ट्रम्प–किम वार्ता : एशियामा अमेरिकी उल्झन

ट्रम्प–किम वार्ता : एशियामा अमेरिकी उल्झन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ ऊनका बीचमा हुने भनिएको वार्ता पक्कापक्की जस्तै भएको छ । दोस्रो शिखर वैठकका रुपमा हुन गइरहेको यो वार्ता भियतनाममा हुने तय भएको बताइएको छ । पूर्व जानकारीअनुसार फेब्रुअरी महिनाको अन्त्यतिर हुने भनिएको वार्ता फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने भएको हो ।

अमेरिकी चाहनामा हुन गइरहेको यो वार्ता एशियालाई कुनै न कुनै रुपमा बल्झाइरहने तरिकामा आएको छ । विश्वमा साम्राज्यवादी अन्तरर्विरोध चर्किइरहेको र त्यसको चरम अभिव्यक्तिका रुपमा व्यक्त हुनसक्ने संभावित युद्धको आगमनलाई व्यवस्थापन गर्नका लागि यो वार्ता नाडी छामाछामको रुपमा भइरहेको छ ।

पहिलो शिखर वार्तापछि पनि उत्तरकोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीमा कमी नआएपछि उत्तर कोरिया अमेरिका विरुद्ध निकै क्रुद्ध बनेको छ । यही सिलसिलालाई छोपेर अमेरिकाले फेरि दोस्रो शिखर वार्ताको आयोजना गरेको हो । यसका पछाडीका कारणहरुमा सबैभन्दा राजनीतिक कारणहरुले काम गरिरहेका छन् ।

अमेरिकाले उत्तर कोरियाली राजनीतिक तथा आणविक मुद्दाहरुलाई चीन र रसियासँगको मामलासम्म नजिकबाट जोडेर हेर्ने गरेको छ । चीन र रसियासँगको अमूर्त र अघोषित सेतुका रुपमा अमेरिकाले उत्तरकोरियालाई प्रयोग गरिरहने योजना बनाएको छ । अमेरिकाले रुस र चीनमाथि नाकाबन्दी लगाउँदा पनि कोरियामा आफ्नो उपस्थितिका लागि यसलाई धुर्त्याइँपूर्वक प्रयोग गरिरहने छ ।

अर्कोतिर रुस–चीनले अमेरिकी चाल र योजनाहरु थाह पाउन उत्तर केरियालाई वार्तामा सहभागी हुन सुझाव र सहयोग गरिरहने देखिन्छ । ट्रम्प–किम दोस्रो शिखर वार्ताका बारेमा अमेरिकाले सोचिरहेको खबर पाउने बित्तिकै उत्तर कोरियाली नेता किमले बेइजिङको रेल भ्रमण गरिसकेका छन् ।

शायद यसको परिपक्वताका लागि त्यसपछि विकसित विश्व घटनाक्रमको मूल्यांकन गर्न फेब्रुअरी २७ भन्दा अघि उनी गुप्त वा खुल्ला रुपमा अर्को पटक चीन भ्रमणमा जाने पनि देखिएको छ ।