्देश र केन्द्र सरखारसम्ममा यै कम्निस नाउँको जिब्रोले दाइँ लगाइरहेको छ ।

केहीदिन पैला नेपाल मण्डलका पर्धानमन्तरी मिस्टर उखानप्रसाद विदेश हानिएका थिए । त्यैबेला अम्रिकाले भेनेजुएलामा नङ्ग्रा गाडेर त्यहाँको सरखारलाई चिथोर्यो । त्यसरी अम्रिकाले चिथोरेको विषयमा सरकारी कम्निसका दुईनम्बरी मुखियाको जिब्रो पटटट्ट पट्क्यो । र, प्याच्च पारेर आफ्नो महाप्रभु अम्रिकालाई तथानाम गाली गरेर लल्कारी हाल्यो ।

हिज सक्कली कम्निस हुँदाखेरीको जिब्रो जस्तै गरेर लल्कार्यो । आज आफ्नो जिब्रोले कुन ठाउँमा के चपाइराख्या छ भन्ने कुरो सबै बिर्सेर बुर्लुक्क उफ्रिहाल्यो । एकनम्बरी जिब्रो विदेश गएकोबेला आफूले हिजकै जिब्रो चलाएपनि हुन्छ भन्ने ठानेर होला जिब्रोले हिजकै भाषा बोल्यो । अनि पर्यो फसाद ।

उता अम्रिकी हात्तीसोँडे जिब्रोले नेपालको सरकारी मनुवाको जिब्रोले हाम्लाई किन नानाभाँती गाली गरेको ? जिब्रोसिब्रो थुतिदिउँ कि समालेर राख्छौ भनेर गर्जियो । त्यैबेला विदेश गएको सरकारी जिब्रो टुप्लुक्क घरभित्र आइपुग्यो ।

सरकारी कम्निस पाटीको एकनम्बरी समेत बनेको सरकारी जिब्रोले विभिन्न देशका अङ्ग्रेजी जिब्राका दूतहर्लाई बाल्वाटारको एकनम्बरी जिब्रेनिवासमा बोलाएर दुइनम्बरी जिब्राले बोलेको कुरामा दुःख मनाउ नगर्न आग्रह गर्यो । दुइनम्बरी जिब्रो सरखारको आधिकारिक जिब्रो नभएकाले त्यो जिब्राको कुरो सुन्न आवश्यक नभएको जनाऊ दियो ।

उता अम्रिकी जिब्रे प्रतिनिधिले दुइनम्बरी जिब्रो भए पनि सरकारी पाटीको हुनाले क्यै न क्यै असर त पर्छ नि त्यसरी हाम्लाई जथाभावी गाली गर्न पाइन्च ? हाम्रै दानापानी नभई नबाँच्नेले के बोलेको ? आफ्ना दुइनम्बरीलाई जिब्रो समाल्न भन, भनेर हकारे । त्यसपछि एकनम्बरी जिब्राले भने –‘आखिरमा जिब्रै त हो, कहिलेकाहीँ चिप्लिन्छ । तपाइँकै देशका हात्तीसोँडे जिब्राले पनि त चिप्लिएर हाम्रो देशलाई भारतको भन्या’थे नि त ।

हो त्यस्तै हाम्रो दुइनम्बरी जिब्राले पनि गल्ती शब्द बोलेर चिप्लिए । त्यसमा नाराज हुनु पर्ने केही कारण छैन । फेरी उनमा हिजोको धङधङी बाँकी छ । हिँज उनको खाँटी कम्निस जिब्रो भा’बेला तपाइँहर्लाई न्वारानको बल लाएर गाली गर्थे, त्यसैको बाँकीटाँकी झल्को आए होला । अब त्यस्तो हुन्न । म यहाँ भएको भए त्यसरी उनको जिब्रो सल्बलाउन मैले दिने थि’न । म नभा’को मौकामा अलिअलि तुजुक झिकिहाले छन् । म उनलाई ठिक पारिहाल्छु । तपाइँहर्ले चिन्तासिन्ता गर्नु पदैन ।’ यति भनेर अङ्ग्रेजी जिब्राहर्का दूतहर्लाई सन्ताएर पठाए ।

उता दुइनम्बरी जिब्राले पनि आफ्नो जिब्रो त्यसरी बोल्न नचाहेको तर आफूलाई फसाइएको भनेर माफी मागि हाल्यो । दुइनम्बरी जिब्रोलाई बोल्न र माफि माग्न आइतबारै लाग्दैन । उनको जिब्रो एकदम चलायमान छ । गतिशील छ दुइनम्बरी जिब्रो । मिनेट मिनेटमा बोली फेरिरहने जिब्रो हो उनको । उनको जिब्रोको कुनै ठेगान नै हुँदैन ।

कतिबेला के बोल्ने र बोलेको कुरा कतिबेरसम्म अडाउने भन्ने नै हुँदैन । भाका फेरी फेरी बोल्छ उनको जिब्रो । चमत्कारी जिब्रो हो । बेलाबेलामा छलाङ मारेर चमत्कार देखाउँछ । एक्सट्रिममा छलाङ मार्छ उनको जिब्रोले । एकैचोटी रुखको टुप्पैमा पुग्छ र उतिखेरै भूइँमा झर्छ । के बोल्दा आफूलाई सोरेक पर्छ र चर्चाको शिखरमा आउन र पद सुरक्षित हुन्छ त्यसैअन्सार जिब्रो चल्छ ।

नेपाल मण्डलमा विकास पनि जिब्रोले नै गर्छ । यहाँ काम गरेर विकास गर्नै पर्दैन । जिब्रैले स्मार्ट देश बनाउँछ । अचेल थानीयतहका सरखारी मुखियाहर्ले टोलटोलमा स्मार्टको जिब्रो चलाउँछन् । स्मार्ट शहर, स्मार्ट गाउँ, खानेपानी स्मार्ट, विजुलीबत्ती स्मार्ट, सबै कुरा स्मार्ट । स्मार्ट बनाउने कुरा गर्दा गर्दै जिब्रो नै स्मार्ट बनिसकेको छ ।

पर्धानमन्तरीबाट सुरु भएको स्मार्टको तुजुक मन्तरी, मुख्यमन्तरीहरू, मान्नेहरू हुँदै नगरपति र पालिकाधिशदेखि वडाधिशसम्मकाले स्मार्टको जिब्रो चलाउँछन् । चलाइरहेका छन् । यसरी नेपाल मण्डलमा जिब्रोको करामत निकै ताजुवको रहेको छ ।