अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने

प्रकाशित मिति : २०७५ माघ १०

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महासंघको बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

महासंघका अध्यक्ष कमल चौधरीको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य राजवीरको विशेष उपस्थितिमा सम्पन्न बैठकले फाल्गुन २२ गते चितवनमा महासंघको केन्द्रीय समितिको बैठक बस्ने पनि निर्णय गरेको छ ।

बैठकले संगठनको केन्द्रीय सदस्यबाट निमा लामा र सुभचन्द्र राईलाई हटाएको छ भने शिव श्रेष्ठ, भरत बुर्जामगर र प्रेम तामाङलाई केन्द्रीय सदस्यमा चयन गरेको छ । बैठकले सम्मेलनका लागि प्रतिवेदन लेखनमा पवनमान श्रेष्ठ र विधान लेखनमा नगेन्द्र राईलाई जिम्मा दिएको छ ।

बैठकमा उपस्थिति सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको संक्षिप्त रिपोर्टिङ राखेका थिए भने पार्टी स्थायी समिति सदस्य राजवीरले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।