सदरमुकाम विवादले तनावग्रस्त बन्यो रुकुम, हेलिकप्टरबाट थप सुरक्षाकर्मी लगियो

सदरमुकाम विवादले तनावग्रस्त बन्यो रुकुम, हेलिकप्टरबाट थप सुरक्षाकर्मी लगियो

रुकुम । सदरमुकामको विषयलाई लिएर भईरहेको आन्दोलनले उग्ररुप लिएपछि रुकुम पूर्वमा तनाव उत्पन्न भएको छ । अहिले भईरहेको अस्थायी सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा विवाद हुँदा तनाव उत्पन्न भएको हो ।

अब जिल्लाको स्थायी सदरमुकाम रुकुमकोटमा कि पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडा भन्ने विषयमा विवाद भइरहेको छ । दुबै क्षेत्रका स्थानीयले आ–आफ्नो ठाउँमा सदरमुकाम दावी गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते रुकुम पूर्वको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडालाई बनाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि गोल्खाडावासीले बुधबार (आज) जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

गोल्खाडाबासीलाई ज्ञापनपत्र बुझाउन जानबाट रोक्ने तयारी रुकुमकोट बासीहरुले गरेपछि जिल्लामा सुरक्षाको व्यवस्था कडा पारिएको छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुवै पक्षले भिडन्तको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मी ल्याइएको बताए ।

जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षको सम्भावित भिडन्त रोक्न सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।