‘प्रचण्ड संकट’मा पुष्पकमल दाहाल

प्रकाशित मिति : २०७५ माघ २५

काठमाडौं । भेनेजुएलाको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच निकै कटुता उत्पन्न भएको छ । यो कटुता दाहालका लागि ‘म भेनेजुएलाको बारेमा पार्टीको तर्फबाट दिइएको वक्तव्यमा अडिग छु’ भन्ने र ओलीका शब्दमा ‘दाहालजी चिप्लनु भयो’ भन्नेमा सीमासम्म पुगेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीचमा सांगठनिक एकता प्रक्रिया अझैं पूरा नभएको अवस्थामा यसले यी दुवै पूर्व पार्टीहरुलाई आआफ्नो सुर र तालको अवस्थामा पुर्याएको छ ।

अध्यक्ष दाहाल भेनेजएलाको पक्षमा बहस सिर्जना गर्न लागि परेका छन् भने ओली पक्षधर यो कुरालाई उडाउन लागिपरिरहेका छन् ।
प्रधानमन्त्री ओली भने मर्यादाक्रम र विषयको ख्यालै नगरी अमेरिकी तथा युरोपीय देशका राजदूतहरुलाई भेट गर्दै माफी माग्ने र दाहाललाई भिन्न राजनीतिक र वैचारिक ट्रेन र ढर्राबाट आएको भनी ब्रिफिङ गर्ने गरिरहेका छन् ।

उनले दाहालको वक्तव्यको त्यति धेरै तुक नभएको र अनावश्यक तरंग सिर्जना गर्न खोजिएको भन्दै उडाउन थालेका छन् । ओलीले ‘भोलिपल्ट म डाबोसबाट आउँदै थिएँ, अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन’ भनी भेट भएका पश्चिमाहरुसँग भनिरहने गरेका छन् ।

ओलीको हेराइमा दाहालको भेनेजुएली वक्तव्य आफ्नो ‘गाथगादी’ विरुद्धमा भएको बुझाइ छ । उनले दाहालको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभई ‘रफटप’ भएको बताएका छन् ।

तर दाहालको बक्तव्यमा भने भेनेजुएलाको आन्तरिक मामिलामा भएको हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य भनी बताइएको छ । संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौतीका रुपमा दाहालले व्याख्या गर्दै गर्दा ओलीले भने ‘बेला न कुबेला भेनेजुएला’ भन्दै मजाकमा उडाउँदै ‘कोही एक जना साथीले निकालेको वक्तव्यमा देश/देशको सम्बन्ध अडेको हुँदैन भन्ने गरेका छन् । ओलीले अमेरिका जस्तो विशाल र सबल मुलुकले नेपालजस्तो सानो देशका मान्छेले निकालेको वक्तव्यमा चित्त दुखाउन नहुने कुरा दोहर्याइरहेका छन् ।

किन छन् दाहाल संकटमा ?

पुष्पकमल दाहाल निकै संकटमा छन् । उनी पार्टीभित्र पनि संकटमा छन् । उनी पार्टी बाहिर पनि संकटमा छन् । उनले जनयुद्ध ताकाका झुपडीका जनता, कार्यकर्ता र नेताहरुलाई छाडे । उनलाई पनि झुपडीका सबैले छाडे । केवल मुट्ठीभर नवसंभ्रान्तका नेता बन्न पुगे दाहाल । जनयुद्ध गरी काठमाडौं आए पछि दाहालले एकपटक पनि झुपडीका नाममा संबोधन गरेनन् । आखिर जनताले छाडे पछि एक्लिन पुगेका दाहाल हाडछाला जोगाउनका लागि एमालेभित्र छिरे ।

दाहाल जुन धरातल र जगबाट आएका थिए, ती सबै उनले परित्याग गरे । उनले ती सबै ‘अन्त्य’ गरिएको घोषणा गरे । त्यसमा जनताले त्यति धेरै चासो पनि दिएनन् । आफ्नो घर भत्काएर अर्काको घरमा शरण लिन पुगेका दाहाल अहिले कोलमा चिउरी पेलिए झैं पेलिएका छन् । उनका पछि लागेकाहरुले पनि दाहाललाई फेसबक वाल तथा ट्वीटरमा ओलीको ‘हनुमान’ सम्म पनि भन्ने गरेका छन् । यसले पनि उनलाई केही उत्तेजित र तरंगित हुने बनायो ।

यी त तरंगका कुरा भए । तर यथार्थ कुरा के हो भने आफू हुर्केबढेको जग नै आफैले भत्काएका, आफू बसेको घर नै जलाएका, आफ्ना अनन्य सहयोगीलाई लात हानेका, झुपडीका जनतालाई हेपेका धुन्धुकारी दाहालको अर्काको घर, आँगन र चिनो चौपारीमा रजाइँ गरेर बसुँला नै भन्ने मूर्खतापूर्ण सोच केवल दिवासपना मात्र हुन सक्ने कुरालाई नजर अन्दाज गर्न मिल्दैन ।