काठमाडौं । अखिल नेपाल आदिवासी जनजाति महासंघ नेपालको सचिवालयको वैठक  बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बुधवार सम्पन्न भएको छ । महासंघले वैठकबाट आगामी संघर्षका कार्यक्रमहरुका साथै आन्तरिक सांगठनिक काम कारबाहीबारे महत्वपूर्ण निर्णयहरु लिइएको बताएको छ ।

हार्दिक शुभकामना !

महासंघका सचिवालय सदस्य रामजी चौधरीका अनुसार महासंघले अहिलेसम्म गरेका कामहरुको आवधिक समीक्षा गरेको छ । समीक्षामा महासंघका अघिल्ला निर्णयहरुको कार्यान्वयन सन्तोषजनक रहेको ठहर गरिएको छ । यसका साथै जिम्मेवार नेता र नेतृत्वहरुमा क्रियाशीलता आएको र जनताका बीचमा सापेक्षतामा जनसम्बन्धहरु बढ्दै गइरहेको, संगठन विस्तार भइरहेको र जनस्तरबाटै संघर्षका केही कार्यक्रमहरुको माग पनि भइआएकाले यसको एकमुष्ठ सम्बोधनका लागि महासंघको सचिवालय वैठकले जातीय पहिचानसहितको प्रदेशहरुको नामाकरणका लागि संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

नेपालमा वर्गसंघर्षका क्रममा भएका युद्ध र आन्दोलनहरुमा गरिएका त्याग, तपस्या र बलिदानका बाबजुद पनि जनताले आफ्नो पहिचान र अपनत्व महसुस गर्न पाएका छैनन् । राज्यसत्ता सारमा उही पुरानै संसदीय नै रहेको छ । तर बाहिरी ढाँचाकाँचामा संघीयताको स्वरुप दिन खोजिए पनि ती संरचनाहरुको नामाकरण समेत् जनताको आफ्नो जातीय पहिचानका आधारमा हुनसकेका छैनन् ।

महासंघले जातीय पहिचानका आधारमा प्रदेशहरुको नामाकरण गराउन संघर्षको थालनी गर्दा सकभर संयुक्त आन्दोलनका लागि संभावनाहरुको खोजी गर्ने पनि बताएको छ । यसमा नेपालमा रहेका जातीय तथा भाषिक र क्षेत्रीय विविधतालाई समेट्ने प्रयत्न गरिने पनि बताइएको छ ।

वैठकमा संगठनको राष्ट्रिय सम्मेनको तिथिमिति पनि तय गरिएको छ । तय गरिएको मिति अनुसार महासंघको राष्ट्रिय सम्मेलन बैसाखको २२,२३ र २४ गते हुने भएको छ । वैठक महासंघका केन्द्रीय अध्यक्ष कमल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर